वडा कार्यालयको सहयोगमा भद्रकाली माविका विद्यार्थीलाई नृत्य प्रशिक्षण

उज्यालो नेपाल- रत्ननगरको भद्रकाली माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई नृत्य प्रशिक्षण दिईएको छ । विद्यालयमा कक्षा ६ देखि ९ सम्म अध्ययनरत विद्यार्थी मध्ये बाट ५५ जनालाई नृत्य प्रशिक्षण दिईएको हो । वडा नं. १६ को आर्थिक सहयोगमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको विद्यालयका प्रधानाध्यापक तिलक कुँवरले जानकारी दिए ।

विद्यार्थीहरुलाई रत्ननगर कला मन्दिरका नृत्य प्रशिक्षक सुनिल रिमालले ६० दिन प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रमको आज एक समारोहका विच समापन गरिएको छ । समारोहमा विद्यार्थीहरुले प्रतियोगितात्मक नृत्य समेत प्रस्तुत गरेका थिए । समापन समारोहमा बोल्दै प्रमुख अतिथि रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदीले रत्ननगरको सामुदायिक विद्यालयमा सुरु भएको यस्तो कार्यक्रमले विद्यार्थीहरुमा सकारात्मक उर्जा प्रदान गर्ने बताए ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि वडाध्यक्ष हेमराज थापाले सामुदायिक विद्यालयमा अतिरिक्त क्रियाकलाप कम हुने गरेकोले विद्यार्थी र अभिभावकलाई आकर्षित गर्ने उदेश्यले नृत्य प्रशिक्षण गराउन शुरु गरिएको बताए । रत्ननगरका सामुदायिक विद्यालयमा स्थानिय सरकारको लगानीमा यस्तो कार्यक्रम पहिलोपटक सुरु गरिएको दावी गर्दै थापाले भद्रकाली स्कुललाई नमुना विद्यालय बनाउने आफ्नो योजना अनुरुप विभिन्न कार्यक्रममा लगानी थप गर्दै लागेको जानकारी दिए ।

कार्यक्रममा वडा सदस्यहरु चिजकुमार श्रेष्ठ र ज्ञानेन्द्र रेग्मी, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष विष्णुप्रसाद अर्याल, शिक्षक-अभिभावक संघका सदस्य देव राना, मेलमिलाप समिती सदस्य रामचन्द्र दवाडी लगायतको उपस्थिति रहेको थियो । राजनीतिक लुछाचुँडीका कारण शैक्षिक गुणस्तर खस्किएपछी जर्जर बनेको विद्यालय पछिल्लो समय जुर्मुराउन थालेको छ ।

https://ujyaalonepalnews.com/archives/25263

Previous articleबाबुले पाँच महिने छोरीलाई भुईँमा पछार्दा बालिकाको ज्यान गयो
Next articleया’तना दिएर कलेजले निष्कासन गरेपछि ललितपुरमा एक किशोरीले प्राण त्यागिन्
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।