
काठमाडौं – चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणपछि भारत सरकारले चिनियाँ नागरिकलाई भारतमा प्रवेश निषेध गरेको छ ।
भारतको केन्द्र सरकारले स्थलमार्ग हुँदै भारतमा भित्रिने चिनियाँ नागरिकको प्रवेशमा प्रतिबन्ध लगाएको छ ।
भारत सरकारले देशभर परिपत्र गर्दै स्थलमार्ग हुँदै भित्रिने चिनियाँलाई भिसा वा आगमनको अनुमति नदिन मातहातका अध्यागमन कार्यालयलाई निर्देशन दिएको जनाइएको छ ।
कोरोना भाइरसका कारण स्थलमार्ग हुँदै भारतमा भित्रिने चिनियाँ नागरिकको आगमनमा प्रतिबन्ध लगाइएको भारतको महाराजगञ्ज जिल्लाको सोनौली प्रहरी चौकीका प्रमुख एसआई अशोक कुमारले जनाएका छन् ।
‘नेपालबाट स्थलमार्ग हुँदै आउने चिनियाँ पर्यटकको आगमन प्रतिबन्ध लगाइएको छ,’ उनले भने, ‘अर्को आदेश नआएसम्म प्रतिबन्ध जारी रहनेछ ।’

प्रतिबन्धको निर्णयअघि आगमनको अनुमति लिइसकेका चिनियाँ नागरिकलाई भने भारतमा रोक लगाइने छैन । अन्य नयाँ चिनियाँ नागरिकको हकमा भने भिसा वा आगमनको अनुमति नदिइने जनाइएको छ ।
