कुँडो खुवाएको एक घन्टामा सितारामको गोठै मासियो

चितवन । चितवनको कालिका नगरपालिका–९ दोगाराका सिताराम थापाले पालेका सबै पशु मरेका छन् । आइतबार दिउँसो ३ बजेको समयमा पानी खुवाएपछि एक घण्टाभित्र सबै पशु मरेको कालिका नगरपालिकाका पशु सेवा शाखा प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार पानी खाने वित्तिकै पशुहरु काम्न थालेका थिए । त्यसको केहि बेरमै पशुहरु मरेका हुन् । पानीमै विष मिसिएको हुन सक्ने आशंका गरिएको उनले बताए । पशुको पोष्टमार्टम रिपोर्टबाट कारण नखुलेपछि नमुना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाउने तयारी भएको उनले बताए ।

‘बिहानदेखिको कुँढोमा धाराको पानी हालेर दिउँसो ३ बजेतिर सबै पशुलाई दिनुभएको रहेछ । त्यसको एक घण्टाभित्रै सबै पशु मरेछन् । कुनै रोगले त्यति छिटो पशु मर्दैन, पानीमा विष नै थियो कि भनेर नमुना परीक्षण गर्दैछौँ’, उनले भने ।

किसान थापाले पालेका एउटा ब्याउने भैंसी, एउटा ठूलो गाई, तीन माउ बाख्रा र दुई वटा खसि मरेका हुन् । पानी खाएपछि सबै पशुको पेट फुलेको थियो । त्यसपछि सबै पशु फिज काट्दै मरेका थिए । घटनाको बिषयमा प्रहरीले पनि अनुसन्धान गरिरहेको छ ।

https://ujyaalonepalnews.com/archives/27016

Previous articleहेडसरको हुटहुटीले सुधारिएको शान्ति माध्यमिक विद्यालय
Next articleकुटपिटको आरोपमा दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।