सरकारी खर्चमा स्वदेश आए साउदीमा मस्तिष्क घात भई उपचाररत जितेन्द्रकुमार

काठमाण्डौ – साउदीमा मस्तिष्क घात भई अस्पतालमा उपचाररत महोत्तरीका जितेन्द्रकुमार झालाई नेपाल ल्याइएको छ । रोजगारीको सिलसिलामा साउदीमा रहनुभएका जितेन्द्रकुमार कोठामा बसिरहेकै बेलामा मस्तिष्क घात भई ढलेको र उपचारको क्रममा केही सुधार आएको भए पनि शरीरको बायाँ भाग नचल्ने भएकाले डाक्टरको सल्लाह अनुसार नेपाल पठाइएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार, सरकारले नै सम्पूर्ण खर्च व्यहोरेर जितेन्द्रकुमारलाई स्वदेश ल्याइएको हो । उहाँको उपचारमा संलग्न डाक्टरले परिवारको साथमा राखेर उपचार गर्दा केही सुधार हुन सक्ने सुझाव दिएका थिए । जसअनुसार साउदीको अस्पतालले पनि जतिसक्दो चाँडो नेपाल लैजान दूतावासलाई तागेता गरेको थियो ।

तर स्ट्रेचरमा राखेर पठाउन पर्ने अवस्थाका कारण पठाउने प्रयास गर्दा गर्दै पनि सम्भावना नभएको र पछिल्लो समय नेपाल एयरलाइन्समा त्यो व्यवस्था भएसँगै उहाँसहित थुप्रै गम्भीर प्रकृतिका बिरामी श्रमिकलाई स्वदेश पठाउन सहज भएको दूतावासले जनाएको छ ।

नेपाल एयरलाइन्सले साउदीको रियादमा नियमित उडान सञ्चालन गरेपछि वैदेशिक रोजगार बोर्डले जहाजमा स्ट्रेचर राख्ने व्यवस्था गर्न र त्यसबापतको खर्च समेत व्यहोर्ने गरेको छ । शुक्रवार नेपाल ल्याइएका जितेन्द्रकुमारको अहिले परिवारले जिम्मा लिएर काठमाण्डौको वीर अस्पतालमा भर्ना गरी उपचार गराइरहेको छ ।

https://ujyaalonepalnews.com/archives/24653

Previous articleगायक राजु परियारलाई पितृ शोक, बुबा मंगलसिंहको ७२ वर्षको उमेरमा निधन
Next articleरत्ननगरमा तीन वडामा एमालेको सम्पर्क कार्यालय उद्घाटन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।