Category: अर्थ

  • रत्ननगर महोत्सवको तयारी तीब्र: कृषि र पर्यटनलाई प्राथमिकता

    रत्ननगगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित टिकौलीचौरमा यही पौष २६ गतेबाट सुरु हुने रत्ननगर महोत्सव २०८० को तयारी तीब्र पारिएको छ ।

    रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको सो महोत्सवमा यस बर्ष कृषि उत्पादन र पर्यटन विकासलाई प्राथमिकता दिइएको छ ।

    रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सवको १२औं संस्करण पौष २६ गते उद्घाटन भएर माघ ८ गते सम्म चल्ने छ । संघले शुक्रबार सौराहामा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको उद्देश्य र तयारीको बारेमा जानकारी दिएको हो ।

    विगत दुई दशकदेखि प्रत्येक दुई दुई वर्षमा आयोजना हुने यस महोत्सवले समग्र जिल्ला तथा विशेष गरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार, व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादनलाई जोड दिइएको संघका अध्यक्ष तथा महोत्सव मुल व्यवस्थापन समितिका संयोजक शंकर गिरीले जानकारी दिए ।

    कोरोना महामारीको कारण सिर्जित स्वास्थ्य र आर्थिक संकटबाट तंग्रिन नभ्याउदै देशमा सुरु भएको चरम आर्थिक मन्दीले देशको औद्योगिक एबं व्यवसायिक क्षेत्र अभुतपूर्व संकटबाट गुज्रिरहेको भन्दै अध्यक्ष गिरीले महोत्सव मार्फत उद्योग, कृषि र पर्यटन मार्फत आर्थिक गतिविधिलाई चलायमान गराउन महोत्सव गरिएको बताए ।

    महोत्सव २०८० मा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ४५० स्टलहरु रहने छन् ।

    देशकै तेश्रो पर्यटकीय गन्तव्य स्थल चितवन सौराहाको मुलद्धार रत्ननगरमा हुने यस महोत्सवले विशेष सामाजिक एवं सांस्कृतिक महत्व बोकेको भन्दै अध्यक्ष गिरीले समग्र आर्थिक क्रियाकलापमा गतिशिलता ल्याउन, स्वदेशमा उत्पादित बस्तु तथा सेवाहरुको बजार पहिचान गरी नव व्यवसायी र व्यवसायिक क्षेत्रको प्रबद्र्धनलाई प्रोत्साहन गर्नुका साथै उद्योग एवं व्यापार प्रवद्र्धनको लागि स्थानीय तथा स्वदेशी औद्योगिक उत्पादनहरुको प्रदर्शन, प्रवद्र्धन, प्रचार प्रसारको लागि समेत त्यतिकै महत्व राख्ने बताए ।

    यस पटकको महोत्सवमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब २५ करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको छ ।

    चितवनवासीहरुले गौरव र पर्वको रुपमा मान्दै आएको रत्ननगर महोत्सव व्यापार र व्यवसायको जगतमा उत्कृष्ट र अनुपम नमुनाको रुपमा रहेको छ ।

    चितवन कृषि उत्पादनको हिसाबले अब्बल जिल्लाको रुपमा सावित हुँदै आएको छ । महोत्सवमा कृषि उत्पादनलाई जोड दिएका छौं ।

    महोत्सव परिसरमा बृहत व्यवसायिक कृषि प्रर्दशनी तथा मकैवाली विशेषमा मकैका नयां प्रविधि, मकैका परिकार, ताजा तरकारी, थोपा सिंचाई प्रविधि, केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसंगै चितवनमा प्रबल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिएको संघका बरिष्ट उपाध्यक्ष निराजन खनालले जानकारी दिए ।

    स्थानीय स्तरमा उत्पादित अन्नवाली मकैवाली, ताजा तरकारी, फलफुल, दुग्ध जन्य पदार्थ, पोल्ट्री लगायत कृषि व्यवसायसंग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल विउ विजनहरु महोत्सवमा प्रदर्शन र बजारीकरणको व्यवस्था गरिने उनले जानकारी दिए ।

