जहाज भित्र धुवाँ देखिएपछि जापानका लागि उडेको निगमको जहाज काठमाडौं फर्कियो

भाद्र २९,- काठमाडौँ — १ सय ८४ यात्रु बोकेर जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी विमान कार्गो सामान राखिने कम्पार्टमेन्टमा धुवाँ देखिएपछि काठमाडौंमै फर्किएको छ । मंगलबार राति ११ बजे नारिताका लागि उडेको आरए ४३३ उडान नम्बरको उडान काठमाडौं विमानस्थल छाडेको आधा घण्टामै फर्किएको थियो ।

‘कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको ककपिटमा संकेत देखिएपछि चालकदलले जहाज काठमाडौं नै फर्काएका थिए,’ निगमका एक अधिकारीले भने, ‘त्यो समस्या देखिँदा जहाज नेपालकै आकासभित्र थियो । ’चालकदलले जहाज काठमाडौंमा अवतरण गएपछि निगमले अर्को जहाज नभएका कारण ती यात्रुहरूलाई राति सिनामंगलमा रहेको एयरपोर्ट होटल र ज्ञानेश्वरको काभेरी इन होटलमा राखेको थियो ।

प्राविधिकहरूले उक्त जहाजलाई राति नै मर्मत गरेर ती यात्रुलाई बुधबार बिहान नौ बजे त्यही जहाजमा नारिता उडाउने तयारी गरिरहेको निगमको विमानस्थल कार्यालयका एक कर्मचारीले बताए । जापानमा रहेका एक नेपालीका अनुसार, त्यहाँको स्थानीय समयअनुसार राति ८ बजे नारिताबाट फर्किने तालिका रहेको छ ।

त्यहाँ २ सय ४६ जना यात्रु रहेका छन् । त्यो वाइडबडी काठमाडौं फर्केर बुधबार राति दक्षिण सुडान जाने तालिका रहेको छ । काठमाडौं नारिता एकतर्फी करिब ७ घण्टा उडान समय लाग्छ । यस घटनाबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित टर्मिनल कार्यालयले कुनै जानकारी नरहेको जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/24357

Previous articleअसोजदेखि सवारी लाइसेन्स परीक्षामा ७० अंक ल्याए पास, यस्तो छ नयाँ मापदण्ड
Next articleआँगन मासेर सभाहल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।