Home Uncategorized चुनाव हार्नेभएपछि मतदाता प्रति हिमेशको आक्रोश: कतिले त भोट चाहिए रक्सी खुवाउनुस्...

चुनाव हार्नेभएपछि मतदाता प्रति हिमेशको आक्रोश: कतिले त भोट चाहिए रक्सी खुवाउनुस् भने

काठमाडौँ — धादिङ क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तथा कमेडियन हिमेश पन्तले गाउँका मतदाताको चेतनास्तरमा अझै सुधार नआएको बताएका छन् । अहिलेसम्मको मतगणनामा उनी प्रतिस्पर्धी उम्मेदवारभन्दा निकै पछाडि रहेका छन् ।

धादिङ-१ मा वाग्मतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे १३ हजार ६ सय ८ मतसहित अगाडि रहेका छन् । त्यस्तै दोस्रो स्थानमा रहेका एमालेका भूमिप्रसाद त्रिपाठीले १२ हजार ६ सय २८ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका हिमेशले ४ हजार ४ सय ४३ मत ल्याएका छन् ।

हिमेशले २/४ लाख खर्च गरेर चुनाव लड्नु कुनै मजाकको विषय नभएको बताएका छन् । राजमार्ग लाइन र नगरपालिका क्षेत्रमा बुझ्ने मान्छे भए पनि पहाड, गाउँ र लेकका मान्छेहरूको चेतनास्तरमा सुधार नआएको उनको भनाइ छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘करोडौं करोड खर्च गरेर चुनाव लड्नेहरूसँग २/४ लाख खर्च गरेर चुनाव लड्नु कुनै जोक हैन। धादिङ क्षेत्र नं १ मा ५ ओटा गाउपालिका र १ ओटा नगरपालिका छ। हाइवे लाइन र नगरपालिकामा बुझ्ने मान्छे भएतापनि पहाड,गाउँ र लेकका मान्छेहरुको चेतना स्तरमा अझै सुधार आएको छैन ।’

उनले अझै पनि पैसाले नै चुनाव जित्ने माहोल रहेको आरोप लगाएका छन् । उनी भन्छन्, ‘हामी प्रचार-प्रसारमा हिड्दै गर्दा ‘जस्ले दिन्छ नोट, उसैलाई भोट।’ भनेको पनि धेरै नै सुन्न पाइयो। कतिले त ‘भोट चाहिए रक्सी खुवाउनुस्।’ सम्म भन्न भ्याए। धादिङ कुनै पनि हालतमा काठमाडौं जस्तो हुँदै हैन ।’

निर्वाचन आयोगले दिएको प्रचार अवधिको समय निर्वाचन क्षेत्रको ५३ ओटै वडामा पुग्न असम्भव रहेको उनको भनाइ छ । मुख्यमन्त्री पाण्डेसँग प्रतिस्पर्धा गर्नु चुनौतीपूर्ण काम भएको भन्दै उनी भन्छन्, ‘ म यत्ति भन्न सक्छु हामीले ल्याउँदै गरेको भोट : मासुभातको बदलामा आएको भोट हैन, पैसाले किनेको भोट हैन र कुनै डर-धम्कीबाट आएको भोट हैन। बिनासंगठन, बिनागठबन्धन, बिनापैसा, बिनाअनुभव… मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग भिड्ने दम कुनै युवामा थियो ? सिन्डिकेट तोडिएको छ, यो एउटा सुरुवात हो। जग हाल्ने कामको थालनी भएको छ। हाम्रो सम्मानित मत आउँदै गर्दा जनता झुक्याएर सत्तामा पुग्नेहरुको मनभित्र ढ्यांग्रो बजेको छ। यही नै हाम्रो ठूलो उपलब्धि हो।’

https://ujyaalonepalnews.com/archives/25070

Previous articleधादिङबाट चुनाव लडेका कमेडियन हिमेश पन्तको के छ अवस्था ?
Next articleचितवन-२ मा भारी मतान्तरले रवि लामिछाने विजयी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।