    महोत्सव अवधिभर कृषिसंग सम्बन्धित, पूर्वी चितवनमा बढ्दो सवारी दुर्घटनालाई न्यूनिकरण गर्न सरोकारवालसंग जिल्ला ट्राफिक र प्रदेश ट्राफिक संग समन्वय गरी दुर्घटना न्यूनिकरण सम्वन्धी अन्तरक्रिया कार्यक्रम, चितवनको आर्थिक विकास र उन्नयनका लागि विशेष आर्थिक क्षेत्रको स्थापना र चुनौती विषयक गोष्ठी सञ्चालन गरिने संघका महासचिव उपेन्द्रशर्मा आचार्यले जानकारी दिए ।

    महोत्सवमा आर्थिक मन्दीका कारण धरासायी बन्दै गएका व्यवसायीहरुको सुुरक्षाका लागि छलफल र बहस गरी सरकारलाई नीतिगत सुधारका लागि सुझाब पेश गरिने छ ।

    रत्ननगर नगरपालिका, सौराहाका पर्यटन व्यवसायी तथा संघको त्रिपक्षीय सहकार्यमा नगर भित्रका धार्मिक तथा अन्य पर्यटकीय स्थलहरुको अबलोकन गरी प्रबद्र्धनको काम सुरु भइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    विगतमा जस्तै महोत्सव अन्र्तगत पौष २९ देखि ४ गते सम्म ५ दिन रत्ननगरको सौराहाचोक वसपार्कमा विभिन्न जनजातीहरुको विशेष खाना, उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन उपभोगका लागि विशेष परिकार सहित पाँचौं रत्ननगर सांस्कृतिक खाना महोत्सव आयोजना गरिएको संघका पूर्व अध्यक्ष तथा खाना महोत्सवका संयोजक ज्ञानबहादुर विसुरालले जानकारी दिए ।

    रत्ननगर महोत्सवमा प्रवेशका लागि अबलोकनकर्ताले खरिद गरेको टिकटबाट मौलाकालिका केबुलकारमा ५० प्रतिशत छुट दिने व्यवस्था मिलाइएको छ । महोत्सवको टिकट लिएर जानेलाई माघ १५ गते सम्म सो सुविधा प्राप्त गर्न सक्ने संघले जनाएको छ ।

    पत्रकार सम्मेलनमा रत्ननगर नगरपालिकाका संस्थापक मेयर नारायण वन, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठ सहित संघका पदाधिकारी,पूर्वअध्यक्षहरु तथा कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

  • अविरल बहुउद्देश्यीय सहकारी संस्थाको साधारण सभा सम्पन्न

    रत्ननगर, पुस ७ । रत्ननगर वडा नं २ टाँडी स्थित अविरल बहुउद्देश्यीय सहकारी संस्थाले एक बर्षमा करिब २६ लाख मुनाफा गर्न सफल भएको छ । शनिबार सम्पन्न सो सहकारीको तेस्रो बार्षिक साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा आर्थिक बर्ष २०७९/८० मा २५ लाख ७७ हजार मुनाफा भएको उल्लेख छ ।

    एक बर्षमा १ करोड २८ लाख १४ हजार आम्दानी गरेको सो सहकारीले १ करोड २ लाख ३६ हजार खर्च कटाएर २५ लाख ७७ हजार मुनाफा भएको सहकारीका व्यवस्थापक भरत दाहालले जानकारी दिए ।

    २०७७ साल फागुन १० गते स्थापना भएको सो सहकारीको कुद शेयर पूँजी ५ करोड २६ लाख ९६ हजार, ऋण लगानी ६ करोड ९४ लाख ८६ हजार रहेको छ ।

    सो सहकारीले उद्योग, व्यापार,व्यासाय सञ्चालन, कृषि, शैक्षिक, बैदेशिक रोजगार,व्यक्तिगत, आकस्मिक, हायरपर्चेज, आवास निर्माण, घरजग्गा खरिद लगायतका शिर्षकमा ऋण लगानी गर्दै आएको छ ।

    रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरी प्रमुख अतिथि रहेको सो कार्यक्रममा सहकारीका अध्यक्ष ज्ञानबहादुर विसुरालले भावि कार्ययोजना तथा आयव्याय विवरण तथा कोषाध्यक्ष विरञ्जना सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रमका संघका अध्यक्ष गिरीले व्यवसायको विकास र कृषि प्रर्वधनको क्षेत्रमा लगानी बढाउन सहकारीलाई आग्रह गरे ।

