थोत्रो जहाज भनेर हल्ला गर्ने नबुझ्ने हुन् , जहाज कहिल्यै पुरानो हुँदैन -विज्ञ

काठमाडौं- जब जहाज दुर्घटना हुन्छ तब जहाज यति वर्ष पुरानो रहेछ भनेर चर्चा सुरु हुन्छ। जहाज दर्ताको समयलाई लिएर बुढो जहाज भन्ने विषय चर्चामा आउने गरेको सुनिन्छ। समाजिक सञ्जाल, उड्डयन क्षेत्र नै नबुझेका विज्ञ-बुद्धिजिवी वर्ग, सांसदलगायत सबैले नेपाल आउने सबै जहाज सेकेन्ड ह्यान्ड हुने हुँदा दुर्घटना भएको बताउँदै आएका छन्। नेपालमा मात्रै नभएर यो बहस विश्वभर नै हुने गरेको छ। खासगरी जहाज उत्पादन नगर्ने मुलुकहरू विशेषगरी एसियाली मुलुकहरूमा अझ बढी जहाज पुरानो हुने कि नहुने भन्ने विषयको बहस हुने गरेको छ।

संसारभरका हवाई दुर्घटनासम्बन्धी अध्ययन र रिपोर्टले जहाज पुरानो हुँदैन भनेर भनेता पनि दुर्घटनसँगै जहाजको आयु जोडिन्छ। नेपालमै पनि वर्षौंसम्म हवाई क्षेत्रमा बसेर काम गरेका विज्ञहरू जहाज पुरानो नहुने भनेर बताइरहेका छन्। त्यसको पाटपूर्जाको निश्चित आयु सकिएसँगै फेर्ने र बिग्रिएका बनाउने हुँदा जहाजको आयुका सम्बन्धमा दर्ताको समयको मितिअनुसार हेर्न नहुने विज्ञहरू बताउँछन्।

किन नेपालमा जहाज दुर्घटनापछि फेरि जहाज पुरानो भनेर प्रचार हुन्छ? यसमा प्रचार मात्रै गर्ने काम भएको तर जहाज पुरानो भएर सुरक्षामा चुनौती नहुने तर्क विज्ञहरूले गर्दछन्। यस्तै चर्चा फेरि नेपालमा हिजो काठमाडौँ बाट पोखरा जाँदै गरेको यति एअरलाइन्सको विमान दुर्घटनामा परेपछि भयो।

जसमा चालक दलका ४ सदस्यसहित ६८ जना यात्रीको निधन भयो। जसले पुनः पहाडी क्षेत्रमा हवाई उडान गर्ने यात्रुहरू त्रासमा छन्। नेपाल हिमाल, पहाड र तराईका क्षेत्रमा बाँडिएकाले पनि मौसम यस्तै भइहाल्छ भन्न सकिहाल्ने अवस्था छैन। पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटना आलो र प्रतिकात्मक दुर्घटना हो। यसअघि पनि धेरै विमानहरू प्रतिकुल मौसम र प्राविधिक कारण दुर्घटना भएका छन्।

सरकारले घटनाको अनुसन्धानको लागि उच्चस्तरीय छानबिन समिति बनाएको छ। अध्ययनले जहाज कस्तो अवस्थामा थियो? दुर्घटना किन भयो भन्ने निष्कर्ष निकाल्ने नै छ। संसारभरको अहिलेसम्मको अध्ययनले जहाज पुरानो भएर दुर्घटना भएको निष्कर्ष नआएको नेपाल नागरिक उड्डन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्चिव गौतम बताउँछन्। जहाज पुरानो हुँदैमा दुर्घटना नहुने गौतम बताउँछन्। ‘जहाजको रजिष्ट्रेशन पुरानो हुन्छ, तर जहाज बुढो हुँदैन’ पूर्व महानिर्देशक गौतमले भने।

जहाज दुर्घटना भएपछि मानवीय त्रुटी थियो वा मौसम बाधक थियो, ट्रेनिङको कमी थियो भन्ने बारेमा सरकारबाट विस्तृत अध्ययन गरेर दुर्घटना हुन नदिने पहल थाल्नु सरकारको कर्तव्य हो। नेपालमा १५ वर्षभन्दा पुरानो रजिस्टर भएको विमान ल्याउन नपाइने कानून बनेको र विमान पुरानो नहुने बरू त्यसको लाइफटाइम हुने गर्दछ।

‘सिंगो जहाज कहिले नि पुरानो हुँदैन, उत्पादन गर्ने कम्पनीले समेत पाट्सको मिति तोकेको हुन्छ,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले भने। ट्वीनटर जहाजको भाइकिङ कम्पनीले त अहिले जहाजको प्रोडक्सन कम्पनीहरूले पुरानोलाई नयाँ बनाउने गरेको समेत उनले बताए। ‘दर्ता मात्रै पुरानो हुने हो सबै पार्ट्स परिवर्तन गरेर नयाँ राखिएको हुन्छ,’ लामिछानेले भने।

