Home Uncategorized सरकार गठनको लागी ओली प्रचण्ड र रवि वार्तामा

सरकार गठनको लागी ओली प्रचण्ड र रवि वार्तामा

काठमाडौँ — प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाहेक दलहरुले गठबन्धन गरेर नयाँ सरकार गठनको प्रयास थालेका छन् । नयाँ सरकार गठनमा शक्ति बाँडफाँटका विषयमा दलहरुबीच भागबन्डा नमिल्दा कांग्रेस नेतृत्वको गठबन्धन संकटमा परेको छ भने नेकपा एमालेले माओवादी केन्द्रसहित अन्य दलहरुसँग मिलेर नयाँ गठबन्धन निर्माणको प्रयास थालेको छ । बालुवाटारबाट बाहिरिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेका छन् ।

दाहाल पुग्नुअगावै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि बालकोट पुगेका थिए । अहिले लिङ्देन निस्किएका छन् भने जनता समाजवादी पार्टीका नेता अशोककुमार राई पनि बालकोट पुगेका छन् । एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष दाहाल, रास्वपाका अध्यक्ष लामिछाने र जसपाका नेता राईसहित शीर्ष नेताहरुबीच छलफल भइरहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम आइतबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी पेस गर्न समय दिएकी छिन् । दुई वा सोभन्दा दलहरुबीच गठबन्धन गरेर बहुमतको सरकारमा दाबी पेस गर्न दिइएको समयसीमा सकिनै लाग्दा दलहरुले प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल कांग्रेसलाई बाहिर राखेर फरक समीकरण बनाउने कसरत थालेका हुन् । हाल प्रतिनिधिसभा (२७३)मा सरकार गठनकालागि १३७ सिट आवश्यक पर्छ ।

कांग्रेस (८९) लाई बाहिर राखेर एमाले (७८), माओवादी केन्द्र (३२), राष्ट्रिय स्वतन्त्र पार्टी (२०) र राष्ट्रिय प्रजातन्त्र पार्टी (१४) मिल्दा १४४ सिट पुग्छ । त्यसमा जसपा र नेकपा एकीकृत समाजवादी थपिए १६६ सिट पुग्नेछ । कांग्रेसलाई बाहिर राखेर सरकार गठन गर्दा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले पाँच दलको गठबन्धनलाई पहिलो प्राथमिकतामा राखेर सरकार निर्माणको प्रयास थालेका हुन् ।

https://ujyaalonepalnews.com/archives/25510

Previous articleवैदेशिक राजेगारीको सिलसिलामा विदेश जान लागेको भन्दै फोटो भाइरल को हुन यी दुई बालक?
Next articleअन्ततः सरकार प्रचण्डको पोल्टामा, माओवादीलाई प्रधानमन्त्री दिन एमाले तयार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।