बुढेसकालमा एक्लो भएपछी ८४ वर्षका वृद्ध कुलानन्दले विवाह गरे ( भिडियो)

यो समाचार अडियोमा सुन्नुहोस् 

गुल्मी — डेढ दशकदेखि एक्लिएका गुल्मीका ८४ वर्षका एक वृद्धले विवाह गरेका छन् । धुर्कोट–२ सुफलका कुलानन्द खनालले अर्घाखाँचीको शीतगंगा–१ की ६४ वर्षीया नारायणी पौडेलसँग जोडी बाँधेका हुन् ।

छोराछोरी भए पनि आफूलाई बुढेसकालमा एक्लै बस्नुपर्दा दुःख भएकाले विवाह गर्नुपरेको खनालको भनाइ छ । उनी छोरानाति संग छुट्टिएर बेग्लै बसेका छन् । पकाउन–खान र बिरामी पर्दा उपचारमा जान समस्या परेकाले साथी खोज्नुपरेको उनले बताए ।

‘छोराछोरी जागिरे छन्, नातिनातिना जागिरे छन् । श्रीमती बितेको १५ वर्ष भयो, आफ्नो जोडा बितेपछि एक्लैजस्तो, तातोपानी खान दिने कोही भएन,’ उनले भने, ‘दुःख परेपछि जोडा चाहिने रहेछ, त्यसैले विवाह गरें ।’ कुलानन्दसँग विवाह बन्धनमा बाँधिएकी नारायणी पनि श्रीमान् बितेपछि एक्लै थिइन् ।

‘छन त तीन छोरा, दुई छोरी छन् तर पछिल्ला दिनमा अलि दुःखैको दिन थियो,’ नारायणीले भनिन् । खनाल र पौडेल दुवैका छोरीको नेपालगन्जमा बिहेबारी भएको छ । छोरी भेट्न गएका बेला संयोगले आफूहरूको भेट भएको नारायणीले बताइन् । नेपालगन्जमा भएको परिचयमै एकआपसमा दुःख साटासाट भएको र विवाहका लागि मञ्जुर भएको कुलानन्दले बताए ।

‘उनलाई पनि मनको दुःख रहेछ, मलाई पनि मनको दुःख भयो, सहारा भएन,’ उनले भने, ‘दुई जनाकै दुःख मिलेपछि सँगै बनाउँ, खाउँ, बसौं, दुःखसुख बिसाउँ भनेर विवाह गर्‍यौं ।’ वृद्धावस्थाको विवाहले जोडी बन्दा दिनचर्या सहज भएको नारायणीले सुनाइन् । ‘मेरो अहिले विवाह गर्ने बेला त होइन, बेला, उमेरले गरेको व्यवहार होइन यो 

तर, धेरै–धेरै पीडा थियो, मनको पीडा,’ उनले भनिन्, ‘त्यही पीडाले गर्दा बाँच्नका लागि फेरि विवाह गरें । अहिले खुसी नै छु, पीडाबाट मुक्ति पाएँ ।’ तीन छोरालाई अंशबन्डा गरिदिएर आफूसँग जे–जति जिउनी बचेको छ, त्यसैमा खुसीसाथ बाँच्ने कुलानन्दले बताए ।

भिडियो

https://ujyaalonepalnews.com/archives/26539

Previous articleच्वास्स झोल मःमको चौथो शाखा रत्ननगरको टाँडीचोकमा
Next articleपिठुवाका २०० विद्यार्थीलाई ट्राफिक नियम र लागूऔषध न्यूनिकरण सम्वन्धी सचेतना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।