    संघका अध्यक्ष विसुरालले बचत तथा ऋणको अलवा सहकारीले कृषि एग्रोभेट समेत सञ्चालन गरिरहेको बताए । शेयर सदस्यको आवश्यकतालाई मध्यनजर गरी लगानी गरिरहेको भन्दै उनले कृषि क्षेत्रको विकासमा जोड दिएको बताए ।

    कार्यक्रममा तीन जना असल ऋणि, तीन जना बचत कर्ता सहित उत्कृष्ट कर्मचारीको रुपमा सन्तोष रेग्मीलाई सम्मान गरिएको थियो ।

    संस्थाका अध्यक्ष विसुरालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बहुउद्देश्यीय सहकारी संघका सचिव भीष्मप्रसाद खनाल, जिल्ला दुग्ध उत्पादक सहकारी संघका सल्लाहकार एकनारायण पौडेल, रत्ननगर रेडक्रस उपसभापति अनु गौतम, संरक्षण कृषि सहकारी संस्थाका अध्यक्ष रामप्रसाद सापकोटा लगायतले मन्तव्य राखेका थिए ।

    संस्थाका सचिव रघुनाथ भट्टले सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष गोपालराज कर्मचार्यले स्वागत मन्तव्य राखेका थिए । साधारण सभाको बन्दसत्रले अध्यक्षले प्रस्तुत गरेका दुई प्रतिबेदन र कोषाध्यक्षले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ । सो सहकारीको ८८७ जना शेयर सदस्य रहेका छन् ।

  • होटल व्यवसायी संघ चितवनले रैथाने फुड फेस्टिबल गर्दै, स्टल बुकिङ खुला

    भरतपुर । होटल व्यवसायी संघ चितवनले क्याम्पा चौरमा आयोजना गर्न लागेको रैथाने फुड फेस्टिबल तथा वृहत सांस्कृतिक कार्यक्रमको तयारी तीव्र पारिएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२४ तथा तमु ल्होसारको अवसरमा पुस १४ गतेदेखि १८ गतेसम्म फुड फेस्टिबल हुन लागेको हो । फुड फेस्टिबलमा साना ठुला गरी ३९ वटा स्टल रहनेछन् । जसमा ३४ साधारण र ५ वटा विशेष स्टल रहनेछन् ।

    फुड फेस्टिबलका लागि स्टल बुकिङ खुला गरिएको होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण)ले जानकारी दिनुभयो । साधारण स्टललाई २० हजार र विशेष स्टललाई ४० हजार रुपैयाँ शुल्क राखिएको उहाँले बताउनुभयो । फुड फेस्टिबलमा रैथाने खानेकुरालाई प्राथमिकता दिइएको छ भने विविध सांस्कृतिक कार्यक्रमहरु पनि हुनेछन् ।

    फुड फेस्टिबलमा पशुपती शर्मा, प्रिति आले, अनु चौधरी, हास्य कलाकार सुवोध गौतम, सुप्रिम मल्ल ठकुरी, कर्णराज गिरी, प्रजापती पराजुली, स्वप्न सुमन, ढाकाराम पौडेल, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान चितवनका कलाकारहरु लगायत अन्य राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने होटल व्यवसायी संघ चितवनका सचिव कृष्णकुमार महतोले जानकारी दिनुभयो । साथै स्याडोज व्याण्डको प्रस्तुती पनि हेर्न सकिने महतोले बताउनुभयो ।

    फुड फेस्टिबलको मुख्य प्रायोजक गोर्खा बु्रअरी प्रालि र सहप्रायोजकमा नेपाल लिक्वर्स प्रालि रहेको छ भने हस्पिटालिटी पार्टनरमा होटल ह्यापी होम र ग्यालेक्सी गार्डेन रिर्सोट रहेका छन्् । वल्र्डलिंक कम्युनिकेशनले फुड फेस्टिबलमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ ।

  • चितवनका पोल्ट्री व्यवसायी भन्छन्–‘व्यवसाय जोगाउने वा समाप्त पार्ने राज्यको हातमा छ’

