विदाई गर्दै कक्षा १२ का विद्यार्थीले साथीको सर्टमा लेखे ‘ अब खाडीमा भेटौँला’

सामान्यतया विद्यालयको बिदाइ सन्देशमा भविष्यको शुभकामना दिइन्छ वा फेरि भेट्ने वाचा गरिन्छ। भक्तपुरको बागेश्वरी माविबाट बिदाइ हुँदै गरेका कक्षा १२ का एक विद्यार्थीले आफ्नो साथीको सर्टमा लेखेको सन्देश यतिबेला भाइरल बनेको छ, ‘खाडीमा भेटौंला।’

काभ्रेपलाञ्चोकको तिमाल घर भएका निराजन मैनालीले बुधबार विद्यालयमा आयोजित कक्षा १२ को बिदाइ कार्यक्रममा आफ्ना साथी निरज तामाङको पिठ्यूँमा ‘खाडीमा भेटौंला’ भन्ने सन्देश लेखेका हुन्। ‘साथीले मेरो सर्टमा जापानको यात्रा सफल रहोस् भनेर लेखे,’ मैनालीले भने, ‘तर मलाई त्यो विश्वास लागेन, त्यसैले खाडीमा भेटौंला भनेर उसको सर्टमा लेखें।’

‘पार्ट टाइम’ काम गरेर पढ्दै आएका मैनालीले आफूले योभन्दा बढी पढ्न नसक्ने बताए। ‘काम गर्दाको अनुभव र मुलुकको अवस्था देखेर यहाँ टिक्न सकिन्न भन्ने लाग्यो,’ उनले भने, ‘अब बाहिर जाने तयारीमा लाग्छु।’ सानो उमेरदेखि बैंकमा काम गर्ने सपना पालेका मैनालीले त्यो सपना पनि पूरा नहुने देखेर बाहिर जान लागेको सुनाए।

त्यस्तै धारणा राखे निरज तामाङले पनि। साथीले आफ्नो सर्टमा खाडीमा भेटौंला भनेर लेखे पनि पहिलो प्राथमिकता भनेको भाषा पढेर जापान अथवा कोरिया जाने रहेको उनले सुनाए। सिन्धुपाल्चोक बलेफीका निरजले सुरुमा पढ्ने क्रममा सफ्टवेयर इन्जिनियर बन्ने सपना पालेका थिए। ‘

सानामा देखेका सपना हराउँदै जाँदा रहेछन्,’ उनले भने, ‘अहिले त कसरी हुन्छ विदेश जाने भन्ने मनमा आएको छ।’ यहाँ बसेर पढाइलाई निरन्तरता दिन नसकिने भएपछि बाहिर जाने सोचले जितेको उनले सुनाए।

ललितपुर गोदावरीका विशन नगरकोटीको सपना वकिल बन्ने थियो। तर अहिले उनको सपना फेरिएको छ। उनी पनि वैदेशिक रोजगारीमा जाने तयारीमा छन्। साथीले सर्टमा कोरिया यात्राको सफलताको कामना गरेको छ,’ उनले भने, ‘सके कोरिया जोने हो, नसके खाडी मुलुक त छँदैछ।’ विदेश जाने रहरभन्दा पनि बाध्यता रहेको उनले बताए।

त्यस्तै रामेछापका राजन मानन्धर पनि १२ पछि विदेश जाने सोचमा रहेको सुनाउँछन्। उनको सर्टमा विशन नगरकोटीले ‘वैदेशिक यात्रा’को शुभकामना लेखेका हुन्। ‘मन लागे पनि नलागे पनि बिदेसिनु हाम्रो बाध्यता हो,’ मानन्धर भन्छन्, ‘त्यसैले बिदाइको समयमा सबैले सफल यात्राको शुभकामनालेखे।’

यी बिदाइ सन्देशले सामाजिक सञ्जालमा धेरैको मन छोएको छ। धेरैले यसलाई नेपाली समाजको तितो यथार्थता भनेका छन्। ‘यो प्लस टुपछि सबै विद्यार्थीको दिमागमा चल्ने तरंग हो,’ सामाजिक सञ्जालमा अजय श्रेष्ठले लेखेका छन्, ‘यो नेपालको दुःखद यथार्थता पनि हो।’

परिस्थितिमा फेरबदल नभए केही दिनमै उनीहरू पनि मुलुकबाट दैनिक बाहिरिने झन्डै २ हजार नेपालीको भिडमा मिसिनेछन्। मुलुकमा काम गर्ने वातावरण नहुँदा बाहिरिने भिड झनै बढ्नेछ। राजनीतिक अस्थिरताले काम गर्ने वातावरण खस्कँदै जानु, औद्योगिक वातावरण बन्न नसक्नु, सरकारी कामकाजमा ढिलासुस्ती हुनु, युवा स्वरोजगारबारे सरकार गम्भीर नहुनु लगायत कारणले बिदेसिने युवाको लर्कोमा कमी आउन सकेको छैन। वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांकमा फागुनमा मात्र कामको खोजीमा ६१ हजार ८४५ जना नेपाली बिदेसिएको देखिन्छ।

https://ujyaalonepalnews.com/archives/26977

Previous articleचोरी तथा हराएका मोबाईल फिर्ता गर्दै रत्ननगर प्रहरी
Next articleरत्ननगरमा वित्तीय साक्षरताकाे लागि प्रभातफेरी 
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।