Home Uncategorized मङ्सिरभित्र सङ्घ र प्रदेशको निर्वाचन हुन्छ : अध्यक्ष नेपाल

मङ्सिरभित्र सङ्घ र प्रदेशको निर्वाचन हुन्छ : अध्यक्ष नेपाल

बुटवल- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी मङ्सिर महिनाभित्रै प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुने बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठन नेपाल रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले सो कुरा बताउनुभयो ।

प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मङ्सिरभन्दा पर नजाने भएकाले आफ्नो पार्टीले निर्वाचन केन्द्रित गतिविधि सुरु गरेको बताउनुभयो । पाँचदलीय गठबन्धन समयको आवश्यकता र माग हो भन्दै अहिले पनि गठबन्धनको औचित्य र आवश्यकता रहेको उहाँले बताउनुभयो ।

आगामी दिनमा गठबन्धनलाई अझै बलियो बनाउँदै लोकतन्त्र, गणतन्त्रलाई अझै संस्थागत र बलियो बनाउने दिशामा काम गर्नुपर्ने उहाँको भनाइ छ । समाजवादीबाट मन्त्री भएका नेतालाई लक्षित गर्दै अध्यक्ष नेपालले जनताको हित, जनताको दुःखसुखमा जनताकै साथमा रहेर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभयो ।

नेकपा (एकीकृत समाजवादी)बाट जनताले धेरै आशा र अपेक्षा गरेका छन् भन्दै अध्यक्ष नेपालले भन्नुभयो– “हाम्रा मन्त्रीहरुले राम्रो गर्नुपर्छ, जनताको बीचमा रहेर उनीहरुको सेवा गर्नुपर्छ । हाम्रा मन्त्रीहरुको शिर झुक्नुहुँदैन ।” लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि वामपन्थी र लोकतान्त्रिक शक्तिहरु सबैसँग हातेमालो गरेर अघि बढ्न चाहेको उहाँले बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/22665

Previous articleनेपाल प्रहरीका ३२ एसपीलाई एसएसपी पदमा बढुवा सिफारिस
Next articleनिर्वाचनमा हुने विकृति अन्त्यका लागि अभियान सञ्चालन गर्न सभामुखको आग्रह
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।