    चितवन, पुस ६-

    पोल्ट्री व्यवसायी विनोद पोखरेलले अण्डा उत्पादक किसानलाई सङ्गठित गरेर बजारीकरणमा लागेको एक वर्ष दुई महिना बित्यो । आफ्नो खोरमा राखेका चार लाख कुखुराले दिएको अण्डाले मूल्य नपाएपछि आफू जस्तै किसान सङ्गठित गरेर उहाँले देशका ७४ जिल्लामा बजारीकरणका लागि पुग्नुभयो ।

    यद्यपि, अहिले पनि अण्डाको लागत मूल्य पाउन अझै सकेको छैन । कोभिडको महामारीपछि निरन्तर नोक्सानमा अण्डा बिक्री गर्नुपर्ने बाध्यता व्यवसायीमा छ । किसान पोखरेलको नेतृत्वमा बनेको नेपाल लेयर्स कुखुरापालक सङ्घले बजारीकरण गर्दै आएको छ । फार्मको अण्डालाई सोझै किसानको भान्सामा पु¥याउने गरी काम गरिरहेको छ ।

    किसान पोखरेलको भनाइमा प्रतिक्रेट (३० वटा अण्डाको) लागत मूल्य रु चार सय २० हाराहारी पर्दछ । अहिले पनि प्रतिक्रेट रु तीन सय ७० मा बिक्री गर्नुपर्ने बाध्यता छ । सङ्घ गठन भएपछि केही महिना लागत मूल्यसम्म पुगेको भए पनि पुनः घटेको हो । यद्यपि पहिलेको झैँ निकै न्यून मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता अहिले नरहेको उहाँले बताउनुभयो ।

    चार वर्षअघि दैनिक ६० हजार कार्टुन (एक कार्टुनमा सात क्रेटसम्म अण्डा उत्पादन हुने गरेकामा यो घटेर २४ हजार कार्टुन हाराहारीमा झरेको छ । एक हजार चार सय हाराहारी फार्मबाट घटेर तीन सय हाराहारीमा झरेको जनाइएको छ । ठूला फार्म सञ्चालनमा आएकाले धेरै अण्डा देखिए पनि फार्मको सङ्ख्या निकै घटेको छ ।

    किसान र व्यवसायीको अवस्था निकै खस्किएर व्यवसाय धान्ने सङ्घर्षमा रहेका छन् । आत्मनिर्भर यस व्यवसायलाई सरकारले सम्बोधन गर्न नसकेमा समाप्त हुने अवस्थामा पुगेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अझै पनि सरकारले सम्बोधन गर्न सक्यो भने व्यवसाय जोगिन सक्छ ।”

    सङ्घकै व्यवसायीहरुले नेपाल एग ट्रेडिङ सञ्चालन गरेर देशभरका अण्डा सङ्कलन गरी बजारीकरणसमेत गर्दै आएका छन् । यसले अण्डाको बजारीकरणमा सहयोग पुगेको उहाँको भनाइ थियो ।

    अभियानमा लाग्नुभएका पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले पोल्ट्रीजन्य उत्पादन लागतभन्दा कम मूल्यमा बिक्री गर्नुपर्दा नियमित नोक्सान व्यहोर्नु परेको बताउनुभयो । धेरै किसान विस्थापित भइसकेको उहाँको भनाइ छ ।

    उहाँको भनाइमा विगतको तुलनामा ४० प्रतिशतभन्दा बढी लेयर्स कुखुरा घटेका छन् । ब्वायलर प्यारेन्ट ४५ प्रतिशत, लेयर्स प्यारेन्ट ४३ प्रतिशत र अण्डाको उत्पादन ६५ प्रतिशतभन्दा बढीले घटेको छ । किसानसँग कुखुरा पाल्न आर्थिक अभाव भएको उहाँको भनाइ थियो ।

