Category: अर्थ

  • यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ २१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८१ पैसा तोकिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ १२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ १७ पैसा र बिक्रीदर १७० रुपैयाँ ८६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९७ रुपैयाँ २१ पैसा र बिक्रीदर १९८ रुपैयाँ ०१ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • सकियो रत्ननगर महोत्सव, ४ लाख ५० हजारले अवलोकन २६ करोडको कारोबार

    रत्ननगर । रत्ननगरको टिकौली चौरमा आयोजना गरिएको रत्ननगर महोत्सवको १३औँ संस्करण बुधबार सम्पन्न भएको छ ।

    रत्ननगर उद्योग वाणिज्य संघको आयोजना तथा रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सव पौष २५ गतेबाट सुरू भएको थियो । १३ दिन सञ्चालन भएको उक्त महोत्सव ४ लाख ५० हजारले अवलोकन गरेको र २६ करोडको कारोबार भएको संघका कोषाध्यक्ष विनोद घिमिरेले दाबी गरे ।

    यसपटकको महोत्सवमा रामजानकी मन्दिरको मूल गेट निर्माण गरिएको थियो । महोत्सव अवलोकन गर्न आएका अधिकांशले रामजानकी गेटमा फोटो र भिडियो खिचेका छन् ।

    महोत्सवअन्तर्गत गरिएको मह उत्सव उत्पादन र बजारीकरणको हिसाबले कोसेढुङ्गा साबित भएको छ ।

    जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी प्रमुखअतिथि रहेको समापन कार्यक्रममा संघका अध्यक्ष शंकर गिरीले रत्ननगर महोत्सवको १३औँ संस्करण अहिलेसम्मकै उत्कृष्ट भएको दाबी गरे ।

    ‘जिल्लाको आर्थिक विकासमा महोत्सवले महत्त्वपूर्ण भूमिका खेलेको हामीले महसुुस गरेका छौँ’, उनले भने, ‘यसको प्रभाव बिस्तारै देखिँदै जाने छ ।’ महोत्सवअन्तर्गत आयोजना गरिएको कृषि उत्पादन र बजारीकरण तथा युवा रोजगारसम्बन्धी कार्यशालाले एक खालको मार्गचित्र तयार भएको उनले बताए ।

    नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठले निजी क्षेत्रले आयोजना गर्ने महोत्सव आर्थिक विकासको मेरूदण्ड रहेको भन्दै सरकारले उद्योग वाणिज्य संघको सिफारिसमा मात्र अन्य संघसंस्थामा महोत्सव आयोजनाको सिफारिस दिनुपर्ने बताए । संघका वरिष्ठ उपाध्यक्ष निराजन खनालले महोत्सवप्रतिको जनआकर्षणले आफूहरुलाई उत्साहित बनाएको भन्दै अनुमान गरेको भन्दा बढीले अवलोकन र लक्ष्यभन्दा बढी कारोबार भएको बताए ।

    जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले रत्ननगर महोत्सवले जिल्लाको कृषि, पर्यटन, उद्योग, स्थानीय उत्पादनको बजारीकरण तथा उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क सेतुको काम गर्न सफल भएको बताए । मुलुक विषम परिस्थितिमा गुज्रिरहेको बेला आयोजना गरिएको महोत्सव सफल हुनु नै सबैभन्दा ठूलो कुरा रहेको भन्दै उनले यसले जिल्लाको आर्थिक विकासमा सहयोग पुगेको बताए ।

    समापन कार्यक्रममा महोत्सवमा सहयोग गर्ने विभिन्न संघसंस्थालाई कदरपत्र, प्रतियोगितामा सहभागीलाई पुरस्कार, स्टेरिङ कमिटीलाई कदरपत्र तथा लोकगायक नेत्रजी पन्तलाई सम्मान गरिएको थियो । महोत्सवअन्तर्गत भजन, शङ्खध्वनि, महिला कबड्डी तथा अन्तरविद्यालयस्तरीय नृत्य प्रतियोगिता गरिएको थियो ।

    बाल उद्यानमा जलपरीसँगै बालबालिकालाई लक्षित गरी काश्मीर भ्याली निर्माण गरिएको थियो । पर्यटन प्रवद्र्धनतर्फ खगरी खोलामा मोटरबोट सञ्चालन गरिएको थियो । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका करिब ५०० स्टलहरु रहेका थिए ।

    महोत्ववअन्तर्गत पौष २९ देखि माघ ४ सम्म सौराहा चोकस्थित बसपार्कमा ‘छैटौँ रत्ननगर सांस्कृतिक खाना महोत्सव’ आयोजना गरिएको थियो ।

