भएका जहाज घाम तपाएर राख्दाराख्दै नेपाल वायु सेवा निगमको घाटा ४८ अर्ब पुग्यो

मुलुकको एक मात्र राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको आन्तरिक उडान आज ठप्प भयो । आन्तरिक उडान तर्फ तीन प्रतिशत हिस्सामा सीमित निगमले प्राविधिक समस्या देखाउँदै भोजपुर र दाङमा हुने उडान रद्ध गरेको हो । अन्तर्राष्ट्रिय तर्फ पनि गन्तव्य घटाइरहेको छ । भएका जहाज घाम तपाएर राख्ने अनि व्यवसायिक योजना नहुँदा नेपाल एयरलाइन्सको घाटा मात्रै ४८ अर्ब पुगेको छ । यो अवस्थाको एउटा कारण सरकार आफै हो ।

सरकारी स्वामित्वको नेपाल एयरलाईन्सका आन्तरिक उडान भर्ने जहाज २ वटा मात्रै छन् । ती पनि विभिन्न समस्या देखाएर बारम्बार नियमित उडान नहुँदा आन्तरिक बजार दिनप्रतिदिन खुम्चिँदो छ । अन्तर्राष्ट्रिय तर्फ पनि नयाँ गन्तव्य खोज्ने र बजार विस्तार गर्न देखिने काम हुन सकेको छैन । ११ अन्तर्राष्ट्रिय र १७ वटा स्थानमा आन्तरिक उडान गर्ने भनिएको छ । तर अन्तर्राष्ट्रियतर्फ सातामा २१ वटासम्म उडान घटिरहेका छन् ।

४८ अर्ब ऋण बोकेको निगम उडान बढाएर सक्षम हुनुको सट्टा झन् झन् कमजोर भैरहेको छ । १४ सयभन्दा बढी कर्मचारीको पालिरहेको निगम दैनिक लाखौँ घाटामा छ । आर्थिक र व्यवस्थापकीय सुधार गर्नुको साटो राजनीतिकरण र कमिसनको खेलले वायु सेवा निगम धरासायी बन्ने स्थितिमा पुगेको हो । निगमको अवस्था सुधार गरि विश्व बजारमा प्रतिस्पर्धी बनाउन धेरै प्रतिवेदनले कम्पनी मोडलमा लैजान सुझाव दिएका छन् ।

पूर्ण नीजिकरण र संरचना सुधार लगायतका विकल्प पनि निगम सामू छन् । तर सरकारलाई त्यसमा चासै छैन । बरु सरकार फेरिएपिच्छे व्यवस्थापन फेर्ने र दलका मान्छेलाई जागिर दिने थलो बनाइएको छ । ३ अर्बभन्दा धेरै खर्च गरेर चीनबाट ल्याइएका पाँचवटा जहाज २ बर्षदेखि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएका छन् । तिनलाई न उडाउन सकिएको छ नत, ल्याउनेलाई कारवाही ।

नेपालमा वार्षिक २ करोड पर्यटक आएमा ३३ लाखले रोजगारी पाउने विश्व बैंकको आँकडा छ । यसले पर्यटन विकासका लागि भए पनि राष्ट्रिय ध्वजाबाहकलाई बलियो बनाउन प्रेरणा मिल्छ। तर अति राजनीतिकरणले जेलिएको नेपाल वायु सेवा निगममा नीतिगत सुधार नारा मात्रै भैरहेको छ।

https://ujyaalonepalnews.com/archives/23752

Previous articleबाबुले जंगलमा छोडिदिएपछि १५ महिने अनामिकाको भोकैप्यासै चिसोमा कठ्याङ्ग्रिएर ज्यान गयो
Next articleओलीको नेतृत्वमा एमाले निर्वाचन परिचालन कमिटी गठन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।