वृत्तिमार्ग निर्देशन तथा रोजगार मेलामा २ हजार ८ सयको आवेदन

चितवन । चितवनमा बुधवारदेखि सुरु भएको वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला प्रभावकारी भएको पाइएको  छ । 

भरतपुरस्थित चितवन उद्योग परिसरको प्रदर्शनी केन्द्रमा दुई दिनसम्म चलेको मेलामा रोजगारी लिन आउनेको उल्लेख्य सहभागिता रहेको पाइएको हो  ।

बुधवार र बिहीबारको दिन चलेको मेलामा  २ हजार ८ सय १३ जनाले रोजगारीको लागि आवेदन दिएको आयोजक संस्था भरतपुर महानगरपालिकाले जनाएको छ ।  

यो दुई दिनको अवधिमा ५० जनाको रोजगार चाहने व्यक्ति र दिनेबीच सहमति भएको छ । आवेदकबाट नै न्यूनतम दुई सय व्यक्तिले रोजगार पाउने बताइएको थियो ।

आवेदन दिएका मध्ये सबैभन्दा धेरै पर्यटनमूलक क्षेत्रमा काम गर्न चाहनेहरू रहेका भरतपुर महानगरपालिका शैक्षिक महाशाखा प्रमुख महेन्द्र पौडेलले जानकारी दिनुभयो  ।

मेलामा सङ्कलन गरिएको तथ्याङ्कको अभिलेख अनलाइनमा राखिने छ । यसका लागि एप्स निर्माण भइरहेको शैक्षिक महाशाखा प्रमुख पौडेलले बताउनुभयो  । यो एप्समा अब अनलाइन रोजगारी लिने र दिनेका लागि खुला गरिने छ । 

भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको श्रम बजार एउटै भएकाले दुई स्थानीय तहले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हुन् । मेलामा चितवनका शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग लगायतका क्षेत्रबाट सहभागिता रहेको थियो । 

यसअघि नेपालका कुनै पनि स्थानीय तहले रोजगार मेला गरेका थिएनन् । यो पहिलो प्रयास गरिएको हो । मेलामा करिब ११ हजार जनाले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । 

मेलामा उद्योग वाणिज्य सङ्घ चितवन, चितवन उद्योग सङ्घ, चितवन चेम्बर अफ कमर्स लगायतका व्यावसायिक छाता सङ्गठनहरूले सहकार्य गरेका छन्  । त्यस्तै होटेल व्यवसायी महासङ्घ नेपाल, क्षेत्रीय होटेल सङ्घ, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन सौराहा र नेपाल पोल्ट्री महासङ्घले पनि मेलामा सहकार्य गर्ने बताइएको छ । 

यसैगरी नेपाल सरकार तथा स्वीस सरकारबीच भएको सम्झौतामा आधारित दिगो रोजगारीका लागि सीप परियोजना र हेल्भेटास नेपालले प्राविधिक सहयोग रहेको थियो   ।

https://ujyaalonepalnews.com/archives/22615

Previous articleवर्षासँगैको हावाहुरीले चार करोडको मकैबाली क्षति
Next articleगृहको यस्तो छ सफा, सुरक्षित र सभ्य यातायात क्षेत्र निर्माण गर्ने योजना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।