उज्यालो नेपाल- समानुपातिकतर्फ हालसम्मको मतगणना अनुसार नेकपा एमालेले अग्रता कायमै राखेको छ। एक करोड ४२ हजार मत गणना गर्दा एमालेले २७ लाख ८८ हजार मत प्राप्त गरेको छ । उता एमालेबाट चोईटिएर बनेको एकिकृत समाजवादीले भने अपेक्षाकृत मत प्राप्त गर्न सकेको छैन ।
पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो दल दोश्रो दलको रुपमा स्थापित हुने बताईरहँदा उनको पार्टी राष्ट्रिय पार्टी समेत नबन्ने लगभग पक्का भएको छ । नेपालले चुनाव अगाडीका सार्वजनिक कार्यक्रमहरुमा कांग्रेस पहिलो दल, आफ्नो पार्टी दोश्रो दल, एकिकृत माओवादी तेश्रो दल र नेकपा एमाले चौथो दल बन्ने बताएका थिए ।
देशैभरी बाट निराशाजनक मत प्राप्त गरिरहेको समाजवादीले चितवनमा पनि सोचेजस्तो मत ल्याउन सकेन । चितवनमा समानुपातिक तर्फ उसले जम्मा ५,२१९ मत ल्याएको छ । चितवनको ३ वटै निर्वाचन क्षेत्रमा खसेको मतको कुल सदर मत २,६२,१७५ हो । समाजवादीले कुल सदर मतको १.९९ प्रतिशत मत प्राप्त गरेको छ ।

यस्तै क्षेत्रगत रुपमा हेर्दा क्षेत्र नं. १ मा खसेको मतको कुल सदर मत ९२१९७ हो । समाजवादीले क्षेत्र नं. १ मा ३५१८ मत प्राप्त गरेको छ । यसरी हेर्दा त्यँहा उसले कुल सदर मतको ३.८२ प्रतिशत मत प्राप्त गरेको देखिन्छ । त्यसैगरी क्षेत्र नं. २ मा खसेको मतको कुल सदर मत ७९५८६ हो । त्यँहा समाजवादीले ६१६ मत प्राप्त गरेको छ । त्यस क्षेत्रमा समाजवादीले कुल मतको ०.७८ प्रतिशत मत प्राप्त गरेको छ ।
उता क्षेत्र नं. ३ मा खसेको मतको कुल सदर मत ९०३९० हो । यो क्षेत्रमा समाजवादीले १०८५ मत प्राप्त गरेको छ । यसरी हेर्दा उसले यो क्षेत्र बाट १.२ प्रतिशत मत प्राप्त गरेको छ । यसरी हेर्दा चितवनको अन्य क्षेत्रको तुलनामा क्षेत्र नं. १ मा समाजवादी केहि बलियो देखिएको छ । यो क्षेत्र समाजवादीका पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनालको क्षेत्र हो । खनाल प्रदेशसभा सदस्य पदमा दोश्रोपटक निर्वाचित भएका छन् ।
https://ujyaalonepalnews.com/archives/25165


