जनजागृतीमा एसईई उतिर्ण विद्यार्थीहरुलाई बधाई तथा शैक्षिक परामर्श कार्यक्रम

निराजन घिमिरे, साउन १५- रत्ननगर १४ पिठुवामा रहेको जनजागृती माध्यमिक विद्यालयले एसईई उतिर्ण विद्यार्थीहरुलाई बधाई, शुभकामना तथा परामर्श कार्यक्रम सम्पन्न गरेको छ । आइतबार विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा यस वर्ष विद्यालय बाट एसईई उतिर्ण २०३ जना विद्यार्थीहरुलाई बधाई तथा उच्च शिक्षा सम्बन्धी परामर्श कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा स्थानिय जनप्रतिनिधि,  पुर्व विद्यार्थी तथा पुँजी बजार विश्लेषक हरि ढकाल, वडा नं. १४ का पुर्व वडाध्यक्ष हरिकुमार श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।  कार्यक्रममा उत्कृष्ट २ जना छात्र -छात्राहरुलाई विद्यालयको तर्फबाट नगद सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा शुभकामना तथा स्वागत मन्तव्य राख्दै विद्यालयका सहायक प्रधानाध्यापक रामहरी भण्डारीले कोरोना भाईरसका कारण विश्वमै आएको विषम परिस्थिको बाबजुत शिक्षक तथा विद्यार्थीहरुको कडा मेहेनतका कारण विद्यालयले राम्रो नतिजा निकाल्न सफल भएको बताए । यधपी अहिले आएको नतिजाबाट विद्यालय परिवार अझै पूर्ण सन्तुष्ट हुन नसकेको उनको भनाई छ । विद्यालयमा यो पटक परिक्षा दिएका २०३ विद्यार्थी मध्ये ६ जनाले ३.६ जिपिए भन्दा माथि र २० जनाले ३.२ देखि ३.६ सम्म जिपिए प्राप्त गरेका छन् ।

यसैगरी कार्यक्रममा शुभकामना मन्तव्य राख्दै विद्यालयका पुर्व विद्यार्थी तथा पुँजी बजार विश्लेषक हरि ढकालले परिक्षा एउटा नियमित प्रक्रिया मात्र भएको र कम वा बढी अंक ल्याउँदैमा निरास वा उत्साही हुन नपर्ने बताए । कम अंक ल्याएका विद्यार्थीहरुले पनि जीवनमा निकै उच्च स्थान हासिल गरेको उल्लेख गर्दै ढकालले अबका दिनहरुमा अझ धेरै मेहनत गर्न विद्यार्थीहरुलाई सुझाए । उनले उत्कृष्ट ६ जना विद्यार्थीहरुलाई नगद सहित सम्मान समेत गरेका छन् ।

कार्यक्रममा अर्का अतिथि वडा नं. १४ का पुर्व वडाध्यक्ष हरिकुमार श्रेष्ठले ‘शिक्षा बिना जीवन अन्धकार’ हुने भन्दै विद्यार्थीहरुले अनुशासित तथा लगनशील भएर मेहनत गर्नुपर्ने बताए । अहिले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्न बन्चित हुन पर्ने अवस्था नरहेको भन्दै उनले स्थानिय सरकार तथा विद्यालय कै तर्फबाट पनि छात्रवृतिको व्यवस्था रहेको उल्लेख गरे । छुट्टै प्रसंगमा उनले गुणस्तरको आधारमा हेर्दा यो विद्यालय पूर्वी चितवनकै उत्कृष्ट विद्यालय भएतापनि सोर्सफोर्सको आधारमा नेपाल मा.वि लाई नमुना विद्यालय घोषणा गरिएको आरोप लगाए । कार्यक्रममा विद्यार्थीहरु सृजन न्यौपाने, प्रविण देवकोटा लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमका सभापती तथा विद्यालयका प्रधानाध्यापक विनोद अधिकारीले यो ब्याजका विद्यार्थीले कक्षा ९ र १० दुवैमा १००/१०० दिन पनि पुरा कक्षा लिन नपाएको बताए । उच्च शिक्षा अध्ययन गर्नको लागी विद्यालय छोडेर अन्यत्र जानपर्ने आवश्यकता नरहेको उल्लेख गर्दै अधिकारीले यो वर्षदेखि विद्यालयले कक्षा ११ मा विज्ञान संकायको पनि पढाई सुरु गर्न लागेको जानकारी दिए । यो संगै विद्यालयमा शिक्षा, व्यवस्थापन, विज्ञान र ५ वर्षे सिभिल ईन्जीनियरिंग डिप्लोमाको पढाई हुने भएको छ । कार्यक्रम विद्यालयका विषय विभाग प्रमुख रोहिणी न्यौपानेले संचालन गरेका थिए ।

 

 

 

 

 

 

 

 

https://ujyaalonepalnews.com/archives/23521

Previous articleबजाज र टिभीएस पछि नेपालमै बाइक एसेम्बल गर्दै यामाहा
Next articleजनार्दन शर्मा अर्थमन्त्री नियुक्त : केही बेरमा शपथ हुँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।