लघुवित्तले ऋणीको गाईबस्तु तान्ने र घरमा ताल्चा लगाउन बन्द गर्नुपर्छ

0
48

यो समाचार अडियोमा सुन्नुहोस् 

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले एउटै व्यक्तिले धेरै लघुवित्तबाट ऋण लिन नपाउने प्रावधान ल्याउने भएको छ । आज सोमवार आर्थिक पत्रकार समाज (सेजन) ले काठमाण्डौमा आयोजना गरेको सङ्कटमा लघुवित्त, कारण र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बौल्दै राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले यस्तो बताउनुभएको हो । उहाँले लघुवित्तका ३३ लाख बढी ऋणी भएकाले प्रत्येकको फाइल हेर्न नसक्ने भन्दै संस्थाले हेर्नुपर्ने बताउनुभयो ।

धेरै लघुवित्तमा सदस्य भएर एउटै व्यक्तिले सबैबाट ऋण लिएर समस्यामा परेको पाइएको भन्दै अब निर्देशिकामार्फत कडाइ गर्ने तयारी भइरहेको उहाँको भनाइ छ ।

कार्यकारी निर्देशक नेपालले लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ गरेमात्रै धेरै समस्या समाधान हुने उल्लेख गर्नुभयो । उहाँले वित्तीय साक्षरताको कमीले समेत ऋणीले लिएको ऋणको उपयोग हुन नसकेको बताउनुभयो । नेपालले लघुवित्त संस्थाका कर्मचारी बिहान १० बजेभन्दा अगाडि र बेलुका ११ बजेसम्म ग्राहकको घरमा गएर यातना दिने र गाईवस्तु तान्ने, घरमा चुकुल लगाइदिने काम तत्काल बन्द गर्न आग्रह गर्नुभयो ।

कार्यकारी निर्देशक नेपालले लघुवित्त खारेज नभएर देखिएका समस्या समाधान गरी परिमार्जन गर्दै लैजान आवश्यक रहेको बताउनुभयो । उहाँले पछिल्लो समय ५ देखि १० प्रतिशत लघुवित्त संस्थाहरूले खराब काम गरेको भन्दै करेक्शन गरिने बताउनुभयो । केही शेयरका खेलाडीहरू लघुवित्तमा प्रवेश गरेर लघुवित्तलाई बिगारेको उहाँको आरोप छ ।

उहाँले भन्नुभयो, ‘लघुवित्तमा ३३ लाख ऋणी रहेका छन् । उनीहरू प्रत्येकको फाइल हेर्न सक्दैन । त्यो लघुवित्तहरूले हेर्ने हो । राष्ट्र बैंकले एकै व्यक्ति तीन वटाभन्दा बढी संस्थामा संलग्न हुन नपाउने भनेर चाँडै निर्देशन जारी गर्ने प्रक्रियामा छ । लघुवित्त संस्थाहरूले बिहान १० बजेभन्दा अगाडि र बेलुका ११ बजेसम्म ग्राहकको घरमा गएर यातना दिने र गाईवस्तु तान्ने, घरमा चुकुल लगाइदिने काम गर्न हुँदैन ।

यस्ताे काम तत्काल अन्त्य गर्नुपर्छ । लघुवित्तहरूले धेरै राम्रो काम गरेका छन् तर एउटा नराम्रो काम हुँदा सबै काम ओझेलमा पर्छन् । सबै मिलेर समस्या समाधानको खोजी गर्नुपर्छ । लघुवित्तहरूले ३० वर्षसम्म गरेका योगदानलाई एउटा गल्तीमा बन्द गर्न सकिँदैन । लघुवित्तहरूका गल्ती, कमजोरीहरू सच्याउन आवश्यक छ । कुनै पनि लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याज लिएको भए हामीलाई जानकारी दिनुस् ।’

त्यस्तै माइक्रोफाइनान्स एसाेसिएशन नेपालका अध्यक्ष जगत पोखरेलले धेरै माइक्रोफाइनान्स भएकाले समस्या आएको बताउनुभयो । उहाँले नेपाल राष्ट्र बैंकले दिएको निर्देशनभित्र लघुवित्तहरू बसेर काम गर्नुपर्ने र पालना नगरे कारबाही गर्नुपर्ने बताउनुभयो । लघुवित्तको समस्या समाधान गरेर जान तयार रहेको उहाँकाे भनाइ छ ।

https://www.ujyaalonepalnews.com/archives/26455

Previous articleरत्ननगर वडा नं ३ मा विकासको काम धमाधम
Next articleजंगली हात्तीको आक्रमणबाट चितवनमा विदेशी पर्यटकको मृत्यु