  • सरकारी ऋण २७ खर्ब ४३ अर्ब, तीन महिनामा थपियो ५० अर्ब

    काठमाडौँ — गत असोजसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २७ खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४.६१ प्रतिशत हो । गत असारसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो । गत भदौको तुलनामा तिर्न बाँकी सार्वजनिक ऋण केही घटेको छ ।

    गत भदौसम्म तिर्न बाँकी सार्वजनिक ऋण २७ खर्ब ४३ अर्ब ३७ करोड रुपैयाँ थियो । भदौ मसान्तदेखि असोजसम्म सरकारले उठाएको सार्वजनिक ऋणभन्दा भुक्तानी गरेको धेरै रहेकाले कुल तिर्न बाँकी सार्वजनिक ऋण घटेको हो ।

    तिर्न बाँकी सार्वजनिक ऋणमध्ये आन्तरिक १२ खर्ब ७८ अर्ब ७ करोड (जीडीपीको २०.९३ प्रतिशत) र बाह्य १४ खर्ब ४६ अर्ब ५८ करोड रुपैयाँ (जीडीपीको २३.६९ प्रतिशत) रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बताएको छ । गत असार मसान्तको तुलनामा असोजसम्म तिर्न बाँकी सार्वजनिक ऋण ५० अर्ब ६० करोड रुपैयाँ थपिएको हो । उक्त अवधिमा १ खर्ब ८४ करोड ऋण प्राप्ति हुँदा १ खर्ब ९ अर्ब ८९ करोड ऋण भुक्तानी भएको छ । भुक्तानी भएको कुल रकममध्ये ९० अर्ब ५० करोड रुपैयाँ साँवा र बाँकी १९ अर्ब ३८ करोड रुपैयाँ ब्याजका लागि खर्च भएको छ ।

    सार्वजनिक ऋणको ब्याज भुक्तानीमा प्रयोग भएको रकम चालु खर्चमा समावेश गरिन्छ । यसकारण उक्त अवधिमा उठाइएको १ खर्ब ८४ करोड साँवा भुक्तानीमा खर्च भएको ९० अर्ब ५० करोड रुपैयाँ घटाइन्छ । त्यसरी आउने रकममा विदेशी मुद्राको विनिमय दरमा परिवर्तन आउँदा भएको ४० अर्ब २६ करोड जोड्दा गएको दुई महिनामा ५० अर्ब ६० करोड रुपैयाँ सार्वजनिक ऋण थपिएको हो ।
    गत असारमा सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो । चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन, भदौ र असोज) मा सरकारले १ खर्ब ८४ करोड रुपैयाँ सार्वजनिक ऋण संकलन गरेको छ । यस अवधिमा संकलित सार्वजनिक ऋण वार्षिक लक्ष्यको १६.९३ प्रतिशत हो ।

  • कालिकाको आव २०८१-०८२ को बजेट : ७६.७३ प्रतिशत खर्च

    रत्ननगर । चितवनको कालिका नगरपालिकाले चालू आर्थिक वर्ष २०८१-०८२ को खर्च विवरण सार्वजनिक गरेको छ । नगरपालिकाले यो आर्थिक वर्षमा कुल ७६.७३ प्रतिशत बजेट खर्च भएको जनाएको छ ।

    चालूतर्फ ८६.६१ प्रतिशत र पुँजीगततर्फ ६५.४४ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले जानकारी दिए । यो वर्ष ४९ करोड ५७ लाख एक हजार छ सय रूपैयाँ (५३.३१) प्रतिशत विनियोजन भएकोमा ४२ करोड ९३ लाख ४९ हजार नौ सय ६० रूपैयाँ २४ पैसा (८६.६१) प्रतिशत खर्च भएको चौलागाईंले बताए । पुँजीगततर्फ ४३ करोड ४० लाख ७२ हजार चार सय रूपैयाँ (४६.६९) प्रतिशत विनियोजन भएकोमा २८ करोड ४० लाख ७५ हजार आठ सय ९६ रूपैयाँ ८९ पैंसा (६५.४४) प्रतिशत खर्च भएको उनले बताए ।

    आर्थिक वर्ष २०८१-०८२ मा चालू र पुँजीगततर्फ गरी कुल ९२ करोड ९७ लाख ७४ हजार विनियोजन भएकोमा ७१ करोड ३४ लाख २५ हजार आठ सय ५७ रूपैयाँ १३ पैसा (७६.७३) प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत चौलागाईंले जानकारी दिए ।

