अवैध बाटो हुदै पोर्चुगल छिर्न खोज्ने नेपाली युवतीको स्लोभानियाको जंगलमा मृत्यु

माल्टा : वैदेशिक रोजगारका लागि युरोपेली मुलुक प्रवेश गर्ने प्रयासमा रहेकी एक नेपाली युवतीको स्लोभानियाको जंगलमा मृत्यु भएको छ । क्रोएसियाबाट पोर्चुगल छिर्ने क्रममा सिन्धुपाल्चोक इन्द्रावती–८की सञ्जिता गोतामेको निधन भएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्रोएसियाले जनाएको छ । उक्त संस्थाका अनुसार गोतमेको गत मंगलबार निधन भएको हो । उनको शवलाई नेपाल पठाउने तयारी भइरहेको छ ।

पछिल्ला केही महिनायता क्रोएसियाबाट पोर्चुगल लगायत युरोपियन मुलुकहरुमा जाने क्रम बढेको र अधिकांश नेपालीहरु राहदानी फ्याँकेर र बिचौलियालाई बुझाएर अवैधानिक बाटो हुँदै पोर्चुगल लगायतका मुलुकहरुमा छिर्ने गरिरहेको बताइएको छ । क्रोएसिया गएकी छोरी युरोपेली मुलुक पोर्चुगल छिर्ने क्रममा जंगलमै मृत्यु भएको खबर सुन्दा उनका बुबा वासुदेवलाई अहिले पनि विश्वास लागेको छैन । छोरी त क्रोएसिया गएकी हो तर स्लोभानियाको जंगलमा कसरी पुगी त भन्ने उनमा प्रश्न उब्जिएको छ ।

सञ्जितासँग परिवारको मंसिर – ३ गतेसम्म फोनमा कुराकानी भएको थियो । ‘सञ्जिताले मसँग कुरा गर्दा अर्को देश जाने कुरा नै थिएन । एक्कासी मृत्युको खबर आएपछि मात्र अर्को देश गएको थाहा भएको वासुदेवले जानकारी दिए । छोरीको मृत्यु भएको खबर पाएपछि अहिले वासुदेव राम्रोसँग बोल्न पनि सक्दैनन् । सिन्धुपाल्चोकको अड्चले गाउँबाट छोरा–छोरी पढाउन सात वर्षअघि गोतामेको परिवार काठमाडौं आएको थियो ।

काठमाडौंको नारायरणटारमा किराना पसल गरेर गोतामेले चार जना छोरा–छोरी पढाउँदै थिए । कक्षा १२ सम्म पढेकी उनकी जेठी छोरी सञ्जिता वैदेशिक रोजगारीका लागि युरोप जाने भइन् । उनले जसोतसो १३ लाख रुपैयाँ खर्च गरेर छोरीलाई क्रोएसिया पठाएका थिए ।

नेपालबाट श्रम स्वीकृति लिएर क्रोएसिया गएकी सञ्जिताले राहदानी नै फ्याँकेर पोर्चुगल छिर्न खोजेको खबर उनको मृत्युपछि पाएको उनका बाबु वासुदेवले जानकारी दिए । अर्को देश जान खोज्दा छोरीले कति बिपत्‌ भोगी होला, अनि कति कष्टका साथ मृत्यु भयो होला ? अहिले यही पिरले मन पोल्ने गरेको वासुदेव बताउँछन् । गरिबीकै कारण विदेशिएकी छोरीको कुकुर मराई भएको गुनासो उनले गरे । फ्रान्सस्थित नेपाली दूतावासले राहदानी त्यागेर जिउ ज्यान नै जोखिममा राखेर अवैधानिकरुपमा यात्रा गरी कुनैपनि मुलुकमा प्रवेश नगर्न नेपालीहरुमा आग्रह गरेको छ ।

https://ujyaalonepalnews.com/archives/25106

Previous article३२ लाख अनुदानमा रत्ननगरमा सुरु भएको बाख्रापालन अन्तिम चरणमा
Next articleसमानुपातिक मतगणनाः २५ लाख मत कटाउँदै एमालेको अग्रता कायमै, रास्वपालाई पछ्याउंदै माओवादी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।