Home Uncategorized भारतीय तरकारी सहजरुपमा नेपाल भित्रिएपछि नेपाली कृषक मारमा

भारतीय तरकारी सहजरुपमा नेपाल भित्रिएपछि नेपाली कृषक मारमा

भैरहवा। खुला सीमानाकाले सस्तो भारतीय उत्पादनका तरकारी सहजरुपमा नेपाल भित्रिएपछि नेपाली किसान मारमा परेका छन् । सम्भावना देखेर कृषि पेसामा लागेका किसान भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेपछि समस्यामा परेको बताउँछन् । बैङ्किङ लगानीमा कृषि पेसा अङ्गालेका कृषकले उत्पादन गरेको तरकारीलाई आयातीत उत्पादनले विस्थापित गरेको किसानको पीडा छ ।

सरकारी तहबाट सहयोग नहुनु र बजारीकरणमा समस्याले बाहिरबाट आएका उत्पादनले आफूहरूको तरकारी उत्पादनलाई विस्थापित गरेको गैडहवा गाउँपालिका–७ का किसान विजयसिंह केवट बताउनुहुन्छ । आर्थिक वर्ष २०७८÷०७९ को जेठ मसान्तसम्ममा जिल्लाको भैरहवा भन्सार नाकाबाट १० हजार ५६९ मेट्रिक टन हरियो तरकारी नेपाली बजारमा भित्रिएको देखिन्छ । यसको अलावा खुला सीमाको फाइदा उठाउँदै मोटरसाइकल र साइकलमा तरकारी दैनिक नेपाल भित्रिने गरेको छ ।

भारतमा कृषि उत्पादनमा सरकारले बीउ, मल, प्रविधि, विद्युत्लगायतमा सहयोग पु¥याउँदा कृषि उत्पादन लागत नेपालभन्दा निकै सस्तो हुने गर्दछ । नेपालमा मल, बीउ, प्राविधिक सहयोग, बजारीकरणको अभाव हुँदा बाहिरबाट आउने उत्पादनसँग प्रतिस्पर्धा गर्न समस्या परेको जिल्लाको तिलोत्तमा नगरपालिका–१४ का किसान पन्नेलाल केवट गुनासो गर्नुहुन्छ । नेपालमा तरकारी बजारमा विचौलियाको समेत बढी प्रभाव हुने गरेको छ । यसले नेपाली किसान विस्थापित हुने गरेको सिद्धार्थनगर नगरपालिका–१२ का किसान राधेश्याम लोध बताउनुहुन्छ ।

सङ्घ र प्रदेश हुँदै स्थानीय सरकारले नेपाली किसानलाई कृषि उत्पादनमा सहयोग र उत्पादन भएको वस्तु बजारीकरणमा व्यवस्थापन गर्नुपर्ने रुपन्देही कृषि उद्यमी बताउँछन् । सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खाँले नगर क्षेत्रमा तरकारी खेती उत्पादन गर्ने किसानका लागि अब विशेष प्याकेज ल्याउने भन्दै भारतीय तरकारीको विकल्प खोज्ने बताउनुभएको छ ।

https://ujyaalonepalnews.com/archives/22661

Previous articleचौँरीदेउरालीका कृषकलाई ट्र्याक्टर र थ्रेसर वितरण
Next article‘ब्लुप्रिन्ट ट्रेडिङले सेनेटरी प्याड आयत गर्दैन’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।