    सानो खोर बनाएर पोल्ट्री व्यवसाय गर्ने साना किसान यो व्यवसायबाट विस्थापित भएका छन् । ठूलो लगानी गरेका व्यवसायी पनि बैङ्कको ऋणको भरमा छन् । उनीहरुलाई बैङ्कको किस्ता र ब्याज कसरी तिर्ने भन्ने पीर छ । बैङ्कको ऋण टिकाउनैका लागि कतिपयले कुखुरा पालिरहेका छन् । नेपाल अण्डा उत्पादक सङ्घका पूर्वअध्यक्ष एवं उद्योग सङ्घ चितवनका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेलले भन्नुभयो, “धेरै विस्थापित भए, जति छन्, उनीहरूमध्ये आधाले बैङ्कलाई देखाउनकै लागि मात्रै कुखुरा पालिरहेका छन् ।”

    पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलले बैङ्कको ऋणले मात्रै व्यवसाय टिकेको जनाउँदै समयमा सुधार हुन नसके कूल ग्रार्हस्थ्य उत्पादनमा चार प्रतिशतभन्दा बढी योगदान दिएको यो व्यवसाय समाप्त भएर जाने बताउनुभयो । राज्यले व्यवसायीका समस्या बुझ्न नसक्दा पोल्ट्री व्यवसाय समस्यामा परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार फेरिएपिच्छे मन्त्री र प्रधानमन्त्रीसम्म कुरा पु¥याएका छौँ, हाम्रा कुरा कसैले सुनेन ।”

    नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र बिष्टले नेपालको पोल्ट्री क्षेत्रमा रु दुई खर्बभन्दा बढी लगानी रहेको बताउनुभयो । समयमै राज्यले सम्बोधन गर्न नसकेमा यहाँको पोल्ट्री व्यवसाय पूरै समाप्त हुने उहाँको भनाइ थियो । उहाँले थप्नुभयो, “आत्मनिर्भर रहेको यो व्यवसाय जोगाउन वा समाप्त पार्ने भन्ने राज्यको हातमा छ ।”

    ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष ऋषि पौडेलले कोभिड अघिसम्म तीन सय ४४ वटा ह्याचरी रहेकामा अहिले एक सय १७ मा झरेको बताउनुभयो । तीमध्ये पनि ८० हाराहारीले मात्रै चल्ला उत्पादन गर्ने गरेको उहाँको भनाइ छ । लेयर्स चल्लाको उत्पादन लागत मूल्य रु ५५ प्रतिगोटा पर्ने भन्दै उहाँले अहिले रु ४५ हाराहारीमा बिक्री गर्न बाध्य रहेको बताउनुभयो ।

    निरन्तरको घाटाका कारण धेरै ह्याचरी बन्द भएको उहाँको भनाइ छ । सातामा लेयर्स चल्ला तीन लाख उत्पादन हुने गरेकामा अहिले यसको उत्पादन एक लाख २५ हजार र ब्वायलर चल्ला सातामा ४५ लाख उत्पादन हुने गरेकामा अहिले २० लाख मात्रै उत्पादन हुँदै आएको उहाँले जानकारी दिनुभयो ।

    भारतीय खुल्ला सिमानाबाट अवैध रुपमा आउने पोल्ट्रीजन्य पदार्थ, बढ्दो बैङ्कको ब्याजदर, नागरिकमा घटेको क्रयशक्ति, कच्चापदार्थको लगाइएको भन्सार लगायतका कारण यो व्यवसाय टिक्न मुस्किल भएको हो । यससँगै पोल्ट्रीजन्य उत्पादनको मूल्य नबढ्नु र पोल्ट्रीका लागि आवश्यक दाना, औषधि, कच्चापदार्थको मूल्य बढ्नु र जनशक्तिको पारिश्रमिक थपिँदै जानुले सन्तुलन कायम गर्न नसकेर व्यवसाय धराशयी हुने अवस्थामा पुगेको किसान बताउँछन् ।

    सरकारको स्पष्ट नीतिको अभावमा आत्मनिर्भर व्यवसाय पलायन हुने अवस्थामा पुगेको जनाउँदै व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । यसबाट प्रत्यक्ष रुपमा बैङ्किङ क्षेत्रसमेत प्रभावित हुने देखिन्छ । रासस 

