गोठालो जाँदा भेट्टाएको बम खेलाउँदा पड्किएर दुई बालिकाको मृत्यु, तिन बालबालिका गम्भीर घाइते

0
91

काठमाडौँ — कालीकोटमा शनिबार बिहान ८ बजे बम विस्फोट हुँदा दुई जना बालिकाको मृत्यु भएको छ । उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो भने ३ जना गम्भीर घाइते भएका छन् । जिल्लाको तिलागुफा नगरपालिका–१० की ४ वर्षीया झरना थापाको स्थानीय स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।

यस्तै, ४ वर्षकी सरस्वती रानाको प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु उनले बताए ।  प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार बम नयाँ वा पुरानो हो भन्ने अनुसन्धान भइरहेको छ । घटनाबारे जानकारी दिँदै उनले कान्तिपुरसँग भने, ‘नयाँ/पुरानो भन्ने प्रहरीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।

घटनास्थलमा स-साना फलामका टुक्रा भेटिएकाले सकेट बम हो कि भन्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा आशंका गरिएको छ ।’ मुख्य सडकभन्दा पर विस्फोट भएकाले बम पुरानै हुन सक्ने आशंका गरिएको उनको भनाइ छ । बालबालिका जाने क्रममा उनीहरुले नयाँ कुरा देखेर ढुंगा हान्दा बम विस्फोट भएको प्रजिअ शर्माले बताए ।

घटनामा सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षका मुस्कान थापा, ३ वर्षकी सपना थापा गम्भीर घाइते भएको स्थानीय प्रशासनले जनाएको छ ।  नेपाली सेनाको हेलिकप्टर कालीकोट पुगेर घाइते भएका बालबालिकालाई थप उपचारका लागि सुर्खेतको प्रादेशिक अस्पतालमा लगेर उपचार थालिएको प्रजिअ शर्माले जानकारी दिए ।

स्थानीय प्रेमबहादुर शाहीका अनुसार गाई चराउन गएका बालबालिकाले ओढारमा भेट्टाएको वस्तु खेलाउँदा विस्फोट भएको बताए । ( तस्विर सांकेतिक रुपमा प्रयोग गरिएको )

 

https://www.ujyaalonepalnews.com/archives/24726

Previous articleसरकारी खर्चमा स्वदेश आए साउदीमा मस्तिष्क घात भई उपचाररत जितेन्द्रकुमार
Next articleबस दुर्घटना हुँदा ८ जना घाइते, २ जनाकाे अवस्था गम्भीर