निगमले घटायो इन्धनको मूल्य‚ पेट्रोल प्रतिलिटर १७८ रूपैयाँ

काठमाडौं : भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३/३ रूपैयाँ मूल्य घटाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ रूपैयाँ र डिजेल/मट्टितेलको प्रतिलिटर मूल्य १७५ रूपैयाँ पर्नेछ।

यसअघि पेट्रोल प्रतिलिटरको १८१ रूपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर १७८ रूपैयाँ थियो। हवाई इन्धन र एलपी ग्यासको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन। भारतीय आयल कर्पोरेशन (आइओसी) ले इन्धनको मूल्य घटाएर नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिए।

आइओसीले शुक्रबार पठाएको मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ६ रूपैयाँ ९० पैसा, डिजेलमा १२ रूपैयाँ ३१ पैसा र हवाई इन्धनमा १० रूपैयाँ ६१ पैसा घटेर आएको थियो। यसअघि मंसिर १६ मा पनि आइओसीले डिजेल प्रतिटिलर ११ रूपैयाँ, पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ र हवाई इन्धनमा प्रतिलिटर ६ रूपैयाँ मूल्य घटाएर पठाएको थियो तर नेपाल आयल निगमले कुनै पनि इन्धनको मूल्य घटाएको थिएन।

जबकि आइओसीले इन्धनको मूल्य बढाएर पठाउनसाथ निगमले स्वचालित मूल्य भन्दै इन्धनको मूल्य तत्कालै बढाउँदै आएको छ।

https://ujyaalonepalnews.com/archives/25380

Previous articleघरजग्गा लिलामीका सूचना बढे, कारोबारमा असाधारण मन्दी
Next articleरोट्रयाक्ट क्लबद्वारा न्यानो कपडा वितरण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।