टिकटक बनाउँदा नारायणीमा डुबेर बेपत्ता भईन् सुरज्ञा

0
81

भरतपुर । भरतपुर–१५ मा रहेको विश्वप्रकाश माविमा गत शनिबार बिहान कक्षा ८ को परीक्षा दिन स्कुल गएकी सुरज्ञा न्यौपाने (आरिस्मा) त्यो दिन दिउँसो अबेलासम्म घर फर्किनन् । भरतपुर–१५, जानकीचोकस्थित घरमा उनकी दिदी र भाइ सुरज्ञालाई कुरेर बसिरहे । सुरज्ञाकी आमा साउदी अरबबाट फर्केका आफ्ना श्रीमान् नारायण न्यौपानेलाई लिन काठमाडौँ गएकी थिइन् ।

विश्वप्रकाश माविले अन्तिम परीक्षाको तयारीका लागि साप्ताहिकरुपमा विभिन्न कक्षाहरुको आन्तरिक परीक्षा शनिबार पनि लिइरहेको छ । परीक्षा दिन शनिबार बिहान घरबाट हिँडेकी सुरज्ञा अबेलासम्म घर नफर्केपछि उनकी दिदीले साथीभाइलाई फोन लगाउन थालिन् ।

सुरज्ञाका मामा प्रकाश गैरेले भने, ‘साथीकहाँ गएकी भन्ने अड्कलबाजी गर्दैगर्दा गाउँमा सुरज्ञा टिकटक बनाउने क्रममा नारायणी नदीमा डुबेको खबर फैलियो । लगत्तै स्थानीय, प्रहरी सबैलाई खबर ग¥र्यौँ । घटनास्थल पुग्यौँ, उनीसँगै गएका साथीहरुले टिकटक बनाउँदाबनाउँदै नारायणी नदीमा डुबेर बेपत्ता भएको कुरा सुनाए ।’

सुरज्ञा आफूसँग पढ्ने ९ जना साथीसँग ज्ञानेश्वर सामुदायिक वननजिक नारायणी नदीको चट्टाने भँगालोमा टिकटक बनाउन गएकी थिइन् । ‘सुरज्ञासहितका एउटै कक्षाका केही साथीहरु परीक्षा दिएपछि घरमा नआई नारायणी नदीमा पौडी पनि खेल्ने र टिकटक पनि बनाउने भनेर गएको पाइयो’, मामा गैरेले भने, ‘उनीसँग मोबाइल थिएन, साथीहरुले घरबाट राम्रो मोबाइल ल्याएपछि सबैले मिलेर टिकटक बनाउने भन्दै नारायणी नदीमा पौडी खेल्न गएका रहेछन् । पौडी खेल्ने क्रममा टिकटकका लागि भिडियो खिच्दै गर्दा सुरज्ञा डुबेको डुब्यै भइछिन्, कस्तो दुःखद भयो ।’

चार वर्षपछि साउदीबाट आइतबार सुरज्ञाको बुबा घर फर्केका छन्, बाबुछोरीको भेट पनि हुन पाएको थिएन । घरमा सबैजना भावविह्वल भएका छन् । आफन्त र इष्टमित्र घरमा चिन्तित बुबाआमालाई सम्झाइरहेका छन् ।

नारायणी नदीमा पौडी खेलेर टिकटक बनाउन गएका सबै विश्वप्रकाशका कक्षा ८ का विद्यार्थी हुन् । कोही विद्यार्थी घर नआई र कोही घर आएर मोबाइल लिई टिकटक बनाउन नारायणी नदी गएका स्थानीय बताउँछन् । पौडी खेलेर टिकटक बनाउने क्रममा सुरज्ञा डुबेर बेपत्ता भएको प्रत्यक्षदर्शी विद्यार्थीलाई उद्धृत गर्दै सुरज्ञाका मामा पोमनारायण गौतमले भने ।

