रत्ननगर- रत्ननगर १६ पिठुवामा रहेको पिठुवा दुग्ध उत्पादक सहकारी संस्थाको ३० औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । सहकारीको सभाहलमा सम्पन्न कार्यक्रममा वडाध्यक्ष हेमराज थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सहकारीका अध्यक्ष बद्रीप्रसाद अर्यालले नीति तथा कार्यक्रम, कोषाध्यक्ष कुश्मा कुमारी घिमिरेको तर्फबाट व्यवस्थापक गुणराज रेग्मीले संस्थाको आयव्यय प्रतिवेदन र लेखा संयोजक नारायण अधिकारीले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।


कार्यक्रममा सहकारीमा दुध विक्री गर्ने उत्कृष्ट ७ जना कृषकहरुलाई पुरस्कृत समेत गरिएको थियो । गत आर्थिक वर्षमा धेरै दुध विक्री गर्ने शिवकुमारी बजगाई, गुणराज रेग्मी, मनिष जोशी, गोकुल कहत र सिता ढकाल पुरस्कृत भएका हुन् । उनीहरुले क्रमश; ७५४२०, ४७३३३, २७२००, १८४२०, १७६२६ लिटर दुध विक्री गरेका थिए । त्यस्तै वर्षैभरी गुणस्तरिय दुध विक्री गर्ने भगवती कार्की र दुधको क्यान सफा राख्ने दिपक चौलागाईलाई पनि पुरस्कृत गरिएको छ ।

आर्थिक बर्ष २०७८÷७९ मा कुल ७ करोड ५९ लाख १३ हजार ७९५ आम्दानी गरेको सो सहकारीले ७ करोड ५८ लाख १० हजार २७९ खर्च कटाएर १ लाख ३ हजार ५१६ रुपैया मुनाफा गरेको जनाएको छ । सहकारीले आफ्ना शेयर सदस्यहरुलाई १६ प्रतिशतको दरले लाभांस समेत वितरण गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष हेमराज थापाले किसानको सुखदुखमा आफु सधैँ साथमा रहेको बताए । विशिष्ट अतिथि जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगालेले स्थानिय सरकारले किसानलाई कुटोकोदालो बाड्न छोडेर उत्पादन बढाउन तर्फ लाग्नुपर्ने बताए । रत्ननगर नगरपालिकालाई पशु एम्बुलेन्सको व्यवस्था गर्न आग्रह गर्दै बगालेले किसान बलियो नभएसम्म देशको अर्थतन्त्र बलियो नहुने दाबि गरे । अर्को एक प्रसंगमा बगालेले पशुको बिमा गर्न सजिलो तर भुक्तानी लिने बेलामा किसानले धेरै हैरानी खेप्नुपरिरहेको उल्लेख गरे । सबैजना किसानको हितमा काम गर्छु भन्छन् तर एकआपसमा तालमेल नमिल्दा किसानको समस्या जस्ताको तस्तै रहेको उनको भनाई छ ।

संस्थाका अध्यक्ष अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा वडा न. १४ का वडाध्यक्ष होमनाथ रानाभाट, वडासदस्यहरु चिजकुमार श्रेष्ठ, ज्ञानेन्द्र रेग्मी, सरिता गुरुङ, रत्ननगर पशुपंक्षी शाखा प्रमुख शालिकराम पौडेल, पिठुवा सिंचाईका अध्यक्ष पौषप्रसाद पोखरेल, भद्रकाली दुग्ध उत्पादक सहकारीका अध्यक्ष युवराज थापा, उप-आयोजना संयोजक गंगाराम गुरुङ. लगायतको उपस्थिति थियो । संस्थाका सचिव रामचन्द्र दुवाडीले सञ्चालन गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष बैकुण्ठ अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।

https://ujyaalonepalnews.com/archives/25724


