गायिका समीक्षा अधिकारीलाई अश्लील गाली गर्दै ढुङ्गा प्रहार

उज्यालो नेपाल- सङ्खुवासभाको खाँदबारीमा शुक्रवार बेलुका भएको एक साङ्गीतिक कार्यक्रममा गायिका समीक्षा अधिकारीलाई अश्लील गाली गर्दै ढुङ्गा प्रहार गरिएको छ । कार्यक्रम आफ्नो प्रस्तुति दिइरहेकी गायिकालाई दर्शक दीर्घाबाट स्टेजमा ढुङ्गा, अण्डा लगायतका सामाग्रीहरू प्रहार गरिएको हो । खाँदवारी नगरपालिका-६ पाङ्ठामा भएको उक्त कार्यक्रममा दर्शक दीर्घाबाट प्रहार गरिएको ढुङ्गा स्टेजसम्म भने पुगेन ।

केटिएम दैनिकको सम्पर्कमा आएका उक्त वडाका पूर्व वडाध्यक्ष दयानिधि बरालले गायिका अधिकारीमाथि अश्लील गाली गर्दै ढुङ्गा प्रहार भएको पुष्टि गरे तर जिल्ला प्रहरी कार्यालय भने यस विषयमा आफूहरूलाई केही जानकारी नभएको बताउँछ । बरालले भने, ‘सकेसम्म एउटा जुत्ता भए पनि स्टेजसम्म पुर्‍याउने र अधिकारीको बेइज्जत गर्ने उद्देश्यले केही युवाहरूले ढुङ्गा प्रहार गरेका हुन् ।’

केटिएम दैनिकले गायिका अधिकारीलाई यस विषयमा सम्पर्क गर्ने कोसिस गरेता पनि उनको मोबाइल नेटवर्क बाहिर रहेकाले सम्पर्क हुन सकिरहेको छैन । साङ्गीतिक कार्यक्रमपछि भने त्यहाँ विवाद हुँदा एक जना युवक गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक सरोज खनालले बताए ।

ती युवकको घाँटीमा छुरा प्रहार भएको र उनको अहिले धरानस्थित बिपी कोराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी निरीक्षक खनालले बताए ।

https://ujyaalonepalnews.com/archives/24885

Previous articleबँदेल मार्न थापेको विद्युतीय पासोमा परि दाङका रोशनी र शरदको मृत्यु
Next articleनेकपा एमाले काठमाडौं महानगर कमिटी १५ वडाका सह-इन्चार्ज सानू रत्न फुबरे द्वारा पार्टी परित्याग ।
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।