जनार्दन शर्मा अर्थमन्त्री नियुक्त : केही बेरमा शपथ हुँदै

0
72

काठमाडौँ — जनार्दन शर्मा पुन: अर्थमन्त्री बनेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्दै आएको अर्थमन्त्रालयको जिम्मेवारी शर्माले सम्हाल्ने गरी नियुक्ति गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

शर्माले आइतबार नै राष्ट्रपति भण्डारीबाट शपथ लिने कार्यक्रम रहेको छ । बजेट भाषणको अघिल्लो रात अनधिकृत मानिसहरुलाई अर्थ मन्त्रालयभित्र लिएर राजस्वका दर हेरफेर गरेपछि विवादमा आएका उनले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । उक्त प्रकरणमा छानबिनका लागि संसदीय विशेष समिति गठन भएपछि उनले राजीनामा दिएका थिए ।

अर्थमन्त्री छँदा शर्माले केही व्यवसायीलाई अनुकूल हुने गरी राजस्वका दरहरू हेरफेर गरेको आरोप लागेको थियो । करको दर हेरफेर गर्न उनले बजेट भाषणको अघिल्लो रात (जेठ १४ गते) राजस्व प्रशासनमा लामो समय काम गरेर अवकाश भएका नायब सुब्बा रघुनाथ घिमिरे र अर्का एक चार्टर्ड एकाउन्टेन्टलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको उनीमाथि आरोप लागेको थियो ।

उक्त प्रकरणमा संसदीय छानबिन विशेष समितिले शुक्रबार बजेट निर्माणका बेला अनधिकृत मानिहरु सहभागी भएको नपाइएको निष्कर्ष निकालेको थियो । यसअघि पनि पदीय मर्यादा बिर्सेर विभिन्न विवादास्पद काम गरेपछि उनी आलोचित बन्दै आएका छन् ।

https://www.ujyaalonepalnews.com/archives/23522

Previous articleरत्ननगरले एक वर्षमा भ्रमणमा मात्र खर्च गर्यो २८ लाख
Next article६ वटी बालिकाहरुलाई पालैपालो बलात्कार गर्ने किशोर पक्राउ