    कालिका नगरपालिकाको बजेट चालूभन्दा पुँजीगत (६.६२) प्रतिशतले बढी छ । प्रमुख प्रशासकीय अधिकृत चौलागाईं र वरिष्ठ लेखा अधिकृत ऋषिप्रसाद कडुवालले एक सूचना जारी गर्दै खर्च विवरण सार्वजनिक गरेका हुन् ।

    जारी सूचनामा बजेट कार्यान्वयन गर्न सहयोग गर्ने टोल विकास संस्था, उपभोक्ता समिति, संघसंस्था, निर्माण व्यवसायी, विकास साझेदार सरोकारवाला सरकारी कार्यालय, सञ्चारकर्मी, नागरिक समाज, कर्मचारी सबैलाई धन्यवाद दिँदै आगामी बजेट कार्यान्वयनमा पनि सक्रिय सहयोग, समन्वय र सहभागिता रहने विश्वास गरिएको छ ।

  • कालिका नेपालकै उत्कृष्ट दश भित्र पर्न सफल; चितवनका सात पालिकामध्ये अधावधिक बेरुजु सबैभन्दा कम

    कालिका, जेठ ७- चितवनका सातवटा स्थानीय तहमध्ये कालिका नगरपालिका सबैभन्दा कम अधावधिक बेरूजु कायम भएको छ । यस पालिका हाल नेपालका ७५३ स्थानीय तहहरू मध्ये सबैभन्दा कम बेरूजु भएको शिर्ष १० पालिका भित्र सूचीकृत भएको छ । २०७१ सालमा नगरपालिका स्थापना भएसंगै आर्थिक वर्ष २०७९÷०८० सम्म कालिका नगरपालिकाको कुल बेरूजु रु २० करोड भएकोमा हालको स्थानीय तहको दोस्रो कार्यकालको जनप्रतिनिधि आएसंगै बेरुजु घटाउन प्राथमिकता राखि विभिन्न कार्यक्रमहरु गरिएको जनाएको छ ।

    लेखा समितिका संयोजक टिकाराम रेग्मीका अनुसार विभिन्न असुल गर्नुपर्ने बेरुजु रकम असुल गरी नगरपालिकाको खातामा जम्मा गरिएको छ । पेश्की रकम फर्छाैट गरेको तथा नगरपालिकाले आवश्यक विभिन्न कानुन तथा कार्यविधि निर्माण गरेकोले रु १५ करोड ६६ लाख बेरुजु फर्छौट गरी महालेखा परिक्षक कार्यालयको २०८१ सालमा प्रकाशित (२०७९/०८०) तथ्याङक अनुसार हाल रु ४ करोड ३३ लाख ४४ हजार बेरुजु कायम भएको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख गरिएको रेग्मीले बताए ।

    आर्थिक वर्ष २०७९÷०८० सम्मको महालेखा परिक्षकको प्रतिवेदनमा देखाइएको तथ्याङक अनुसार कालिका नगरपालिकाको हाल रु ४ करोड ३३ लाख ४४ हजार बेरुजु बाँकी छ । जुन चितवन जिल्लामा सबैभन्दा कम हो । इच्छाकामना गाउँपालिकाको रु १० करोड ८० लाख ६४ हजार दोस्रो, खैरहनी नगरपालिकाको रु ११ करोड ८४ लाख ९२ हजार तेस्रो, रत्ननगर नगरपालिकाको रु १६ करोड १८ लाख ८९ हजार चौथो, राप्ती नगरपालिकाको १९ करोड २९ लाख ९४ हजार पाँचौ, माडी नगरपालिकाको ४६ करोड १५ हजार छैठौं र भरतपुर महानगरपालिकाको ९३ करोड ५० लाख २९ हजार सबैभन्दा धेरै कुल बेरुजु बाँकी रहेकाले सातौं स्थानमा छ ।

    चितवन जिल्लाकै सबैभन्दा कम बेरुजु कायम गर्न सफल भएको कालिकाका नगर प्रमुख विनोद रेग्मीले बताए । नगरपालिको सम्पूर्ण पक्षमा साना साना सुधार गरिरहेको बताउँदै उनले कानुनहरुको पालना गरेको प्रतिक्रिया दिए । कालिका नगरपालिकाका वरिष्ठ लेखा अधिकृत ऋषि प्रसाद कडुवालका अनुसार नगरपालिकाले बजेट तर्जुमा गर्दा र खर्च गर्दा नेपाल सरकारको सम्पूर्ण कानुनहरु पालना गरेको र नगरपालिकाले आफैले बनाउनु पर्ने कानुन, कार्यबिधिहरु र मापदण्डहरु बनाएकाले बेरुजु न्यूनीकरण सम्भव भएको हो ।

