निराजन घिमिरे, २६ फाल्गुन- चितवन कालिकाको पदमपुरमा रहेको भीमोदय नमुना माध्यमिक विद्यालयले आयोजना गरेको एकदिने शैक्षिक सामाग्री प्रदर्शनी भव्यताका साथ सम्पन्न भएको छ । कालिकाका मेयर विनोद रेग्मीले उद्घाटन गरेको कार्यक्रममा विद्यालयका विभिन्न तहका विद्यार्थीहरुले विभिन्न समुहमा रहेर शैक्षिक सामाग्रीहरु प्रदर्शन गरेका थिए ।
विद्यार्थीहरुलाई गणित शिक्षण, सामाजिक अध्ययन, कृषि बाली विज्ञान, भाषा शिक्षण, विज्ञान, बालविकास लगायतका विभिन्न सात समुहमा विभाजन गरिएको थियो । कृषि बाली विज्ञान प्रदर्शनीमा विद्यार्थीहरुले माटोको तह, गड्यौला मल बनाउने विधि, अत्याधुनिक कृषि फर्म, विउविजनहरुको प्रदर्शनी, बालीनालीमा लाग्ने किराहरुको नमुना लगायतको कलात्मक प्रस्तुती राखेका थिए ।
यस्तै विज्ञान प्रदर्शनीमा ‘रेन डिटेक्टर’, वाटर पम्प, ज्वालामुखी, धारामा पानी आएको सुचना दिने यन्त्र,रकेट, स्मार्ट शहरको नमुना लगायत प्रदर्शन गरेका थिए । त्यसैगरी गणित समुहका विद्यार्थीहरुले पाईथागोरस साध्य, सम्भाव्यता सम्वन्धी खेल र अनुमान, सहि सुत्र पत्ता लागेमा बत्ती बाल्ने र गलत भए नबल्ने यन्त्र र विभिन्न ज्यामितीय आकारहरुको नमुना प्रदर्शन गरेका थिए ।
प्रदर्शनीको अवलोकन गर्दै मेयर विनोद रेग्मीले रचनात्मक र सिर्जनात्मक ढंगका क्रियाकलाप प्रयोगात्मक रुपमा निर्माण गरी प्रस्तुत शैक्षिक प्रदर्शनीले विद्यार्थीहरुको बौद्विक क्षमता र ज्ञान, सिपको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । कितावको भारी बोकेर मात्र विद्यार्थीले ज्ञान हासिल नगर्ने भन्दै रेग्मीले अभिभावकहरुले पनि विद्यार्थीहरुलाई सिर्जनात्मक हुन अभिप्रेरित गर्नुपर्ने बताए ।
सिकाइको सशक्त माध्यम मानिएको प्रयोगात्मक शिक्षण प्रणालीलाई निरन्तरता दिन स्कुल तथा विद्यार्थीहरुले छोटो समयमा निकै नै मेहनत गरेको प्रधानाध्यापक ईन्द्रनाथ पौडेलले बताए । यस प्रकारको प्रदर्शनीले विद्यार्थीहरुबीच ज्ञान तथा सिप आदानप्रदान भई रचनात्मक सिर्जनसिलता वृद्धि हुने बताउँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत श्रेष्ठले आगामी दिनमा प्रदर्शनीहरुलाई थप प्राथमिकताका साथ अगाडी बढाउने बताए ।
विद्यालय परिसरमा आयोजना गरिएको सो प्रदर्शनीमा कालिकाका विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले अभिरुचीपूर्वक अवलोकन गरेको विद्यालयका शिक्षक सुवास विंडारीले जानकारी दिए ।
https://www.ujyaalonepalnews.com/archives/26782