चितवन, भदौ ५ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरमा अल्ट्रा साउण्ड तथा भिडियो एक्सरे सेवा सुरु भएको छ । अल्ट्रा साउण्ड तथा भिडियो एक्स रे नहुँदा खासगरि पेट सम्बन्धि समस्या भएका बिरामीहरुले एक्सरे गराउन अन्यत्र अस्पताल धाउनुपर्ने बाध्यता थियो । अब पेट सम्बन्धी समस्या भएका बिरामीहरुले एक्सरे गराउन अन्य अस्पताल धाउनुपर्ने अवस्थाको अन्त्य भएको आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरकी कार्यालय प्रमुख डा.कोपिला अधिकारीले जानकारी दिइन् ।
बागमती प्रदेशको साझेदारी कार्यक्रम अन्तर्गत १७ लाख ३५ हजारमा सो उपकरण खरिद गरिएको कार्यालय प्रमुख डा. अधिकारीले जानकारी दिइन । प्रमुख अतिथि वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनालले अल्ट्रा साउण्ड तथा भिडियो एक्सरे सेवाको उद्धघाटन गरेका हुन् । एक्सरे सेवा उद्धघाटन गर्दै मन्त्री खनालले पहिला सामान्य आयुर्वेद औषधी मात्र पाइने अस्पतालमा अहिले अल्ट्रा साउण्ड तथा भिडियो एक्सरे सेवा थपिदा सेवा अझ प्रभावकारी हुने बताए ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका उपप्रमुख यादव प्रसाद पाठक, पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, बकुलहर रत्ननगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपाल कर्माचार्य, रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ,संघका बरिष्ट उपाध्यक्ष शंकर गिरी लगायतले मन्तव्य राखेका थिए ।
https://ujyaalonepalnews.com/archives/23982


