पोखरा विमान दुर्घटना पछि मन्त्रिपरिषद् बैठक: शोकमा भोलि सार्वजनिक बिदा

काठमाडौँ — पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले माघ २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले एक दिन शोक मनाउने निर्णय गरेको जानकारी दिए । आकस्मिक रूपमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबारे मन्त्री पौडेलले भने, ‘घटनाका प्रति गहिरो दुःख व्यक्त गरेको छ ।

दिवंगतहरूप्रति श्रदाञ्जली र निधन भएका व्यक्तिको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । शोकपूर्ण घटनाका सन्दर्भमा माघ २ गते शोक मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।’ मन्त्रिपरिषद्को बैठकले उक्त घटनाको कारण जाँच गर्नका लागि पाँच सदस्यीय जाँच समिति पनि गठन गरेको छ ।

पोखराको सेती नदीको खोँचमा आज विहान भएको विमान दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा ल्याइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिए । शवहरू अस्पताल लगिएसँगै दिवङ्गत यात्रुका परिवारजनले अस्पताल परिसर भरिएको छ ।

अस्पताल परिसरमा दिवङ्गत यात्रुका परिवारजन शोकाकुल अवस्थामा छन् । शवहरू अधिकांशः पहिचान गर्न नसकिने अवस्थामा रहेको जनाइएको छ । दिउँसो २:१५ बजेसम्म एक बच्चासहित ३० जनाको शव अस्पताल ल्याइएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा. डा. भरतबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार हालसम्म मृतकको शव पहिचान भइसकेको छैन ।

https://ujyaalonepalnews.com/archives/25870

Previous articleउद्धारकर्ताको बयान : अरुलाई पनि निकाल्न आउनुभन्दा कोही आएनन् सबै भिडियो बनाएर बसे
Next articleहामी जाँदा भिडभाड बढ्छ ऊद्धारमा बाधा पर्छ भनेर पोखरा नजाने भयौँ : गृहमन्त्री लामिछाने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।