नागरिकता प्रकरण: रवि लामिछानेले बुझाए आयोगमा स्पष्टीकरण

६ मंसिर, चितवन । नागरिकता प्रकरणमा चितवन क्षेत्र नं. २ का उम्मेदवार एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचन आयोगमा स्पष्टीकरण बुझाएका छन् ।

विदेशी नागरिकता लिएका कारण खारेज भएको नेपाली नागरिकता पेश गरेर उम्मेदवारी दर्ता गराएको तथा पुनः नागरिकता प्राप्तिको प्रक्रियामा नगएको भन्दै उनको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको थियो ।

उजुरीका सन्दर्भमा लामिछानेले स्पष्टीकरण बुझाएको चितवनका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले ७ दिन समय दिएर रविलाई स्पष्टीकरण पेश गर्न भनेको थियो । रविले मंगलबार सातौं दिन स्पष्टीकरण बुझाएका हुन् ।

लामिछानेले सातौं दिनको अन्तिम समय पारेर स्पष्टीकरण मंगलबार दिउँसो ४.३० बजेतिर मुख्य निर्वाचन अधिकृतलाई शिलवन्दी गरेर बुझाएका हुन् । मुख्य निर्वाचन अधिकृत थापाले लामिछानेले बुझाएको स्पष्टीकरण सिधै केन्द्रमा पठाउने र केन्द्रले नै निर्णय लिने बताए ।

‘उहाँले शिलबन्दी गरेर बुझाउनुभएको छ, हामीले ढिला गरी पायौं, जतिसक्दो छिटो आयोगमा पठाउछौं’, मुख्य निर्वाचन अधिकृत थापाले भने, ‘हामीले यहाँ केही नगर्ने भएकोले शिलबन्दी नखोली पठाउँछौं ।’

भरतपुरबाट बुधबार बिहान जहाजमार्फत शो स्पष्टीकरण पत्र निर्वाचन आयोगमा पठाइने मुख्य निर्वाचन अधिकृत कार्यालय स्रोतले बताएको छ । रवि उम्मेदवार रहेको चितवन-२ मा हाल मतगणना भइरहेको छ र मंगलबारदेखि उनले अग्रता लिन थालेका छन् ।

https://ujyaalonepalnews.com/archives/25059

Previous articleचितवन क्षेत्र नं. २ प्रतिनिधिसभा मतगणना अपडेट
Next articleकृष्णभक्त र उमेशले पाएको कुल मत भन्दा रविलाई करिब १५ सय बढी मत
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।