विज्ञका अनुसार जहाज उडेपछि जहाज ययरवर्दी हुन्छ, नत्र जहाज उड्नै पाउँदैन। हरेक जहाजको फरक फरक लाइफ हुने भएकोले लाइफ सकिएको दिनबाट विमान चल्दैन।  पुरानो भएर दुर्घटना भएको भन्ने अहिलेसम्म अध्ययनमा नदेखिएको हवाई सुरक्षामा समेत लामो समय काम गरिसकेका सहसचिव लामिछाने बताउँछन्। नेपाल एयरलाइन्सको ३८ वर्षसम्म पुरानो विमान चल्दै आएको जनाइएको छ। आधा दर्जनभन्दा धेरै वायुयानहरू २० वर्षभन्दा पुराना छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ अनुसार नेपालमा वायुसेवा सञ्चालनको अनुमति दिने, वायुसेवा सञ्चालनसम्बन्धी अवस्था, मर्मत, आदि लगायतका मुख्य कार्यहरू नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्ने गर्दछ। सो ऐनमा गरिएको व्यवस्थाअनुसार विमानलाई नयाँ वा पुरानो भनिएको छैन। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला पनि विमान कहिल्यै पनि पुरानो नहुने बताउँछन्। ‘विमानको हरेक पार्टसहरूको आफ्नो मिति हुन्छ, जुनको मिति सकिएपछि परिवर्तन गर्नैपर्ने हुन्छ,’ प्रवक्ता निरौलाले भने। संसारमा अहिलेपनि ५० वर्षभन्दा पुराना विमानहरू उडिरहेको विज्ञहरूले बुझाइ छ।

‘कुनैपनि वायुयान बनेको आधारमा पुरानो हुँदैनन्, विमानको आयु वर्षमा नभइ दबाब चक्रमा मापन गरिन्छ’ निरौलाले भने। विमानको आयु निर्धारण गर्ने भएकोले सामान्यतया टेकअफ र ल्यान्डिङ साइकलमा आधारित हुन्छ। नेपालमा वायुयानहरूको अवस्थाको बारेमा नियमित चेकजाँच भइरहेको हुन्छ। प्रत्येक वर्ष नियामक निकायले जहाजहरूको चेकजाँच गरेर एओसी नवीकरण गर्ने गरेको छ।

जहाजको प्रत्येक पार्ट्सको उमेर निश्चित गरिएको हुन्छ। इन्जिनको साइकल सकिएपछि पनि नयाँ फेर्नै पर्ने हुन्छ। जुन उत्पादक कम्पनीले नै तोकिदिएको हुनछ। सबै पार्ट्सको मिति हुने भएकोले पूरा जहाजको उमेर निर्धारण गर्नु जटिल काम भएको हवाई विज्ञहरूको बुझाइ छ। बोइङको पाटपुर्जाको समय ३ सय घण्टा हुन्छ भने एयरबसको सामानको १ सय २० घण्टामात्रै हुन्छ। जहाजका हरेक पाटपुर्जाको यहीअनुसार प्रमाणपत्र हुन्छ। किनभने ती सबै पाटपुर्जाका आफ्नै आयु हुन्छन्। निश्चित समय उडेपछि ती पाटपुर्जाको पनि आयु सकिन्छ।

इन्जिन कति घण्टा उड्न सक्छ भन्ने सीमा निर्धारित हुन्छ। समय सीमा पूरा भएपछि त्यसलाई उडाइँदैन, पूर्ण जाँचपछि मर्मत (ओभरहल) गरिने प्राधिकरणका प्रवक्ता निरौला बताउँछन्। इन्जिनको सन्दर्भमा कुरा गर्दा बोइङको इन्जिनको समयसीमा ४५ सय देखि ५ हजार घण्टा हुन्छ भने एयरबसको ३५ सयदेखि ४ हजार घण्टासम्म हुन्छ। ट्वीनअटरको ल्याण्डिङ गियर १२ हजार घण्टा उडेपछि फेर्नुपर्छ।

त्यसपछि जहाजको इन्जिनको पनि ओभरहल गर्नुपर्छ। ओभरहल गरेर जहाजलाई नयाँ बनाइन्छ। इन्जिनमात्रै नभएर जहाजका सबै पाटपुर्जाको ओभरहल हुन्छ। जहाजको ओभरहल भए नभएको निगरानी हरेक देशका नागरिक उड्डयन प्राधिकरणले गर्छन्। प्राधिकरणलाई पनि अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) ले निगरानी गर्छ।

https://ujyaalonepalnews.com/archives/25931

Previous articleदुर्घटनाग्रस्त जहाजभित्रैबाट भईरहेको फेसबुक लाईभ भिडियोको सत्यता के हो ?
Next articleखैरहनी महोत्सवमा कलाकारको ओईरो राजु परियार र ज्योती मगरको विशेष प्रस्तुती रहने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।