उनका अनुसार जाने टोलीमा ६ जना छात्रा र ४ जना छात्र थिए । प्रत्यक्षदर्शी विद्यार्थीको भनाइ उद्धृत गर्दै गौतमले भने, ‘टिकटक बनाउने क्रममा सुरज्ञासँगै अर्की एक छात्रा पनि डुबेकी रहिछिन्, उसलाई पौडी खेलिरहेको अर्को पुरूष साथीले तानेछ, तर सुरज्ञा तान्न नपाउँदै एकैछिनमा बेपत्ता भइछिन् ।’

छिमेकी करूणकान्त पौडेलका अनुसार सुरज्ञा मिलनसार र मिजासिलो थिइन्, सबैको आँखाको नानीजस्तै थिइन् । उनी नदीमा बेपत्ता भइन् भन्ने सुनेको र उक्त खबर झूटो साबित भइदिए हुन्थ्यो भन्ने लागेको उनले बताए ।

विश्वप्रकाश माविका विज्ञान शिक्षक गोविन्द दवाडीले परीक्षा सक्काएर घर पठाएका विद्यार्थी नारायणीकिनारमा टिकटक बनाउन गएको जानकारी घटना घटेपछि मात्र थाहा भएको बताए । उनले भने, ‘राम्रो नतिजा निकाल्न शुक्रबार र शनिबार विद्यालयले आन्तरिक परीक्षा लिन्छ, त्यो परीक्षा सकेपछि विद्यार्थी मिलेर टिकटक बनाउन गएको कुरा सुरज्ञा बेपत्ता भएपछि बल्ल थाहा भयो ।’ उनले यो घटना घटेपछि सुरज्ञासँग गएका र अन्य सबै विद्यार्थीलाई राखेर मनोपरामर्शसँगै सचेतना कार्यक्रम चलाइएको बताए ।

उनले भने, ‘सुरज्ञा मिहिनेती र सिपालु विद्यार्थी थिइन्, तर परीक्षा सकेपछि घर नआई टिकटक बनाउन गइन् र बेपत्ता भइन् भन्ने खबर सुन्दा दुःख लागिरहेको छ ।’ विद्यार्थीको समूह टिकटक बनाउन ज्ञानेश्वर सामुदायिक वनको गेटबाट छिरेका थिए, तर उनीहरुले सामुदायिक वनबाट प्रवेश अनुमति लिएका थिएनन् ।

डुबेर बेपत्ता भएकी सुरज्ञाको आइतबार दिनभर खोजी गरे पनि फेला पार्न नसकिएको नम्बर २ विपद् व्यवस्थापन गढअन्तर्गतको उद्धार गुल्म दियालो बंगलाले जनाएको छ । गुल्मका प्रमुख सेनानी मेजर पूर्णबहादुर थापाले १३ वर्षकी स्कुले नानी सुरज्ञा बेपत्ता भएको खबर पाउनासाथ गोताखोरबाट नारायणी नदीमा खोजी गरिएको बताए ।

उनले भने, ‘आइतबार ६ घन्टा गोताखोरको माध्यमबाट खोज्यौँ, ३२ फिटको गहिराइसम्म पुग्यौँ तर फेला पार्न सकिएन । विद्यार्थीले बताएअनुसार डुबेकै ठाउँको वरिपरि खोजी कार्यलाई जारी राख्नेछौँ ।’ उनका अनुसार घटनास्थलवरपर बढी हिलो र लेदो छ, चट्टान बढी छ जसका कारण खोज्न पनि जटिल भइरहेको छ । चितवन पोष्ट दैनिकमा खबर छ। 

https://www.ujyaalonepalnews.com/archives/26366

Previous articleविवाह भएको दुई महिनामै कृष्णबहादुरले गरे श्रीमतीकाे हत्या
Next articleपार्टीले कारबाही गर्ने भएपछी एमाले छोड्दै दुर्गा प्रसाईं