अवैध बाटो हुदै पोर्चुगल छिर्न खोज्ने नेपाली युवतीको स्लोभानियाको जंगलमा मृत्यु

0
82

माल्टा : वैदेशिक रोजगारका लागि युरोपेली मुलुक प्रवेश गर्ने प्रयासमा रहेकी एक नेपाली युवतीको स्लोभानियाको जंगलमा मृत्यु भएको छ । क्रोएसियाबाट पोर्चुगल छिर्ने क्रममा सिन्धुपाल्चोक इन्द्रावती–८की सञ्जिता गोतामेको निधन भएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्रोएसियाले जनाएको छ । उक्त संस्थाका अनुसार गोतमेको गत मंगलबार निधन भएको हो । उनको शवलाई नेपाल पठाउने तयारी भइरहेको छ ।

पछिल्ला केही महिनायता क्रोएसियाबाट पोर्चुगल लगायत युरोपियन मुलुकहरुमा जाने क्रम बढेको र अधिकांश नेपालीहरु राहदानी फ्याँकेर र बिचौलियालाई बुझाएर अवैधानिक बाटो हुँदै पोर्चुगल लगायतका मुलुकहरुमा छिर्ने गरिरहेको बताइएको छ । क्रोएसिया गएकी छोरी युरोपेली मुलुक पोर्चुगल छिर्ने क्रममा जंगलमै मृत्यु भएको खबर सुन्दा उनका बुबा वासुदेवलाई अहिले पनि विश्वास लागेको छैन । छोरी त क्रोएसिया गएकी हो तर स्लोभानियाको जंगलमा कसरी पुगी त भन्ने उनमा प्रश्न उब्जिएको छ ।

सञ्जितासँग परिवारको मंसिर – ३ गतेसम्म फोनमा कुराकानी भएको थियो । ‘सञ्जिताले मसँग कुरा गर्दा अर्को देश जाने कुरा नै थिएन । एक्कासी मृत्युको खबर आएपछि मात्र अर्को देश गएको थाहा भएको वासुदेवले जानकारी दिए । छोरीको मृत्यु भएको खबर पाएपछि अहिले वासुदेव राम्रोसँग बोल्न पनि सक्दैनन् । सिन्धुपाल्चोकको अड्चले गाउँबाट छोरा–छोरी पढाउन सात वर्षअघि गोतामेको परिवार काठमाडौं आएको थियो ।

काठमाडौंको नारायरणटारमा किराना पसल गरेर गोतामेले चार जना छोरा–छोरी पढाउँदै थिए । कक्षा १२ सम्म पढेकी उनकी जेठी छोरी सञ्जिता वैदेशिक रोजगारीका लागि युरोप जाने भइन् । उनले जसोतसो १३ लाख रुपैयाँ खर्च गरेर छोरीलाई क्रोएसिया पठाएका थिए ।

नेपालबाट श्रम स्वीकृति लिएर क्रोएसिया गएकी सञ्जिताले राहदानी नै फ्याँकेर पोर्चुगल छिर्न खोजेको खबर उनको मृत्युपछि पाएको उनका बाबु वासुदेवले जानकारी दिए । अर्को देश जान खोज्दा छोरीले कति बिपत्‌ भोगी होला, अनि कति कष्टका साथ मृत्यु भयो होला ? अहिले यही पिरले मन पोल्ने गरेको वासुदेव बताउँछन् । गरिबीकै कारण विदेशिएकी छोरीको कुकुर मराई भएको गुनासो उनले गरे । फ्रान्सस्थित नेपाली दूतावासले राहदानी त्यागेर जिउ ज्यान नै जोखिममा राखेर अवैधानिकरुपमा यात्रा गरी कुनैपनि मुलुकमा प्रवेश नगर्न नेपालीहरुमा आग्रह गरेको छ ।

https://www.ujyaalonepalnews.com/archives/25106

Previous articleप्रहरीको राइफल पनि लुटियो, हतियार र लुटेराको खोजी हुँदै
Next articleसमानुपातिक मतगणनाः २५ लाख मत कटाउँदै एमालेको अग्रता कायमै, रास्वपालाई पछ्याउंदै माओवादी