३३ लाख ठगेको आरोपमा चितवनकी पूर्व बैङ्कर सिर्जना पक्राउ

चितवन । चितवनको नारायणी डेभलपमेन्ट बैंकको पूर्वब्रान्च मेनेजर सिर्जना खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसुर मुद्दामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।
नारायणी डेभलपमेन्ट बैंकको भरतपुर ब्रान्चको मेनेजर पदबाट राजीनामा दिएकी खड्का काठमाडौँको कोटेश्वरबाट पक्राउ परेकी हुन् । खड्काले लक्ष्मण थापा क्षेत्रीलाई दिएको ३३ लाखको चेक बाउन्स भएको छ ।

भरतपुर महानगरपालिका स्थायी बसोबास भएका बैँकका सेवाग्राहीसँग बहाना बनाएर खड्काले रकम लिएको पीडितले बताए । भरतपुर ब्रान्चको मेनेजर खड्काले रकम ठगेको घटना बाहिरिएसँगै बैंकबाट राजीनामा दिएकी थिइन् । अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ अनुमति जारी भएसँगै राजीनामा दिएर उनी फरार भएकी हुन् ।

महोत्तरीको बर्दिबास नगरपालिका–५ घर भएकी खड्काले बैंकमा कारोबार गर्दै आएका लक्ष्मण थापा क्षेत्रीसँग २०७९ मंसिर २५ मा ३३ लाख लिइन् । भाइलाई अष्ट्रेलिया पठाउन ‘एक दिनका लागी स्टेटमेन्ट देखाउनु पर्ने भो’ भनेर आफूसँग ३३ लाख नगद लिएको पीडित क्षेत्रीले बताए । आफ्नो श्रीमान् विदेश भएको हुनाले तत्काल पैसा मगाउन समय लाग्ने कारण देखाएर उनले क्षेत्रीसँग पैसा मागिन् । पैसा लिएपछि उनी फरार भइन् ।

‘बैंक मेनेजरको विश्वासमा परेर मैले २०७९ मंसिर २५ मा ३३ लाख उहाँकै खातामा डिपोजिट गरिदिएको थिएँ’ क्षेत्रीले भने–‘बैंकबाट ऋण मिलाउन सहयोग गर्छु भनेर पैसा लिएपछि उहाँ सम्पर्क विहीन हुनुभयो ।’

जिल्ला प्रहरी परिसर काठमाडौँमा उनीविरुद्ध बैंकिङ कसुरमा मुद्दा दर्ता भएको छ । उच्च अदालत पाटनले उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । बैंक स्रोतकाअनुसार २०७९ पुस ३ मा ३१ वर्षीया खड्काले बैंकबाट राजीनामा दिएकी हुन् । पुस २५ मा उच्च अदालत पाटनले उनीविरुद्धपक्राउ पुर्जी जारी गरेको थियो ।

https://ujyaalonepalnews.com/archives/26763

Previous articleगौतमबुद्ध विमानस्थलबाट आजदेखि पुनः नियमित अन्तर्राष्ट्रिय उडान सुरु
Next articleचितवन राष्ट्रिय निकुञ्जमा भाले गैंडा मृत भेटियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।