गण्डकी प्रदेशसभाको २ वर्ष पूरा

Click Image

पोखरा । गण्डकी प्रदेश सभा सुरु भएको बुधबार ठिक २ वर्ष पुगेको छ । अघिल्लो वर्ष तुलनामा यस वर्ष कम कानून निर्माण तथा पदाधिकारीलाई गाडी सुविधा दिँदै बित्यो ।

संसद्को महत्वपूर्ण काम कानून निर्माण हो । तर, प्रदेशसभा सुरु भएको पहिलो वर्ष १९ कानून बनेकोमा दोस्रो वर्ष १२ मात्र कानून बन्न सके । दुईवर्षे अवधिमा कुुल ३१ विधेयक पारित भएकोमा ५ वटा विधेयक विधायन समितिमा विचाराधीन छन् । २०७४ माघ २२ मा गण्डकी प्रदेश सभाको पहिलो बैठक बसेको थियो । गण्डकी प्रदेशसभाले प्रदेश राजधानी ‘पोखरा’ र प्रदेश नाम ‘गण्डकी’ जुराउन सके पनि अन्य गतिविधि सुस्त रहेको टीकाटिप्पणी हुन थालेको छ ।
सभामुखदेखि विपक्षी दलको नेतासमेतलाई गाडी सुविधा छ । सांसदले सुनजडित लोगो लगाएका छन् । विभिन्न समितिका सभापतिहरु, प्रमुख सचेतकलाई संसदीय दलको कार्यकक्ष पनि बन्दैछन् । तर संसद्ले विजनेस नपाउँदा पटक पटक सूचना टाँस गरेर संसद् स्थगित गर्ने गरिएको छ ।

विपक्षी दल समाजवादी पार्टीका संसदीय दलका नेता हरिशरण आचार्यले संसद्का कामकारबाहीप्रति १० मा मात्र ३ दिन्छन् । उनले सुरुवातमा जसरी आर्थिक विकास र समृद्धिको नारा अघि सारिएको थियो, त्यो हालसम्म नारामै सीमित भएको टिप्पणी गरे । उनले भने, ‘अबको बाँकी समयमा विज्ञ तथा प्राविधिक झिकाएर भए पनि कानून बनाउनतर्फ लाग्नुपर्छ । संसद्लाई विजनेस दिनुपर्छ । जति व्यवस्थापिका चलायमान भयो, त्यत्ति सरकारको कामकारबाही अघि बढ्छ । व्यवस्थापिका निस्क्रिय भएमा लोकतन्त्र पनि स्खलित हुँदै जान्छ, र जनताले पहिलेकै व्यवस्था ठिक रहेछ भन्न बाध्य हुुनुपर्ने अवस्था आउन सक्छ ।’

गण्डकीमा अन्य प्रदेशमाजस्तो सिक्दै र अगाडि बढ्ने अवस्था देखिएको छ । राजनीतिक एवं प्रशासनिक क्षेत्रका व्यक्तिले संघीयतालाई यहाँ पनि नयाँ अभ्यासको रुपमा लिएका छन् । भारत, अमेरिका लगायत देशमा संघीयताको लामो अभ्यास गरेका मुलुकभन्दा नेपालमा वर्षौदेखि केन्द्रिकृत शासन व्यवस्थापछि एक्कासी संघीयताको अभ्यासले उनीहरु सोही परिवेशमा ढाल्दै जाने र सिक्दै जाने अवस्थामा रहेको बताउँछन् । उनीहरुमा ज्ञान र अनुभवको कमी देखिन्छ ।
गत वर्ष तुलनामा यसपालि कानून निर्माण किन सुस्त भयो भननेबारे प्रदेशसभा सभामुख नेत्रनाथ अधिकारीले कानून सरकार र जनताको आवश्यकता हेरेर बन्ने भएकोले कम र धेरै भन्न नमिल्ने बताउँछन् । प्रदेशको एकल अधिकारका विभिन्न कानून बनिसकेको उनको दाबी छ । विवादित सांसदलाई शपथ खुवाउने विषयमा अघि सरेका सभामुख अधिकारीले सांसदले संसदमा प्रस्तुत गर्ने विषयवस्तु के कस्ता छन् भन्नेबारे पनि ख्याल गर्नुपर्ने जानकारको भनाइ छ ।

संयुक्त अधिकार सूचीका विषयमा कतिपय कानून संघले नबनाउँदा त्यसको असर गण्डकीमा पनि परेको सांसदहरु बताउँछन् । एकल अधिकारका कानून प्रदेश संसद्ले बनाए पनि संयुक्त अधिकारका विषयमा संघले कानून नबनाउँदा यहाँ असर परेको प्रदेशसभा सचिवालयका निमित्त सचिव राजेन्द्र न्यौपानेले बताए । उनको अनुभवमा यहाँ जग्गा प्राप्तिसम्बन्धी चुनौती देखिएको छ । प्रदेशलाई भोगाधिकार नदिइसकेको वा लिजको व्यवस्था नटुंगिएको हुँदा भवन निर्माण कार्य बाँकी नै रहेको उनले जनाए ।

गण्डकी प्रदेशमा हाल चार दलका ६० जना सांसदको प्रतिनिधित्व छ । जसमा नेकपाको ४०, काँग्रेस १५, समाजवादी ३ र राष्ट्रिय जनमोर्चाको सांसद २ छन् ।

The post गण्डकी प्रदेशसभाको २ वर्ष पूरा appeared first on Rajdhani Daily News.

गाउँमा डोडर पस्यो, युवाहरु काम खाेज्न भारत छिरे

Previous articleकाश्मिरमा जनमतसङ्ग्रह गराउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान
Next articleप्रदेशमा जैविक अनुसन्धान केन्द्र खोल्न प्रदेश सरकार तयार : मुख्यमन्त्री राई
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।