  • ऐतिहासिक सफलता प्राप्त गर्दै सकियो चितवन महोत्सव : ५ लाख सहभागि, ३० करोडको कारोबार

    चितवन, माघ १०– १५ औं संस्करणको चितवन महोत्सव २०८१ सकिएको छ । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा ‘चितवनको गौरव र गरिमामय प्रस्तुती’ मुल नारा दिएर पुष २५ बाट सुरु भएको महोत्वको आज साँझ समापन गरिएको हो ।

    संघीय सरकारका उद्योग तथा वाणिज्य मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेको महोत्सव बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा र बन तथा बातावरण मन्त्री कृष्ण सिलवालको उपस्थितिमा आज साँझ समापन गरिएको हो ।

    महोत्सव मुल समिति संयोजक एवम् उवासंघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले महोत्सवको समापन गर्दै महोत्सव ऐतिहासिकरुपमा सफल भएको बताए ।

    महोत्सव अवधिभर ५ लाख जनाले सहभागिता जनाएको र ३० करोड बराबरको कारोबार भएको अध्यक्ष श्रेष्ठले जानकारी गराए । लक्ष्य अनुसार कै सहभागिता र कारोबार भएको भन्दै अध्यक्ष श्रेष्ठले समापन समारोहमा खुसी व्यक्त गर्दै महोत्सव सफल पार्न सहयोग पुर्याउने सम्पूर्णलाई धन्यावद ज्ञापन गरे ।

    अवलोकनकर्ताहरुको चाप र महोत्सव परिसरभित्र निर्माण गरिएका र आयोजना गरिएका प्रबद्र्धनात्मक क्रियाकलापहरुमा अवलोकन कर्ताहरुको जुन चासो र भिडभाड देखियो यसले आयोजकलाई रोमाञ्चित बनाएको र आगामी दिनहरुमा पनि यस किसिमका महोत्सवहरु आयोजना गर्नका लागि थप उत्साहित बनाएको श्रेष्ठ बताउँछन् ।

    महोत्सवमा रोजगार मेला, हार्डवयर्स एक्सपो, मह परिसर, अटो परिसर, रेष्टुरेन्ट परिसर, फन पार्क, चाईना एक्सपो, लघु, घरेलु परिसर, कृषि परिसर लगायत ४३० स्टलहरु रहेका थिए । बिगतका १४ वटा महोत्सवहरुलाई तुलना गर्दा यस पटकको महोत्सव पृथक बनेको अध्यक्ष श्रेष्ठ बताउँछन् ।

    महोत्सव अवलोकनकर्ता र प्रदर्शकबाट संकलन गरेको पृष्ठपोषण फर्मलाई अध्ययन गर्दा करिव ९० प्रतिशत अवलोकनकर्ताहरु महोत्सवमा भएका क्रियाकलापहरुबाट पूर्ण सन्तुष्टि भएको पाइएको श्रेष्ठले जानकारी गराए ।

    चितवनवासीको महान पर्वका रुपमा स्थापित भइसकेको यो महोत्सवको माध्यमबाट उद्योग व्यवसायको प्रवद्र्धन, कला, साहित्य र संस्कृतिको संरक्षण, आदिवासी जनजातीहरुको परम्परा, रितिरिवाज र भेषभुषाहरुको जर्गेना हुनुका साथै कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, उर्जा सूचना प्रविधि र पूर्वाधार लगायतका क्षेत्रहरुको विकासका संभावनाहरुको पनि उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको महसुश भएको श्रेष्ठ बताउँछन् । यद्यपि यस किसिमका महोत्सवलाई आगामि दिनहरुमा अझ बढी प्रभावकारी र समयानुकुल परिवर्तन गर्दै लैजानुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।

    चितवन जिल्लालाई विविधता र समृद्धिको भूमिको रुपमा विकास गर्ने अभिलाषा र सुस्ताएको आर्थिक गतिविधिलाई चलायमान गराउने लक्ष्यका साथ आयोजित चितवन महोत्सव २०८१ ले आफ्नो उद्देश्य प्राप्तिमा सफल रहेको महसुस भएको उनी बताउँछन् ।

    चितवन जिल्लाको पहिचान, यसको बहुआयामिक विविधता, यहाँको पर्यापर्यटन र आन्तरिक तथा बाह्य पर्यटनका लागि चितवन सबै सिजनमा उत्कृष्ट गन्तव्य हो भन्ने स्थापित गर्न महोत्सव केन्द्रित रहेको उनले बताए । यसका साथसाथै कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, साहित्य प्रवद्र्धन तथा उद्योग प्रवद्र्धनमा महोत्सवका गतिविधि केन्द्रित रहेको उनले जानकारी गराए ।

