सरकारी तलब खाएर राजनीति गर्ने शिक्षक, कर्मचारी नेपालबाहेक अरू देशमा छैनन् : रविन्द्र मिश्र

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले सार्वजनिक विद्यालयका शिक्षकलाई राजनीति गर्नबाट रोक्न नसके देश रूपान्तरण सम्भव नरहेको दाबी गर्नुभएको छ ।

मङ्गलवार काठमाण्डाैमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष मिश्रले सरकारी तलब खाएर राजनीति गर्ने शिक्षक, कर्मचारी नेपालबाहेक कुनै पनि देशमा नरहेको बताउनुभयो । उहाँले सरकारी कार्यालयमा सात युनियनको बोर्ड झुन्ड्याएर, राजनीति गरेर शिक्षा प्रणालीले प्रगति गर्न नसक्ने स्पष्ट पार्नुभयो ।

वरिष्ठ उपाध्यक्ष मिश्रले बुर्जुवा शिक्षा भनेर भाषण गर्दै हिँड्ने नेताहरूले समेत आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउनु पीडाको विषय भएको बताउनुभयो । उहाँले विद्यालय, विश्वविद्यालयमा राजनीति नगर्न सबै राजनीतिक दलसँग आग्रह गर्नुभयो । उहाँले शिक्षामा राजनीतिककरण गर्नु जघन्य अपराध भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘संसारमा कुनैपनि यस्तो देश छैन, जहाँ सरकारी तलब खाएर, एउटा सरकारी कार्यालयमा सात वटा युनियनको बोर्ड झुन्ड्याएर, राजनीति गरेर शिक्षा प्रणालीले प्रगति गरेको स्थिति कतै पनि छैन । हामी जस्तोसुकै कानुन लिएर आउँ, त्यो कानुनले नै सार्वजनिक विद्यालयका शिक्षकलाई, सरकारी तलब खाने शिक्षकलाई हामीले राजनीतिबाट रोक्न सकेनौँ भने यो देशमा रूपान्तरण सम्भव छैन ।

हामी सार्वजनिक शिक्षा सुधारको कुरा गर्छाैँ तर हाम्रा छोराछोरीलाई सार्वजनिक विद्यालयमा राख्दैनौँ । देशमा स्कुलको विद्यार्थीलाई राप्रपा बनाएको छ, कांग्रेस बनाएको छ, कम्युनिस्ट बनाएको, प्राध्यापकलाई त्यही छ । म शिक्षाको राजनीतिककरणलाई जघन्य अपराध भन्छु ।’

वरिष्ठ उपाध्यक्ष मिश्रले देशमा सरकारी काम गर्ने कर्मचारीलाई राजनीति गराएर कर्मचारीतन्त्रमा प्रभाव पारेर देश सम्पन्न बन्न नसक्ने बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/27096

Previous articleरत्ननगरको बकुलहर चोकमा सवारी दुर्घटना, एकजनाको ज्यान गयो
Next articleपोखरा–१८ मा पुन: मतगणना गर्न उच्च अदालतले दियो आदेश
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।