रत्ननगरकि चेलीको भरतपुरमा हत्या

भरतपुर, ९ साउन- भरतपुरमा एक पुरुषले श्रीमतीको हत्या गरी भाग्ने क्रममा आफ्नो पनि मृत्यु भएको छ ।

भरतपुर–१०, रमाइलोचोकस्थित आफ्नै निवासमा ३५ वर्षीया श्रीमती रुस्मालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेर तीन तलाबाट हाम फालेका ४३ वर्षीय कृष्णप्रसाद आचार्यको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

लामो समय विदेश बसेर हालै फर्किएका कृष्णले घरायसी विवादका कारण श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

शनिबार राति करिब १०ः२५ बजेतिर खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएपछि रुष्मालाई उपचारका लागि कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुर लगिएको थियो । उनलाई अस्पतालले राति १०ः४० बजेतिर मृत घोषणा गरेको थियो ।

खुकुरी प्रहार लगत्तै तेस्रो तलाबाट हाम फालेका कृष्णलाई भने चितवन मेडिकल कलेज लगिएको थियो । बरण्डाबाट सडकतिर हाम फालेका उनको सडकपेटीमा बजारिएर टाउकोमा गम्भीर चोट लागेको थियो । गम्भीर घाइते कृष्णलाई पनि अस्पतालले राति करिब ११ बजेतिर मृत घोषणा गरेको थियो ।

रुष्मा राष्ट्रिय मावि तोरीखेतमा शिक्षण गर्थिन् । श्रीमान् भने कतार बस्थे । करिब १ महिनाअघि मात्रै घर आएका उनको श्रीमतीसँग विवाद परेको थियो । विवाद चर्किंदै जाँदा उनीहरू सम्बन्ध विच्छेदको प्रक्रियामा समेत रहेको आफन्त बताउँछन् । उनीहरूका १२ वर्षीया छोरी छन् । शनिबार घटना हुँदा घरमा छोरी मात्रै थिइन् । रुष्माको माईत रत्ननगरको पिठुवामा पर्छ।

प्रहरीले श्रीमतीको हत्यापछि भाग्ने क्रममा खसेको हो कि आत्महत्याका लागि हामफालेको भन्ने खुल्न नसकेको बताएको छ । दुबैको शव भरतपुर अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए ।

https://ujyaalonepalnews.com/archives/23423

Previous articleचितवन: विदेशबाट फर्किएको केही दिनमै गरे श्रीमानले श्रीमतीको हत्या
Next articleजायजेथा भाग लगाएर सम्बन्धविच्छेद गर्ने प्रक्रियामा थिए आचार्य दम्पती
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।