    चितवन महोत्सवमा पहिलो पटक आयोजना गरिएको चाइनिज कमोडिटी एक्सपोमा रहेका स्टलहरुमा दुवै देशका उद्यमी व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको बताउँदै अध्यक्ष श्रेष्ठले निर्माण सामाग्री (हाडवयर्स) व्यवसायी संघ चितवनको सहकार्यमा आयोजित निर्माण एक्सपोमा पनि उल्लेख्य दर्शकहरुले उपस्थिति जनाएको बताए ।

    चितवन महोत्सव २०८१ मा प्रतियोगितात्मक कृषि प्रदर्शनी, हस्तकलाका उत्पादन, साना तथा लघु, घरेलु उत्पादनको प्रदर्शनी, औद्योगिक प्रदर्शनी, अटोमोवाईल्स प्रदर्शनी, अर्गानीक उत्पादनको प्रदर्शनी, महिला उद्यमीद्वारा उत्पादित वस्तुको प्रदर्शनी, रमाइलो मेला, कृषि , शिक्षा, स्वास्थ्य, पर्यटन र सूचना प्रविधि बिषयमा राष्ट्रिय स्तरका छुट्टाछुट्टै सेमिनार तथा गोष्ठी, साहित्यिक गोष्ठी, खेलकुद प्रतियोगिता, दैनिक स्वास्थ्य शिविरको आयोजना गरिएको अध्यक्ष सुमन कुमार श्रेष्ठले जानकारी गराए ।

    चितवन महोत्सवमा आयोजित विभिन्न गोष्ठीमा प्राप्त सुझाव र पहिलाएका सम्भावनाहरुलाई छिट्टै नै सम्बन्धित निकायमा संप्रेशण गरिने अध्यक्ष श्रेष्ठले बताएका छन् ।

    बाढीले कुरुप बनाएको नारायणी नदी किनारलाई महोत्सव गर्नकै लागि उद्योग वाणिज्य संघ चितवनले सम्माएको अध्यक्ष श्रेष्ठले जानकारी गराए । भरतपुर महानगरपालिकाले सम्माउने काममा सहयोग गरेकोे र थप सहयोग गर्ने आश्वासन समेत दिएको बताउँदै अध्यक्ष श्रेष्ठले नदी किनारको दिगो व्यवस्थापनका लागि प्रदेश सरकारका तर्फबाट पनि केही योजना ल्याउन मुख्यमन्त्रीलाई आग्रह गरेका छन् ।

    परम्परागत खाना र पर्यटनलाई प्रवद्र्धन गर्ने हेतुले नारायणगढको क्याम्पाचौरमा नेपा पुचः नारायणगढसँगको सहकार्यमा पौष २९ देखि माघ ७ गतेसम्म सञ्चालित क्याम्पाचौर फुड फेस्टिवल पनि सफलताका साथ सम्पन्न भएको अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

    बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले स्वदेशमा उद्योगहरुको विस्तार गरी स्वदेशमै वस्तुहरु उत्पादन गर्नुुपर्ने आजको आवश्यकता रहेको बताए । जसका लागि देशमा उद्योग व्यवसायमैत्री वातावरण बनाउनु पर्ने र त्यसका लागि प्रदेश सरकार लागिरहेको बताए । महोत्सवले स्वदेशी र स्थानीय उत्पादनको प्रवद्र्धन र बाजारीकरणमा सहयोग पुर्याउनुपर्ने बताउँदै मुख्यमन्त्री लामाले चितवन महोत्सव पनि यस कुरामा सफल बनेको होला भनि विश्वास व्यक्त गरे ।

    समापन समोरोहमा एक चाइनिज प्रदर्शक र एक स्वदेशी प्रदर्शकले आफ्नो धारणा राख्दै महोत्सवमा साचे जस्तो सफलता प्राप्त गरेको बताएका छन् । समापन समारोहमा दुई प्रदर्शक, अध्यक्ष र प्रमुख अतिथिबाहेक अन्य कुनै पनि वक्ताहरुले बोलेनन् ।

    उवासंघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवि सुवेदीले समापोन समारोहमा स्वागत मन्तव्य राखेका थिए भने उवासंघ चितवनका कार्यकारी निर्देशक निल केसीले कार्यक्रम सञ्चालन गरेका थिए ।
    महोत्सवको समापन समारोहमा महोत्सवमा उत्कृष्ट प्रदर्शक, उवासंघका पूर्व अध्यक्ष, महोत्सव मुल समिति भित्रका उत्कृष्ट कार्यसम्पादन गर्ने उपसमिति संयोजकहरुलाई सम्मान समेत गरिएको थियो ।

