ईन्सुरेन्सको पैसा कुम्ल्याउने लोभले आफ्नै गाडी बनाए खरानी

मानिसमा फरकफरक खालको लोभ हुन्छ । कसैलाई छिटै पैसा कमाएर धनी हुनुछ, कसैलाई प्रविधिको दुरुपयोग गरी धनी हुनुछ, कसैलाई झुटा कागजात बनाएर पेश गरी धनी हुनुछ ।

यस्तै एउटा घटना आज विहान बर्दियामा पनि घटेको छ । एक चालकले आफ्नै गाडीको बीमा रकम खानका लागि आफैँले आगो लगाएर गाडीलाई खरानी बनाएका छन् ।

मर्मतमा बढी पैसा लाग्ने भएकाले उनले यस्तो हर्कत गरेका पाइएको छ। विडम्बना उनका यो सबै कर्तुत खुलेपछि उनले बीमा रकम त पाएनन्, कानुनी कारवाहीको पनि सामना गर्नुपर्ने भएको छ ।

यसरी भयो घटना

घटना आज विहान अन्दाजी २ बजेको हो । बर्दियाको मधुवन नगरपालिका ४ बसन्तास्थित माचड चोकदेखि भुरिगाउँ जोड्ने पक्की सडक खण्डमा लु २ ख २०८४ नम्बरको सेतो गाडी आगलागी भयो । उक्त सूचना इलाका प्रहरी कार्यालय ढोढरी बर्दियामा प्राप्त भई तत्काल प्रहरी टोली खटिए घटनास्थल पुग्यो ।

घटनास्थलमा पुग्दा गाडीको पुरै भाग आगलागी भई पूर्ण रुपमा जलेर नष्ट भइसकेको थियो ।

त्यहाँ कुनै पनि व्यक्ति थिएनन् । सो घटनाको अनुसन्धान गर्ने क्रममा उक्त सवारी साधनको चालक बर्दिया मधुवन नगरपालिका २ गंगापटुवा बस्ने रामु चौधरी भन्ने पत्ता लाग्यो र ततकालै प्रहरीले नियन्त्रणमा लिइयो । उनले दिएको बयानले प्रहरी छाँगाबाट खसे जस्तो भयो ।

प्रहरीका अनुसार माघ २९ गते उक्त गाडी बिग्रिएकाले मर्मत गर्न ग्यारेजमा लगिएको थियो । तर त्यहाँ बढी रकम लाग्ने जानकारी आएपछि चालकले बनाउनुभन्दा बीमा दावी गर्नु बेस भनेर बीमा खाने मनसाय राखी राती गाडी लिएर हिँडे ।

त्यसपछि रातको २ बजे डिजल छर्की आगो लगाई घर गएका थिए । उक्त घटनामा थप अनुसन्धान भइरहेको बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मत बहादुर बोहराले बताए ।

 

https://ujyaalonepalnews.com/archives/26350

Previous articleसाउदीमा ३ वर्षदेखि बेपता श्रीमान् खोज्दै भौतारिएकी मैतिमाया
Next articleविवाह भएको दुई महिनामै कृष्णबहादुरले गरे श्रीमतीकाे हत्या
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।