Home Uncategorized बोल्न-सुन्न नसक्ने महिलालाई करणी गरी हत्या

बोल्न-सुन्न नसक्ने महिलालाई करणी गरी हत्या

लमजुङ, साउन १३ गते । लमजुङमा बोल्न र सुन्न नसक्ने एक महिलाको हत्या भएको खुलेको छ । सुन्दरबजार नगरपालिका वडा नं. १ कुन्छा की २८ बर्षीया लिला अछामीको हत्या भएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती महिला साउन १० गते मंगलबार साँझको समयदेखि हराई बेपत्ता भएको र उनको मोबाइल समेत स्विच अफ रहेको भन्दै बाबु डम्मरबहादुर सार्कीले प्रहरीमा खोजतलासका लागि उजुरी दिएका थिए ।

प्रहरीले महिलाको खोजतलास गर्दै जाने क्रममा साउन १२ गते बिहीबार दिउँसोको समयमा सुन्दरबजार नगरपालिका वडा नं. १ कुन्छा खड्केपानी सामुदायिक बनको भीर खोचमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

लीला अछामीको घटना सम्बन्धमा अनुसन्धान गर्दा सोही ठाउँ बस्ने २४ वर्षीय राम सुनार र लिला अछामी विगत केही महिनादेखि प्रेम सम्बन्ध रहेको खुलेको छ ।

साउन १० गते मंगलबार साँझको समयमा सुन्दरबजार नगरपालिका वडा नं. १ कुन्छा खड्केपानीस्थित सामुदायिक वनमा आफ्नो प्रेमिका लिला अछामीलाई भेट्न बोलाई शारीरिक सम्बन्ध राख्दा लिलाले आफूलाई विवाह गर्नुपर्छ भनेकी थिइन ।

विवाह नगरेमा आफूहरुको सम्बन्ध स्थानीय मानिसलाई भनिदिने भनेकी थिइन । राम सुनार आफू विवाहित भएको कारण मृतक र आफूबिचको सम्बन्धको बारेमा स्थानीय समाजमा समेत होहल्ला हुने मुख्य कारणले हत्या गरेको बताएको प्रहरीले जनाएको छ ।

आफ्नो प्रेमिका बोल्न र सुन्न नसक्ने फरक क्षमता भएको र उनलाई सोही जंगलमा घाँटी च्यापी लडाई तल भीरको खोचमा पल्टाई ढुङ्गाले टाउँकोमा प्रहार गरी बीभत्स तरिकाले हत्या गरेको पाइएको जानकारी जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए ।

उनका अनुसार हत्या पश्चात मृतकको मोबाइल तथा गर गहनाहरु निकाली घरमा लगी लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ । शवको जिल्ला अस्पताल लमजुङमा पोष्टमार्टमपश्चात दाहसंस्कारको लागि आफन्तले जिम्मा लिएका छन् ।

उक्त घटनामा संलग्न अभियुक्त राम सुनारलाई साउन १२ गते बिहीबार पक्राउ गरेको छ । लमजुङ जिल्ला अदालतबाट साउन १३ गते शुक्रबार म्याद थप अनुमति लिई ज्यानसम्बन्धी कसुर (कर्तब्य ज्यान) र करणीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले बताए ।

https://ujyaalonepalnews.com/archives/23477

Previous articleजापान उड्नै लागेकी सपनाको हातमा यसरी लाग्यो हत्कडी …
Next articleतत्काल समाजवादी केन्द्र बन्दैन, निर्वाचनसम्म गठबन्धन कायम रहन्छ: प्रचण्ड
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।