चितवनमा ६ वर्षको भाले बाघ मृत भेटियो, आहारमा विष परेको आशंका

चितवन: कालिका नगरपालिका-७ स्थित उदयपुर सामुदायिक वनमा एउटा पाटे बाघ मृत अवस्थामा भेटिएको छ। सामुदायिक वनको क्षेत्रभित्र रहेको संरक्षित वन खण्डको केउरेनी घोल नजिकै शनिबार दिउँसो बाघ मृत भेटिएको हो। मृत बाघ अन्दाजी ६ वर्षको रहेको जिल्ला वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले बताए।

उक्त बाघको शनिबार नै पोस्टमर्टम गरिएको छ। ‘करिब १२ घण्टा अघि मरेको अनुमान डाक्टरहरूले गर्नुभयो। बाघको पेटभित्र बाख्राको अंग भेटिएको थियो। उसको मुख र मलद्वारबाट सेतो फिँज निस्किएको थियो। त्यसैले उसको आहारमा विष परेको हुनसक्ने प्रारम्भिक अनुमान छ,’ खनालले भने, ‘नमूना परीक्षणका लागि प्रयोगशालामा पठाएका छौं। दुई दिनमा रिपोर्ट आउँछ।’

नमूनालाई राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पनि पठाउन लागेको उनले बताए। शनिबार राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका चिकित्सकसहितको टोलीले बाघको पोस्टमर्टम गरेको थियो। नमूना परीक्षण चितवनमै पनि हुनेछ।

खनालका अनुसार पूर्व-पश्चिम राजमार्गदेखि उत्तरतर्फको जंगलमा १० वटाजति पाटे बाघ छन्। शनिबार मृत भेटिएको बाघ करिब २ महिना अघिदेखि उदयपुर सामुदायिक वनभित्र देखिएको उनले बताए।

https://ujyaalonepalnews.com/archives/26899

Previous articleरवि लामिछाने विरुद्ध राहदानी कसूर पुष्टि नहुने प्रहरीको निचोड
Next articleशहिदस्मृतिमा मतदान सुरु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।