लघुवित्तले ऋणीको गाईबस्तु तान्ने र घरमा ताल्चा लगाउन बन्द गर्नुपर्छ

यो समाचार अडियोमा सुन्नुहोस् 

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले एउटै व्यक्तिले धेरै लघुवित्तबाट ऋण लिन नपाउने प्रावधान ल्याउने भएको छ । आज सोमवार आर्थिक पत्रकार समाज (सेजन) ले काठमाण्डौमा आयोजना गरेको सङ्कटमा लघुवित्त, कारण र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बौल्दै राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले यस्तो बताउनुभएको हो । उहाँले लघुवित्तका ३३ लाख बढी ऋणी भएकाले प्रत्येकको फाइल हेर्न नसक्ने भन्दै संस्थाले हेर्नुपर्ने बताउनुभयो ।

धेरै लघुवित्तमा सदस्य भएर एउटै व्यक्तिले सबैबाट ऋण लिएर समस्यामा परेको पाइएको भन्दै अब निर्देशिकामार्फत कडाइ गर्ने तयारी भइरहेको उहाँको भनाइ छ ।

कार्यकारी निर्देशक नेपालले लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ गरेमात्रै धेरै समस्या समाधान हुने उल्लेख गर्नुभयो । उहाँले वित्तीय साक्षरताको कमीले समेत ऋणीले लिएको ऋणको उपयोग हुन नसकेको बताउनुभयो । नेपालले लघुवित्त संस्थाका कर्मचारी बिहान १० बजेभन्दा अगाडि र बेलुका ११ बजेसम्म ग्राहकको घरमा गएर यातना दिने र गाईवस्तु तान्ने, घरमा चुकुल लगाइदिने काम तत्काल बन्द गर्न आग्रह गर्नुभयो ।

कार्यकारी निर्देशक नेपालले लघुवित्त खारेज नभएर देखिएका समस्या समाधान गरी परिमार्जन गर्दै लैजान आवश्यक रहेको बताउनुभयो । उहाँले पछिल्लो समय ५ देखि १० प्रतिशत लघुवित्त संस्थाहरूले खराब काम गरेको भन्दै करेक्शन गरिने बताउनुभयो । केही शेयरका खेलाडीहरू लघुवित्तमा प्रवेश गरेर लघुवित्तलाई बिगारेको उहाँको आरोप छ ।

उहाँले भन्नुभयो, ‘लघुवित्तमा ३३ लाख ऋणी रहेका छन् । उनीहरू प्रत्येकको फाइल हेर्न सक्दैन । त्यो लघुवित्तहरूले हेर्ने हो । राष्ट्र बैंकले एकै व्यक्ति तीन वटाभन्दा बढी संस्थामा संलग्न हुन नपाउने भनेर चाँडै निर्देशन जारी गर्ने प्रक्रियामा छ । लघुवित्त संस्थाहरूले बिहान १० बजेभन्दा अगाडि र बेलुका ११ बजेसम्म ग्राहकको घरमा गएर यातना दिने र गाईवस्तु तान्ने, घरमा चुकुल लगाइदिने काम गर्न हुँदैन ।

यस्ताे काम तत्काल अन्त्य गर्नुपर्छ । लघुवित्तहरूले धेरै राम्रो काम गरेका छन् तर एउटा नराम्रो काम हुँदा सबै काम ओझेलमा पर्छन् । सबै मिलेर समस्या समाधानको खोजी गर्नुपर्छ । लघुवित्तहरूले ३० वर्षसम्म गरेका योगदानलाई एउटा गल्तीमा बन्द गर्न सकिँदैन । लघुवित्तहरूका गल्ती, कमजोरीहरू सच्याउन आवश्यक छ । कुनै पनि लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याज लिएको भए हामीलाई जानकारी दिनुस् ।’

त्यस्तै माइक्रोफाइनान्स एसाेसिएशन नेपालका अध्यक्ष जगत पोखरेलले धेरै माइक्रोफाइनान्स भएकाले समस्या आएको बताउनुभयो । उहाँले नेपाल राष्ट्र बैंकले दिएको निर्देशनभित्र लघुवित्तहरू बसेर काम गर्नुपर्ने र पालना नगरे कारबाही गर्नुपर्ने बताउनुभयो । लघुवित्तको समस्या समाधान गरेर जान तयार रहेको उहाँकाे भनाइ छ ।

https://ujyaalonepalnews.com/archives/26455

Previous articleपार्टीले कारबाही गर्ने भएपछी एमाले छोड्दै दुर्गा प्रसाईं
Next articleचितवनमा ५३ किलो गाजा ओसारपसार गर्दैगर्दा नाबालक सहित दुई जना पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।