निराजन घिमिरे, मङ्सिर ११- रत्ननगरको प्रगतिशील बाख्रापालन कृषक समुहले सुरु गरेको बाख्रापालन कार्यक्रमको पूर्वाधार निर्माण तथा माउ बाख्रा खरिद कार्यक्रम अन्तिम चरणमा पुगेको छ । संघिय सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको लाईफ स्टक सेक्टर ईनोभेसन आयोजनाको सहयोगमा समुहले उन्नत बाख्रापालन तथा खसीबोका बिक्रि वितरण उप-आयोजना संचालन गरेको हो । पशुको क्षेत्रमा नीतिगत सुधार गर्दै नविनतम प्रविधिको प्रयोग मार्फत विकास र समृद्धिको राष्ट्रिय लक्ष्यमा टेवा पुर्याउनु यस योजनाको मुख्य उदेश्य हो ।
करिब ६५ लाखको लागतमा संचालन भएको उप-आयोजनामा २० प्रतिशत अर्थात् करिब १३ लाख कृषक समूह, ३० प्रतिशत अर्थात १९ लाख रुपैयाँ एनसीसी बैंक रत्ननगरको ऋण सहयोग र बाँकी ५० प्रतिशत अर्थात ३२ लाख रुपैयाँ लाइभस्टक सेक्टरले लगानी गरेको समुहकी अध्यक्ष ईश्वरी सिम्खडाले जानकारी दिईन् । उप-आयोजना अन्तरगत हालसम्म १६ जना कृषकको गोठमा ४० वटा बाख्रा क्षमताको आधुनिक खोर निर्माण, १२० वटा बाख्रा, ५ वटा उन्नतजातको बोका र गोठमा आवश्यक सामाग्रीहरु खरिद गरिएको छ । उप-आयोजनाको प्रगती बारे सम्झौता आइतबार सार्वजनिक सुनुवाई गरि जानकारी गराईएको हो ।
रत्ननगर नगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष हेमराज थापाको प्रमुख आतिथ्यतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा थापाले किसानको हक हितका लागि सहयोग गर्न सधै तयार रहेको बताए । आफु पनि बाख्रापालक कृषक भएको जानकारी दिंदै थापाले कृषकको समस्यामा आफु सधैं साथमा रहने प्रतिबद्धता ब्यक्त गरे । पशुपालक कृषकहरुलाई लक्षित गरि विभिन्न तालिम तथा प्रशिक्षणका कार्यक्रम आयोजना गरिने उनले बताए ।
कार्यक्रमका अर्का वक्ता जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगालेले “काम गरे राज्यले सहयोग गर्छ’ भन्ने कुराको उदाहरण यस उप-आयोजना रहेको बताए । राज्य बाट सहयोग लिन पहिला आफुले काम गरेर देखाउन पर्ने उनको तर्क छ । अर्को प्रसंगमा बगालेले पशुपालक कृषकहरुलाई पशुपालन सम्वन्धी आधारभूत ज्ञान नहुँदा किसानहरुले समय समयमा ठुलो नोक्सानी व्योहोर्नुपरेको उल्लेख गरे । अब कृषकहरुले पनि आफुले गोठमा पालेको पशुको स्याहारसुसार बारे अध्ययन गर्नुपर्ने उनको भनाई छ ।
कार्यक्रममा भद्रकाली दुग्ध उत्पादक सहकारीका अध्यक्ष युवराज थापा, भद्रकाली मा.वि का प्रअ तिलक कुँवर, लाईफ स्टक सेक्टर ईनोभेसन आयोजना कि प्रतिनिधि जिता केशी, पशु चिकित्सक सुन्दर बस्नेत, लगायतले मन्तव्य राखेका थिए । संस्थाकी अध्यक्ष ईश्वरी सिम्खडाको सभापतित्वमा भएको कार्यक्रम संस्थाका सचिव शिवाध्वज थापाले संचालन गरेका थिए ।
उप-आयोजना बाट रत्ननगर १६ का सोह्र घरपरिवारका ४५ पुरुष र ३५ महिला गरि ८० जना प्रत्यक्ष लाभान्वित हुनेछन । आयोजनाले खसीबोका उत्पादन गर्ने, स्थानियस्तरमा रोजगारी सिर्जना गर्ने, बाख्रापालानामा आधुनिक प्रविधिको प्रयोग गरि उत्पादन तथा उपादकत्व वृद्धि गर्ने, खसीबोकाको बजार सुनिश्चित गर्न श्रोत केन्द्र स्थापना गर्ने, मासुका लागी खसीबोका तथा पाठापाठी उत्पादन गर्ने लक्ष्य राखेको छ ।
https://ujyaalonepalnews.com/archives/25103


