काज किरिया गरेको १९ वर्षपछि घर फर्किए जितबहादुर

0
43

बाजुरा, २९ कात्तिक । झट्ट सुन्दा अनौठो लाग्न सक्छ, तर यो सत्य हो । प्रायः काज किरिया अब मान्छे यो संसारमा छैन् अथवा मृत्यु भइसक्यो भनेर गरिन्छ । काज किरिया गरिसकेपछि अब त्यो मान्छे आउने आश हुँदैन । तर बाजुरामा काजकिरिया गरेका एक पुरुष १९ वर्षपछि आफ्नै घरमा फर्किएका छन् ।

बाजुराको खप्तड छेडदह गाउँपालिका—७ लमगाउँ बस्ने ४६ वर्षीया जितबहादुर रावत बेपत्ता भएको १९ वर्षपछि घर फर्किएका छन् । १९ वर्ष पहिला घरबाट हराएका जितलाई परिवार तथा गाउँलेले धेरै ठाउँमा खोजे । नेपाल मात्र नभई भारतका विभिन्न शहरमा समेत खोजे प्रहरीलाई खबर समेत गरे । तर उनलाई कतै नभेटाएपछि गाउँमा उनको काजक्रिया गरिसकेका थिए ।

‘केही समयसम्म त पाउने आशमा खोज खबर गर्‍यौं, लामो समयसम्म सम्पर्कमा नआएपछि हिन्दु परम्परा अनुसार काजक्रिया गर्‍यौं’ स्थानीय ताल बहादुर रावतले बताए । जितको काजक्रिया गरेपछि उनकी श्रीमती सुर्जा रावतले सरकारबाट पाउने सामाजिक सुरक्षा भत्ता तथा एकल भत्ता समेत बुझ्दै आएकी छन् । सुर्जाले भनिन्, ‘श्रीमानको धेरै खोज खबर गर्‍यौं, कतै नभेटिएपछि क्रियाकाज गरेर मृत्युदर्ता गरेका थियौं ।’ मृत्यु दर्तापछि एकल भत्ता खादै आएको उनले बताइन् ।

१९ वर्षपछि श्रीमान आउँदा निकै खुशी भएका छौं, ‘हामीले अब फेला पर्ने आश मारिसकेका थियौं । एकाएक घर पुग्दा वास्तविक हो की ? सपना जस्तै ?’ सुर्जाले बताइन् । जितका गोबिन्द रावत र कमला रावत गरी दुई छोराछोरी छन् । दुबैको विवाह समेत भइसकेको छ । धेरै समयसम्म बेपत्ता भएका जित गाउँमा आउँदा गाउँलेले खुशीयाली समेत गरेका छन्् । जितले भने आफु नेपालबाट गएर भारतको हिमाञ्चल प्रदेशमा बसेको बताए ।

‘घरफिर्ता नहुने गरी गएको थिए, तर घरपरिवार समाजको याद आएपछि १९ वर्षपछि गाउँ फिर्ता भए’ जितले भने । यसरी काजक्रिया गरिसकेको ब्यक्ति फेरि फेला परेपछि हिन्दु परम्पराअनुसार विवाहदेखि अन्य ब्रतबन्ध, पूजापाठ पुनः गर्ने गरिन्छ । मानबहादुर विश्वकर्मा/मध्यान्ह

https://www.ujyaalonepalnews.com/archives/24959

Previous articleपाकिस्तानलाई हराउँदै इङ्ग्ल्यान्डले जित्याे T-20 विश्व कपकाे उपाधि
Next articleनिर्वाचन अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टीको सुखद सुरुवात