आयात गर्नुभन्दा उद्योग स्थापना गर्न आग्रह

दमौली। तनहुँका विभिन्न पालिकाका प्रमुखहरुले सरकारी र निजी क्षेत्रको सहकार्यबाट विकास सम्भव रहेको बताउनुभएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घले शनिबार दमौलीमा आयोजना गरेको स्थानीय सरकारसँग निजी क्षेत्रको सम्भावना र सहकार्य सम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँहरूले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडी बढ्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले निजी क्षेत्रको विकासको एउटा खम्बा भएकाले स्थानीय तहले निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्नुपर्ने बताउनुभयो । व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले निजी क्षेत्रसँग सहकार्य गरी व्यासका पर्यटकीय स्थलको प्रबद्र्धन र विकासमा काम गर्न इच्छुक रहेको बताउनुभयो ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले निजी क्षेत्रसँग सहकार्य गरी गाउँपालिकाका पर्यटकीय स्थलको विकास गर्न तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो“ वस्तु आयात गरी विक्री गर्नुभन्दा उद्योग स्थापना गर्नेतर्फ ध्यान दिनुपर्छ । ”

ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले उद्योग वाणिज्य सङ्घले ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर उद्योग सञ्चालन गर्नेतर्फ ध्यान दिन आग्रह गर्दै यसका लागि सहकार्य गर्न आफूहरू तयार रहेको बताउनुभयो ।

भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी, घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले निजी क्षेत्र र स्थानीय सरकारको सहकार्यबाट विकास सम्भव रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मी, केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, महिला उद्यमी सभापति शकुन्तला आले लगायतले निजी क्षेत्र र स्थानीय तहबीच सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

सो अवसरमा जिल्ला समन्वय समिति, विभिन्न पालिकाका प्रमुख, उपप्रमुखहरुलाई सम्मान गरिएको थियो ।

क्यान्सर पीडितलाई एक लाख २५ हजार सहयोग

क्यान्सर पीडित व्यवसायी वरुण भट्टराईको उपचारका लागि उद्योग वाणिज्य सङ्घले आर्थिक सहयोग गरेको छ । सङ्घ विमलनगर एकाइमा आबद्ध भट्टराईको उपचारमा सहयोग पु¥याउन सहयोग गरिएको हो ।

उक्त रकम सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले शनिबार एकाइ सभापति मार्फत् हस्तान्तरण गर्नुभयो । क्यान्सर पीडित भट्टराईको काठमाडौँमा उपचार भइरहेको छ । व्यवसायीलाई दुख परेका बेला केही राहत होस् भन्नका लागि सहयोग गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

सङ्घले स्थापना गरेको भलाई कोष मार्फत् उक्त रकम सहयोग गरिएको हो । सो कोष मार्फत् सङ्घले बिरामी भएका व्यवसायी र मृत्यु भएका व्यवसायीका परिवारलाई सहयोग गर्दै आएको छ ।

https://ujyaalonepalnews.com/archives/22683

Previous articleश्रीलंकामा सरकार विरोधी प्रदर्शन उत्कर्षमा, राष्ट्रपतिद्वारा राजीनामाको घोषणा
Next articleआरुघाटमा उपभाेक्ता जागरण अभियान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।