देउवा-प्रचण्ड भेट : बाबुराम भट्टराईलाई पनि सत्ता गठबन्धनमा समेट्नेबारे छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । भेटमा आगामी चुनावको तयारी, सत्ता गठबन्धनको विस्तार लगायतका विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

दुईबीच डा. बाबुराम भट्टराई र वामदेव गौतमलाई पनि सत्ता गठबन्धनमा ल्याउनेबारे छलफल भएको बताइएको छ । नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले यसअघि प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डलाई भेटेर आफू सत्ता गठबन्धनमै रहेको भन्दै सोही अनुसारको भूमिका दिन आग्रह गरेका थिए । प्रचण्ड भने भट्टराईसँगै गौतमलाई पनि सत्ता गठबन्धनमा ल्याउने प्रयासमा छन् ।

नेकपा राष्ट्रिय एकता अभियान घोषणा गरेका गौतम अहिले राजनीतिमा निस्क्रिय जस्तै छन् । भट्टराईले भने सत्ता गठबन्धनमै रहेर गोरखाबाट चुनावी प्रतिस्पर्धामा उत्रने आन्तरिक तयारी गरेका छन् । यसमा देउवा र प्रचण्ड सकारात्मक रहेको स्रोतको भनाई छ ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी लोसपालाई कसरी समेट्ने भन्नेमा पनि दुई नेताबीच परामर्ष भएको छ । लोसपाले सरकारमा जान इच्छा देखाए पनि जसपा अध्यक्ष उपेन्द्र यादवका कारण रोकिएको छ । यादवले लोसपालाई कुनै हालतमा सत्ता गठबन्धनमा ल्याउन नहुने अडान राखिरहेका छन् । तर प्रधानमन्त्री देउवा भने लोसपालाई पनि सरकारमा ल्याएर गठबन्धनमै समेट्ने पक्षमा छन् ।

प्रचण्ड जापान भ्रमणबाट फर्केपछि प्रधानमन्त्रीसँग पहिलो पटक भेट भएको हो । दुईबीच प्रतिनिधिसभा र प्रदेशसभा चुनावको रणनीतिबारे समेत छलफल भएको बताईएको छ ।

https://ujyaalonepalnews.com/archives/23774

Previous articleएकदिन अघि सर्‍यो कतार विश्वकप
Next articleचोरीको झुटो आरोपमा एक वर्षदेखि नेपाली युवा साउदीको जेलमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।