रत्ननगर । इलाका प्रहरी कार्यालय रत्ननगरले चोरी भएका र हराएका मोवाइल फोन सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । विहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरी ११ जनालाई मोबाइल फोन हस्तान्तरण गरिएको हो ।
मोवाइल चोरी तथा हराएपछि सम्बन्ति व्यक्तिले दिएको निवेदनको आधारमा प्रहरीले खोजी गर्दा भेटिएका मोबाइल फोन हस्तान्तरण गरिएको हो ।
इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी अनिलकुमार खड्का र प्रहरी निरीक्षक दीपेन्द्र अधिकारीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेका थिए ।
भेटिएका १९ वटा मोबाइल मध्ये ११ वटा हस्तान्तरण गरिएको र ८ वटा मोवाइल अनुसन्धानमै रहेको डिएसपी खड्काले जानकारी दिए । मोबाइलको आइएमइआइ नम्बरको आधारमा ट्र्याक गरी चोरी तथा हराएका मोवाइल फेला पारिएको उनको भनाई छ ।
रत्ननगरबाट हराएका र चोरी भएका अधिकांश मोबाइल बाहिरी जिल्लामा फेला परेको डिएसपी खड्काले बताए ।
मोबाइल हस्तान्तरणसंगै प्रहरीले मोबाइल फोन सुरक्षाका विषयमा समेत नागरिकलाई प्रशिक्षण दिएको छ । प्रहरीले हराएको र चोरी भएको मोबाइल सजिलै फेला पार्न गर्नुपर्ने कामको विषयमा जानकारी गराएका प्रहरी निरीक्षक अधिकारीले बताए ।
https://ujyaalonepalnews.com/archives/26970


