आँगन मासेर सभाहल

निराजन घिमिरे, भाद्र ३० – रत्ननगरको पिठुवा वडा नं. १६ को आँगनको रुपमा रहेको खुला चौर मासेर सभाहल निर्माण गरिने भएको छ । रत्ननगर नगरपालिका र बागमती प्रदेश सरकारको लगानीमा हल निर्माण गर्ने भन्दै काम सुरु गरिएको हो । पांच सय जना क्षमताको हलमा नगरपालिकाको १० लाख र बाँकी संघ तथा प्रदेश सरकारको गरि करोड लगानी रहने बताईएको छ। हलको गत भाद्र २२ गते मेयर प्रलाद सापकोटा र उपमेयर यादव पाठकले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

तर शिलान्यास गरेर काम सुरु गरेको एक हप्ता नहुँदै यसको चर्को विरोध सुरु भएको छ । सभाहल बनाउनु अत्यन्त राम्रो काम भएता पनि स्थान छनोटमा लापरबाही भएको स्थानीयको आरोप छ । हाल वडा कार्यालयको स्वामित्वमा रहेको उक्त ७ कठ्ठा जग्गामा पिठुवा सिंचाई, स्वास्थ्य केन्द्र, पिठुवा सिकाई केन्द्र, वडा कार्यालय लगायतका कार्यालयहरु छन् । बाँकी रहेको खुला चौरमा स्थानिय युवाहरुले खेलकुदको लागी प्रयोग गर्दै आएका छन् ।

सभाहल शिलान्यास गर्दै नगर प्रमुख प्रलाद सापकोटा र उप प्रमुख यादव पाठक

बढ्दो शहरीकरण संगै बढ्दै गएको घना बस्ती बिचको खुल्ला ठाउँ मासेर कंक्रिटको जंगल बनाउन नहुने एकथरिको तर्क छ । त्यसमाथि स्वास्थ्य केन्द्र संगै जोडेर सभाहल निर्माण गरिनु त्यति उपर्युक्त नभएको उनीहरुको भनाई छ । विकास निर्माणको काम गर्दा दिर्घकालिन रुपमा सोच्न पर्नेमा त्यसको वास्ता नगरी बहुआयामिक सभाहलको नाममा कभर्डहल निर्माण थालिएको हो । साबिक पिठुवा गाविस हुँदा नै सोहि स्थानमा पिठुवा सिंचाईको भवन बनाउन जग्गा दिने विषयमा दलिय सहमती बाट निर्णय गरेर स्थान उपलब्ध गराईएको थियो ।

तर अहिले सभाहलको निर्माण सुरु गर्दा सम्म एकपटक पनि दलहरु संग छलफल नगरिएको विभिन्न दलका प्रतिनिधिहरुले आरोप लगाएका छन् । केहि व्यक्तिहरुको सिमित लाभको लागी खुल्ला चौर मास्न लागेको भन्दै तिब्र विरोध सुरु भएको हो । निर्माण सुरु गरिएको स्थान बाट केहि सय मिटरको दुरीमा प्रसस्त सार्वजनिक जग्गा हुँदाहुँदै पनि पिठुवाको मुटुमा रहेको सानो खुल्ला ठाउं अतिक्रमण हुनु दुर्भाग्यपूर्ण छ ।

उता, सानो सानो कार्यक्रमा गर्न पनि स्थान नपाएर होटलका महंगा हलहरुमा जान पर्ने बाध्यता बाट पिठुवाबासीलाई मुक्त गराउन आफुहरुले हल निर्माण सुरु गरेको सभाहल निर्माण समितिका अध्यक्ष नेत्र घिमिरेले बताए । विकास निर्माणको काम गर्दा विरोध आउनु सामान्य रहेको भन्दै उनले सभाहल निर्माण गरेरै छोड्ने बताए । “सभाहलको नाउँमा कभर्ड हल निर्माण सुरु गर्नुभएको हो ? ” भन्ने उज्यालो नेपालको प्रश्नमा उनले त्यसमा सत्यता नरहेको जानकारी दिए।

अहिले सभाहल निर्माण गर्ने भनिएको स्थानबाट  ५ सय मिटरको दुरीमा रहेको कयरखोला किनारमा कभर्डहल निर्माण गर्ने भन्दै काम सुरु गरिएको ५ महिना बित्न नपाउंदै त्यस्तै प्रकृतिको संरचना निर्माणको लागी नगरपालिकाले १० लाख विनियोजन गरेको हो । निवर्तमान नगरप्रमुख नारायण वनले आफ्नो कार्यकालको अन्तिम क्षणमा शिलान्यास गरिएको उक्त कभर्डहल हाल अलपत्र अवस्थामा रहेको छ । कभर्डहलको वेस बनाउन  झन्डै ५ लाख भन्दा बढी रकम खर्च भईसकेको छ । कभर्डहल निर्माण गर्ने भन्दा विरोध आउन सक्ने सम्भावना देखेर अहिले निर्माण थालिएको संरचनालाई बहुआयामिक सभाहलको नाम दिइएको आरोप छ ।

गत चैत मा कयर खोला किनारमा कभर्डहल शिलान्यास गर्दै तत्कालिन नगरप्रमुख नारायण वन

चौतफी विरोध सुरु भएपछी यतिबेला निर्माणको काम रोकेर सहमतीको प्रयास गरिएको छ । सहमती जुटाउन आयोजित सर्वदलिय वैठकमा अधिकांस दलका प्रतिनिधीले सार्वजनिक स्थलको अतिक्रमण सह्य नहुने बताए । विहिवार वडा कार्यालयमा वसेको वैठक विना निष्कर्ष टुंगिएको छ । बस्तीको बिचमा रहेको खुल्ला जमिनलाई मासेर कुनै नामको संरचना बनाउनु उपर्युक्त देखिंदैन । यदि सभाहल कै आवश्यकता हो भने हाल सोहि हाताभित्र रहेका विभिन्न कार्यालयहरुका घरटहराहरु हटाई सोहि स्थानमा पार्किंग सहितको बहुतले भवन बनाई सोहि भवनमा  सभाहल र अन्य कार्यालयहरुलाई व्यवस्थित गर्नुपर्ने देखिन्छ ।

 

 

 

https://ujyaalonepalnews.com/archives/24360

Previous articleजहाज भित्र धुवाँ देखिएपछि जापानका लागि उडेको निगमको जहाज काठमाडौं फर्कियो
Next articleप्रहरी भन्छ बच्चा चोर’ अफवाह मात्र: भ्रामक प्रचार नगर्न अनुरोध
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।