२६ असोज, काठमाडौं । चितवन– १ मा नेपाली कांग्रेसका बागी उम्मेदवार राजेन्द्र बुर्लाकोटीले उम्मेदवारी कायम राखेका छन् । उम्मेदवारी फिर्ताका लागि निर्वाचन आयोगले बुधबार विहान १० देखि दिउँसो १ बजेसम्म समय निर्धारण गरेको थियो ।
आयोगले तोकेको समयभित्र उनले नाम फिर्ता लिएनन् । कांग्रेसले बागी उम्मेदवार बनेकालाई दिउँसो १ बजेभित्र नाम फिर्ता लिन निर्देशन दिएको थियो । बुर्लाकोटीलाई उम्मेदवारी फिर्ता गर्नका लागि सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, बागमती प्रदेश सभापति इन्द्र बानियाँले आग्रह गरेका थिए ।

‘सभापति, उपसभापति र प्रदेश सभापतिले फोन गरेर उम्मेदवार फिर्ता गर्न भन्नुभएको थियो’, बुर्लाकोटीले भने,‘मैले मानिँन । विश्व पौडेलको नाम फिर्ता गराउनुस् भनें ।’ बुर्लाकोटीलाई केन्द्रिय सदस्य देखी राष्ट्रिय सभा सदस्य सम्मको प्रलोभन दिइएको स्रोतले बतायो ।
नेपाली कांग्रेसले चितवन–१ मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेललाई उम्मेदवार बनाएको छ । २०७४ सालको निर्वाचनमा नेकपा एमलेका नेता सुरेन्द्र पाण्डेसँग पराजित बुर्लाकोटीले पार्टीले उम्मेदवार पौडेललाई बनाएपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन् ।
पार्टिका महासमिती सदस्य बुर्लाकोटी यस अघिका दुई निर्वाचनमा नेकपा एमालेका सुरेन्द्र पाण्डे संग पराजित उम्मेदवार पनि हुन । उनै बागी उम्मेदवार बुर्लाकोटीको माग सम्बोधन गर्न र उनको उम्मेदवारी दर्ता फिर्ता गराउन नेपाली कांग्रेस चितवन क्षेत्र नं १ प्रदेश ख समितीले बैठक डाकेर छलफल समेत चलाएको थियो ।
https://ujyaalonepalnews.com/archives/24606