  • १५ औं संस्करणको चितवन महोत्सव पौष २५ गते देखि

    भरतपुर । चितवनमा यहि पौष २५ देखि माघ १० गतेसम्म नारायणी नदि किनारमा १५ औं चितवन महोत्सव २०८१ हुने भएको छ ।

    चितवनको गौरव र गरिमामय प्रस्तुती नाम दिएर हुँदै आएको चितवन महोत्सव नारायणी नदी किनारमा हुने आयोजक उद्योग वाणिज्य संघ चितवनले बिहीबार नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ ।

    प्रत्येक २/२ वर्षमा हुँदै आएको महोत्सवले जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथसाथै व्यवसायको प्रवर्द्धनमा टेवा दिने उद्देश्यले आयोजना गरिने महोत्सवमा पुर्‍याउदै चितवनको गरिमा र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने उद्देश्यले आयोजना गरिने यसपटकको महोत्सवमा ४३० स्टल रहने उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिए ।

    महोत्सवको टिकट शुल्क सर्वसाधारण लागि १०० र विद्यार्थीका लागि ५० रुपैँया तोकिएको छ । त्यस्तै टिकट भौतिक रुपमा र अनलाइनबाट समेत पनि खरिद गर्ने व्यवस्था रहेको आन्तरिक तथा वाह्य पर्यटकसहित करिब ५ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने अपेक्षा आयोजक समितिको रहेको छ भने १५ दिनको अवधिमा करिब ३० करोड भन्दा माथिको कारोवार हुने अनुमान गरिएको छ । मन्दीका कारण विक्षिप्त बनेको आर्थिक क्षेत्रलाई यस वर्षको महोत्सवले थप उर्जा दिने अपेक्षा गरिएको उनले बताएका छन् ।

    परम्परागत खानाको प्रवर्द्धनका लागि विगतका महोत्सवहरूमा सञ्चालन हुँदै आएको फुड फेस्टिभललाई यस वर्ष पनि निरन्तरता दिएर पौष २८ देखी माघ ७ गतेसम्म नारायणगढ कै क्याम्पाचौर सञ्चालन गर्ने कार्यक्रम रहेको अध्यक्ष श्रेष्ठले बताए ।

    महोत्सव परिसरमा हुन सक्ने दुर्घटना तथा विपद्लाई मध्यनजर गर्दै महोत्सव अवधीभर एम्बुलेन्सको व्यवस्था, उद्धार टोलीको व्यवस्था, प्राथमिक उपचार केन्द्र, प्रत्येक दिन स्वास्थ्य शिविर, निशुल्क स्वास्थ्य परिक्षण लगायतका कार्यक्रमहरु आयोजना गरिने अध्यक्ष श्रेष्ठले बताए ।

  • गण्डकी प्रदेश महोत्सवमा रचना रिमालको दमदार प्रस्तुती

    गैँडाकोट- नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा सञ्चालन भइरहेको गण्डकी प्रदेश महोत्सवमा दर्शकहरुको उल्लेख्य उपस्थिति देखिएको छ । बिहीबार साँझ दर्शकको उपस्थिति बक्लिएको थियो । आयोजक संस्था नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले बिहीबार साँझसम्म पनि टिकट काटेर महोत्सवस्थलमा दर्शक आउने क्रम जारी रहेको बताउनुभयो । महोत्सवमा आज कलाकार रचना रिमालको सांगीतिक प्रस्तुती रहेका कारण साँझसम्म पनि दर्शकहरुको उपस्थिति रहेको उहाँले बताउनुभयो ।

    कलाकार रचना रिमाल साँझ ६ बजेतिर स्टेजमा उक्लिएर गीत सांगीतिक प्रस्तुती राखेकी थिइन् । उनले फोटो फिरिममा, सम्झिने पानी छम्किने, मिनिरल वाटर, उनको प्रिति पहिले हो कि मेरो प्रिति पहिलेलगायतका चर्चित गीतहरु गाएर दर्शकलाई मनोरञ्जन दिएकी थिइन् । आज महोत्सवमा दीपक खड्का, यम आले मगर, सञ्जिव सिंह रानासहित स्थानीय कलाकारले प्रस्तुती राखेका थिए ।

