Home Uncategorized ओमानमा बन्धक चितवनकी महिला तीन तलाबाट हामफालेर नेपाल आईपुगिन्

ओमानमा बन्धक चितवनकी महिला तीन तलाबाट हामफालेर नेपाल आईपुगिन्

ओमानमा करिब दुई महिनादेखि बन्धक बनाइएकी चितवनकी ४८ वर्षीया महिला सारी सहयोगले तेस्रो तलाबाट भाग्न सफल भएकी छिन्। उनको भाग्ने क्रममा खुट्टा भाँचिएको थियो भने अन्य शरीरका भागमा पनि चोटपटक लागेको थियो। उनी फागुनमा ओमान पुगेकी थिइन्। ओमान पुगेको केही दिनमै एजेन्टले उनीसँग भएको कागजातसहित मोबाइल पनि खोसिदियो र एउटा कोठामा बन्द गरिदिएको उनले बताइन्। त्यस बन्द कोठामा पन्जाबीसहित भारतीय ११ जना, नेपाली ५ र श्रीलंकन १ जना रहेको ती महिलाले जानकारी दिइन्। उनी करिब दुई महिनासम्म परिवारसँग सम्पर्कविहीन थिइन्।

बन्धक कोठाबाट सबैजना भाग्ने योजना थियो। तर त्यो असम्भव भयो। भारतीय महिलाले लगाएका तीनओटा सारी गाँसेर नेपाली ५ जना नै भाग्न सफल भएका थिए। भाग्ने क्रममा सारी फुस्किएर ती ४८ वर्षीया महिला लडेको हुँदा भारतीय र श्रीलंकन डराएर त्यही बन्द कोठामै रहेको ती महिलाको कथन छ।

‘सारी फुस्किएर लडेपछि चहलपहल गर्न सकिनँ। अरू देशका महिलाहरू म लड्दा चोटपटक लागेको देखेर त्रसित भई ओर्लिएनन्,’ उनी भन्छिन्, ‘चारजना नेपाली महिलाले मलाई जसोतसो घिसार्दै नेपाली राजदूतावास पुर्‍याए। नेपाली राजदूतावास पुगेको केही मिनेट हुँदै उक्त राजदूतावासले अस्पताल पुर्‍याएको थियो। खुट्टा भाँचिएर प्लास्टर गरेसँगै अन्य ठाउँमा चोटपटक पनि लागेको हुँदा एक महिना ओमनको अस्पतालमा बसेँ।’

नेपाली राजदूतावासले माइती नेपालसँग समन्वय गराएपछि माइती नेपालद्वारा टिकट काटेर वैशाख २२ गते स्वदेश फर्किएको उनले बताइन्। माइती नेपालको सहायताले आज आफ्नै देश उनी आएकी छिन्। ‘ओमनको बन्द कोठामै मर्छु जस्तै लाग्दै थियो। तिन तलाबाट झर्दा करिब एक तलासम्म सारीको पल्लोमा आइरहेकी थिएँ, तर सारी फुस्किएर लड्दा त्यही दिन जीवनको अन्तिम दिन लागेको थियो,’ उनले दुखेसो पोखिन्।

उनको ओमन पहिलो वैदेशिक रोजगार होइन। यसअघि २०६७ सालतिर पनि कुवेत केही वर्ष बसेर आएकी र पुनः वैदेशिक रोजगारीका लागि उनी साउदी अरेबियामा करिब ३ वर्ष बसेकी थिइन्। ती महिला गत वर्षको वैशाखमा पुनः कुवेत पुगेर ३/४ महिना नपुग्दै फर्किनु परेको हो। उनी भन्छिन्, ‘एजेन्टको सरसल्लाहमा एक वर्ष पहिले कुवेत गएकी थिएँ। तर त्यहाँ पुगेर थाहा भयो कि अब मलाई कुवेत आउन प्रतिबन्ध गरिएको रहेछ। केही महिना नपुग्दै कुवेत पुगेर फर्किनुपर्‍यो। अनि कुवेतबाट फर्किएको ११ महिनामा ओमन गएकी थिएँ। भाग्य रहेछ, बाँचेर आएँ।’

ती महिला फागुनमा ओमन पुगेलगत्तै नारकीय जीवन बिताइरहेकी थिइन्। सुगर पे्रसरको रोगी उनी एजेन्टले बन्दक बनाएपछि खाना दिनको एकपटक, त्यो पनि बासी खुवाउने गरेको ती महिलाले बताइन्। उनी २/४ वटा देश गए पनि सबै देशमा घरायसी काम नै गर्दै आएकी उनको कथन छ। ९ वर्षपहिले कुवेतमै हुँदा पतिको मृत्युपछि उनी केही समय देश आएकी र पुनः बिदेसिएकी थिइन्।

https://ujyaalonepalnews.com/archives/27242

Previous articleआफ्नै किरिया सकिएको भोलिपल्ट सुरज घरमा टुप्लुक्क
Next articleपोर्चुगल जाने सपिङ गर्न नारायणगढ हिँडेकी पदमपुरकी रुपा टिकौली जंगलमा मृत भेटिइन्
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।