  • हेटौँडामा बृहत् खेलकुद तथा व्यापार महोत्सव सुरु

    मकवानपुर । मकवानपुर जिल्ला खेलकुद विकास समितिको मुख्य आयोजनामा आजबाट हेटौँडामा बृहत् खेलकुद तथा व्यापार महोत्सव सुरु भएको छ । हेटौँडा–१० स्थित टीसीएन खेल मैदानमा आगामी पुस १७ गतेसम्म चल्ने महोत्सवको आज एक समारोहका बीच बागमती प्रदेशका वन तथा वातावरण मन्त्री मसिना खड्काले उद्घाटन गर्नुभयो ।

    महोत्सवको उद्घाटन गर्नुहुँदै मन्त्री खड्काले खेलकुदसँगै आर्थिक रुपमा जोडिएको हुँदा यसले दुवै क्षेत्रलाई टेवा पु¥याउने बताउनुभयो । उहाँले विशेष गरि खेल क्षेत्रको विकासको पवित्र उद्देश्यका साथ सञ्चालित कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

    खेलकुद विकास समितिका अध्यक्ष वेष खड्कीको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा विभिन्न धर्म संस्कृतिका झाँकी तथा महिलाहरुद्धारा पञ्चेबाजा प्रदर्शनी समेत गरिएको थियो । विभिन्न धर्म संस्कृतिका झाँकी, विद्यार्थी, खेलाडी, विभिन्न झाँकीसहित हेटौँडा बजार परिक्रममा गरी महोत्सव स्थल पुगेको थियो ।

    कार्यक्रममा प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, हेटौँडा उपमहानगरका प्रमुख मीना कुमारी लामा, उपप्रमुख राजेश बानियाँ, पूर्व नगर प्रमुख हरि बहादुर महत, हेटौँडाका वडा अध्यक्षहरू, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न खेलकुद सङ्घसंस्थाका अध्यक्षहरू, खेलका प्रशिक्षकहरू लगायत विभिन्न युवा क्लब तथा टोल विकास संस्थाका अध्यक्षहरूको आतिथ्यता रहेको थियो ।

    महोत्सव अवधिभर किनमेल, साङ्गीतिक प्रस्तुती, नृत्यसहित दैनिकरुपमा खेलकुद प्रतियोगिता आयोजना हुने छ । महोत्सवभर १३ वटा विधामा राष्ट्रिय, प्रदेश र जिल्लास्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरिने खड्गीले बताउनुभयो । उहाँका अनुसार मेला स्थलमै राष्ट्रिय महिला भलिबल प्रतियोगिता सञ्चालन हुनेछन् ।

    महोत्सवमा कृषि, पर्यटन, हस्तकला, अटोमोबाइलका साथै बाल उद्यान समेत राखिएको छ । महोत्सवमा दैनिक नेपालका चर्चित राष्ट्रिय कलाकारको साङ्गीतिक तथा मनोरञ्जनात्मक प्रस्तुती रहने आयोजकले जनाएको छ । मेलामा करिब २ सय ६० वटा स्टल रहेका छन् ।

  • फेवा तालको किनारमा २५ औँ सडक महोत्सवको तयारी तीव्र

    कास्की । फेवा किनारमा हुने २५ औँ सडक महोत्सवको तयारी तीव्र पारिएको छ । हरेक वर्ष अङ्ग्रेजी नयाँ वर्षमा आयोजना हुने सडक महोत्सवको रजत जयन्तीमा विशेष कार्यक्रम आयोजना गर्ने रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान)ले जनाएको छ । पोखराको सडक महोत्सव नेपालको अन्तर्राष्ट्रिय व्राण्ड वनेको पोखराका पर्यटन व्यवसायीहरू बताउँछन् ।

    सडक महोत्सव संयोजक विश्वराज पौडेलले ५ दिन सम्म सडकमै खाऊँ सडकमै रमाऊँ भन्ने नारा सहित रैथाने उत्पादनलाई विशेष जोड दिएको बताउनुभयो ।

    पश्चिमा संस्कृतिको प्रभावले नेपाली मौलिकता र परम्पराहरू ओझेलमा पर्दै गएको भन्दै संस्कृतिकर्मीहरूले चिन्ता व्यक्त गरिरहेको समयमा पोखरामा पछिल्लो समय परम्परा झल्किने र लोपोन्मुख हुँदै गएका परम्परागत सामग्रीहरु प्रदर्शनमा राखेर नयाँ पुस्तालाई बुझाउने प्रयास समेत महोत्सवले गर्ने पौडेलले बताउनु भयो ।