    आजको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य बिनु रायमाझी पौडेल प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो । कार्यक्रममा उद्घाटन मन्तव्य राख्दै उहाँले स्थानीय स्तरमा हुने महोत्सवको प्रचारप्रसार र प्रवद्र्धन गर्नुपर्ने उहाँले बताउनुभयो । स्थानीय महोत्सवले अर्थतन्त्र चलाएमान बनाउन मद्दत गर्ने हुँदा स्थानीय उत्पादनलाई प्राथमिकता दिनसमेत उहाँले सुझाव दिनुभयो ।

    भोलि शुक्रबारको सांस्कृतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको प्रस्तुती रहने सांस्कृतिक कार्यक्रम सहसंयोजक किशोर लम्सालले जानकारी दिनुभयो । शर्माको साथमा अन्य स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुती रहने उहाँको भनाइ छ ।
    दोस्रो संस्करणको यस महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृङ्गारका सामानलगायतका तीन सयभन्दा बढी स्टलहरु रहेका मूल संयोजक भट्टचनले जानकारी दिनुभयो ।

    सिङ्गो गण्डकी प्रदेशलाई मेलामार्फत जोड्न तथा पर्यटन प्रवद्र्धन गर्नका लागि यो महोत्सव आफैमा महत्वपूर्ण भएको उहाँको दाबी छ । कात्तिक २६ गते सुरु भएको महोत्सव मङ्सिर १० गतेसम्म सञ्चालन हुनेछ । एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सव प्रवेशका लागि रु ८० तथा विद्यार्थीको लागि रु ५० को टिकट एवम् ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । रु ८० को टिकट काटेर महोत्सव अवलोकन गर्ने दर्शकहरुलाई मौलाकाली केबलकारको टिकटमा ५० प्रतिशत छुट दिइनेसमेत उहाँको भनाइ छ ।

  • गण्डकी प्रदेश महोत्सवको तयारी पूरा, आज मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्दै

    गैँडाकोट- नारायणी नदीकिनारमा सञ्चालन हुने ‘दोस्रो गण्डकी प्रदेश महोत्सव–२०८१’ को तयारी सकिएको छ । आज कात्तिक २६ देखि नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको आयोजनामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा महोत्सव हुँदैछ ।

    महोत्सव मूल समिति संयोजक एवम् आयोजक संस्थाका अध्यक्ष अमृत भट्टचनले महोत्सवको तयारी आइतबार साँझसम्म ९९ प्रतिशत पूरा भएको बताए । महोत्सवको आन्तरिक सुरक्षाका लागि निजी कम्पनीका सुरक्षाकर्मी परिचालन गरिनुका साथै सिसी क्यामेराबाट निगरानी भइरहेको छ ।

    यसपटकको महोत्सवमा नेपालमै पहिलोपटक ‘अन्डरवाटर फिस टनेल’ राखिने भएको छ यसले दर्शकहरुलाई नौलो स्वाद पस्किने छ । आज उद्घाटन हुने महोत्सवको शोभायात्रामा तीन सय भन्दा बढी संघसंस्थाहरुबाट पाँच हजार भन्दा बढी मानिसको सहभागिता रहने छ ।

    गैँडाकोट नगरपालिकाबाट सुरु हुने शोभायात्रा नगरको विभिन्न भाग हुँदै महोत्सव स्थल नारायणी नदी किनारमा पुगेर सकिने छ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार दिउँसो महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ ।

    महोत्सवमा थारु, तामाङ, गुरुङ, चेपाङ र मगरको संस्कृतिबारे जानकारी दिन उनीहरुको छुट्टाछुट्टै सांस्कृतिक घर निर्माण गरी उनीहरुले प्रयोग गर्ने परम्परागत सामग्री राखिएको छ । तीन सय स्टल रहने महोत्सवमा कृषि उत्पादनका लागि ५० वटा स्टल निःशुल्क प्रवद्र्धन गरिएको छ ।

    महोत्सवको व्यवस्थापन राजधानी एम्युजमेन्ट राइट्स नेपालले गरेको छ । व्यवस्थापन संस्थाले महोत्सव परिसरभित्र दुई सय फिट लम्बाइ तथा ६० फिट चौडाइ भएको टनेल निर्माण गरी विभिन्न प्रकारका माछा राखेर हेर्ने व्यवस्था गर्न लागिएको व्यवस्थापक अभय चौधरीले बताए ।

    “यो टनेल हेर्नका लागि नेपालबाट बर्सेनि धेरै मान्छेहरु दुबई जाने गरेका छन्” चौधरीले भने, “दुबईमा देख्न पाइने टनेलको माछा अब गैँडकोटमा सञ्चालन हुने महोत्सवमा देख्न पाइन्छ, यो नेपालमै पहिलो र एकमात्रै प्रविधि हो ।” टनेलभित्र पानीमा राखिने माछाको लम्बाइ ६ फिटसम्मको हुने भन्दै चौधरीले ती माछाहरु चीनबाट ल्याइएका तथा विभिन्न रङ्ग र आकारका भएका बताए ।

    टनेलभित्र एकैपटक पाँच सय जना मान्छे प्रवेश गरेर माछा हेर्ने व्यवस्था गर्न डोम निर्माण भइरहेको छ । “अहिले धमाधम टनेल निर्माणको गर्ने काम भइरहेको छ ।” दोस्रो संस्करणको महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृङ्गारका सामानलगायतका तीन सयभन्दा बढी स्टलहरु रहने छ ।

    महोत्सवमार्फत नवलपुरका पर्यटकीय क्षेत्रको प्रवद्र्धनसँगै सम्भावनाको खोजी गरिने, नवलपुरको त्रिवेणीधामदेखि पोखरा हुँदै मुक्तिनाथ मन्दिरसम्मको धार्मिक पर्यटकीय करिडोरको प्रचारप्रसार गर्ने, त्रिवेणी–कोरला राजमार्गको दिगो सञ्चालन, दुवै ठाउँमा अन्तर्राष्ट्रियस्तरको भन्सार कार्यालय स्थापनाका लागि सरोकारवालाई ध्यानाकर्षण गराउनु मेलाको प्रमुख उद्देश्य रहेको छ। मङ्सिर १० गतेसम्म सञ्चालन हुने महोत्सवमा रु एक करोड ७० लाखको कारोबार हुने तथा रु ३० लाख बचत हुने अनुमान गरिएको छ ।

    एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सव प्रवेशका लागि रु ८० तथा विद्यार्थीको लागि रु ५० को टिकट एवम् ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । रु ८० को टिकट काटेर महोत्सव अवलोकन गर्ने दर्शकहरुलाई मौलाकाली केबलकारको टिकटमा ५० प्रतिशत छुट दिइने छ ।

  • गण्डकी महोत्सवमा नेपालमै पहिलोपटक ‘अन्डरवाटर फिस टनेल’ राखिने

    गैँडाकोट, २२ मंसिर । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको आयोजनामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालन हुन लागेको महोत्सवमा नेपालमा पहिलोपटक ‘अन्डरवाटर फिस टनेल’ राखिने भएको छ ।

    गैँडाकोट–२ स्थित नारायणी नदीकिनारमा कात्तिक २६ देखि सञ्चालन हुने ‘दोस्रो गण्डकी प्रदेश महोत्सव–२०८१’ मा नेपालमै पहिलोपटक पानी भरिएको टनेलभित्र गएर माछा हेर्ने व्यवस्था गर्न लागिएको हो ।

    महोत्सव स्थलमा ६० फिट चौडाइ तथा दुई सय फिट लम्बाइ भएको टनेलमा विभिन्न प्रकारका माछा राखेर टनेलबाट हेर्ने व्यवस्था गर्न लागिएको राजधानी एम्युजमेन्ट राइट्स नेपालका व्यवस्थापक अभय चौधरीले जानकारी दिए ।

    टनेलभित्र पानीमा राखिने माछा ६ फिटसम्मको हुने भन्दै चौधरीले ती माछाहरु चाइनाबाट ल्याइएका तथा विभिन्न रङ्ग र आकारका भएका बताए  । टनेलभित्र एकैपटक पाँच सय जना मान्छे प्रवेश गरेर माछा हेर्ने व्यवस्था गर्न लागिएको उनले बताए ।

    दोस्रो संस्करणको महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृङ्गारका सामानलगायतका तीन सय बढी स्टलहरु रहने महोत्सवका मूल संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले जानकारी दिए ।

    अहिले महोत्सव स्थलमा धमाधम स्टल निर्माण, विभिन्न जातजातिको सांस्कृतिक घर निर्माणलगायतका कामहरु भइरहेको भट्टचनले बताए । सिङ्गो गण्डकी प्रदेशलाई मेलामार्फत जोड्न तथा पर्यटन प्रवद्र्धन गर्नका लागि यो महोत्सव आफैमा महत्वपूर्ण भएको उनले दाबि गरे ।

    कात्तिक २६ गते सुरु भएर मङ्सिर १० गतेसम्म सञ्चालन हुने महोत्सवमा रु एक करोड ७० लाखको कारोबार हुने तथा रु ३० लाख बचत हुने अनुमान गरिएको मूल संयोजक भट्टचनको भनाइ छ ।