    चौबिस बर्ष अगाडि ‘सडक मै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने नाराका साथ सुरु भएको यो महोत्सवले सडकमै नाचगानसँगै खानासँग रमाउन पाइन्छ ।पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारयण श्रेष्ठले भन्नु भयो । पोखराको ब्रान्डको रूपमा स्थापित यस महोत्सवलाई व्यापारिक दृष्टिकोणबाट भन्दा पनि पोखराको रहनसहन संस्कृति, पर्यटकीय गन्तव्य र खाना संस्कृतिको विकास र प्रवद्र्धनमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ निरन्तरता दिँदै आएको बताउनु भयो । उहाँले यस यस वर्ष महोत्सवमा झण्डै ५ लाख दर्शकले अवलोकन गर्ने उनीहरूको व्यवस्थापनमा पर्यटन व्यवसायीहरू लागेको बताउनु भयो। उहाँले भन्नु भयो “पोखरा पर्यटकीय सहर हो, यहाँ विश्वभरिका पर्यटक आउँछन् । अङ्ग्रेजी नयाँ वर्षको गन्तव्य बनाउने र यही अवसरमा यहाँको रहनसहन संस्कृतिलाई प्रचारप्रसार गर्ने हाम्रो उद्देश्य हो र यो सफल पनि हुँदै गएको छ ।”

    महोत्सवमा विभिन्न जातजातिको संस्कृति झल्कने नृत्य, झाँकी प्रदर्शन, भैरव नाच, परम्परागत ढिकी जाँतो, विवाह मण्डप, गुन्द्री बुन्ने, मोही मथ्ने, नेपाली संस्कृति र परम्पराको पहिचान झल्कने सामग्रीलगायत सात प्रदेशका पकवानहरू पनि रहेकाले संस्कार संस्कृति बुझ्न चाहनेहरूका महोत्सव आकर्षक थलो बन्ने आयोजकको ठहर छ ।

    रेवान पोखराले हरेक वर्ष यो महोत्सवलाई निरन्तरता दिँदै आएको छ । पोखराको ब्रान्डका रूपमा स्थापित हुँदै गएको यो महोत्सवले नेपाली संस्कृतिलाई पश्चिमा संस्कृतिसँग जोडेर एकअर्काको संस्कृति बुझ्नसमेत पुलको काम गरेको व्यवसायीहरूको ठहर छ ।

    लेक साइडको फिस्टेल गेटदेखि डिहिकोपाटनसम्मको करिब तीन किलोमिटर खुल्ला सडकमा सञ्चालित हुने महोत्सव पुस १२ गतेदेखि १६ गतेसम्म चल्नेछ । सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, पर्यटन, खेलकुद, हस्तकला प्रदर्शनी, बाल उद्यान, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्टलगायत कार्यक्रम रहेका छन् यसैगरी पोखरा घुम्न आउने पर्यटकलाई अङ्ग्रेजी नयाँ वर्ष र महोत्सवको अवसरमा होटललगायतका पर्यटकीय गतिविधिमा विशेष सहुलियत प्याकेजहरू समावेश गरिएको रेवानले जनाएको छ । महोत्सवमा उठेको २० प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्ने योजना रेवानको छ ।

  • नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ घटायो

    काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ३ रुपैयाँ घटाएको छ । मंसिर ३० गते बिहान ००.०१ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

    इण्डियन आयल कर्पोरेशनले शुक्रबार पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य क्रमशः प्रतिलिटर रू ३.०७ र रू ३.१६ ले घटाएर निगमलाई पठाएको थियो ।

    समायोजन पश्चात् काठमाडौँमा अब पेट्रोलको मूल्य १६७ र डिजेल तथा मट्टितेलको मूल्य १५७ कायम भएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

  • सत्ता गठबन्धन बैठककाे निष्कर्ष : ‘एनसेल शेयर खरिद–बिक्री शङ्कास्पद छ, छानबिन गर्नुपर्छ’

    काठमाण्डाै – सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले एनसेल खरिद–बिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ । आज मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एनसेलको शेयर खरिद–बिक्रीको कुरा गम्भीर रहेको र नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर बिक्री नभएको ठहर गरेको छ ।

    बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकले नेपालको कानुन बमोजिम नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर गर्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्था अुनकूल एनसेलकाे शेयर खरिद–बिक्री नभएको बताउनुभयो । उहाँले शेयर खरिद–बिक्रीको कुरा शङ्कास्पद रहेकाले सरकारले तत्काल छानबिन गर्नुपर्ने निष्कर्ष निस्किएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘एनसेलको शेयर खरिद–बिक्रीमा विषयमा गहन अध्ययन र छानबिन हुनुपर्छ । नेपालको कानुन बमोजिम नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर एनसेल शेयर खरिद–बिक्री भएकाे छैन । जति पनि गतिविधि भएका छन्, ती शङ्कास्पद छन् । एनसेलको शेयर खरिद–बिक्रीबारेमा सरकारले तत्काल छानबिन गर्नुपर्छ र सुक्ष्म ढङ्गले गहिरो अध्ययन गर्नुपर्छ ।’

    प्रमुख सचेतक लेखकले एनसेल शेयर खरिद–बिक्रीका बारेमा मन्त्रिपरिषद् बैठकले पनि निर्णय गर्ने र सरकारका निकायहरूले यसलाई गम्भीरतापूर्वक लिएर यसको तहसम्म नै पुगेर छानबिन र अध्ययन गर्ने कुरामा सरकार र गठबन्धन तयार रहेको बताउनुभयो ।

  • सहकारी ठगीका मुद्दामा मिलापत्र गर्न सकिने

    काठमाडौ- अबदेखि सहकारी ठगीका मुध्दाहरुमा मिलापत्र गर्न सकिने भएको छ । सहकारी ठगीका मुध्दामा मिलापत्र गर्न सक्नेगरी महान्यायधिवत्ताको कार्यालयले पहिलो पटक नीतिगत व्यवस्था गरेको हो ।

    पछिल्लो समय सहकारीद्वारा ठगी भएका पिडितहरु सडक आन्दोलन गरेका थिए । सहकारी ठगी सम्बन्धि छानविन गर्न सरकारले कार्यदल समेत गठन गरेको थियो । सो  कार्यदलको राय सुझाव  तथा सहकारी ऐन २०७४ को दफा १ सय २२ अन्तर्गत मिलापत्र गर्न सक्ने निर्णय गरेको महान्यायधिवत्ताको कार्यालयले जनाएको छ ।

    सहकारी ऐन २०७४ दाफा १ सय २२ मा सहकारीका सदस्यको बचत ऐन, नियम र बिनियम बमोजिम बाहेक अन्य कुनैपनि प्रयोजनका लागि प्रयोग भएमा कसुर गरेको ठहर हुने व्यवस्था रहेको छ । मिलापत्र गर्नसक्ने निर्णयले सहकारी पिडितले समयमा राहत पाउन सक्ने सम्भावना बढी रहेको महान्यायधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले जानकारी दिनु भयो ।

    सहकारी पिडितहरुले मिलापत्र गर्न चाहेमा सम्बन्धित निकायलाई वादी र प्रतिवादी दुवै पक्षले  लिखित निवेदन दिनुपर्ने हुन्छ । त्यसपछि मिलापत्रका लागि सरकारी पक्षले  वादी र् प्रतिवादी दुवै पक्षका लागि समन्वयको भुमिका खेल्ने दाहालले जानकारी दिनु भयो ।

    यता सहकारी सम्बन्धित संघ संस्थाहरुले पनि सहकारी पिडितले मिलापत्र गर्न सक्ने महान्यायधिवत्ताको कार्यालयले गरेको निर्णयलाई सकारात्मक रुपमा लिएका छन्।

    मिलापत्रको निर्णयले सहकारी पिडितहरुले राहत पाउने भनाई  राष्ट्रिय सहकारी महासंघ नेपालको छ ।

    नेपालमा हाल कृषि सहकारी र गैर कृषि सहकारी गरी ३० हजार बढी सहकारी रहेका छन् भने जसमा ४२ लाख बढी सदस्य रहेका छन् ।

    https://ujyaalonepalnews.com/archives/33326