Home Blog Page 110

इजरायल-हमास सहमतिको संकेत !

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासले गाजाबाट बन्धकहरूलाई रिहा गर्ने शर्तमा आक्रमण रोक्ने सम्झौतामा चाँडै सहमति हुनसक्ने संकेत गरेका छन् ।

तर ह्वाइट हाउसले गाजामा बन्दीहरूलाई सुरक्षित रिहाइको लागि वार्ता अघि बढाएको बताए पनि टुंगो भने नलागेको समाचारमा उल्लेख छ । रेडक्रसको अन्तर्राष्ट्रिय समिति आईसीआरसीका प्रमुखले हमाससंग भेट गर्ने तय भएपछि सम्झौताको आशा भने बढाएको छ ।

आईसीआरसीले अघिल्लो सम्झौताहरू सहज बनाउन मद्दत गरेको छ । गाजाको घेराबन्दीमा रहेको अल-शिफा अस्पतालबाट २८ जना समयपूर्व जन्मिएका शिशुहरूलाई इजिप्ट प्रवेश गराईएको र १२ जनालाई थप उपचारका लागि कायरो लगिएको समाचार छ ।

यसअघि गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले विभिन्न अस्पतालमा इजरायली हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको बताएको थियो । इजरायलले भने अस्पतालतर्फ प्रहार नगरेको जनाएको छ ।

गाजामा इजरायलले हमासविरुद्धको अभियान सुरु गरेदेखि १३ हजार ३ सय मानिस मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अक्टोबर ७ मा हमासका लडाकुहरूले गरेको आक्रमणमा १ हजार २ सय इजरायलीहरूको मृत्यु भएको छ भने २०० भन्दा बढीलाई बन्धक बनाएको छ । बन्धक बनाएका मध्ये केहीको शव प्राप्त भएको छ ।

https://ujyaalonepalnews.com/archives/33270

पोखरामा १८ करोड लागतमा बौद्ध गुम्बा निर्माण

कास्की- गण्डकी प्रदेश प्रमुख पृथ्वीमान् गुरुङले भगवान् गौतम बुद्धले प्रतिपादन गर्नुभएका पञ्चशिल तथा आर्य सत्यहरुलाई आत्मसात गर्न सके विश्वमा शान्ति छाउने बताउनुभएको छ ।

हिजो पोखरा रामघाटस्थित नवनिर्मित बौद्ध गुम्बा भवनको उद्घाटन गर्नुहुँदै प्रदेश प्रमुख गुरुङले गण्डकी प्रदेश गुरुङ कला संस्कृतिको उद्गमस्थल भएको दावी पनि गर्नुभयो ।

उहाँले सास्कृतिक एकतामा जोड दिनुहुँदै हिजोआज नेपाल लगायत अन्य देशमा पनि गुरुङ सस्कृतिको अध्ययनमा चासो बढेको औँल्याउनुभयो ।

त्यस अवसरमा प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङ, तमु धि नेपालका केन्द्रीय अध्यक्ष हुमबहादुर गुरुङ, बौद्ध अर्घौ सदनका अध्यक्ष भुवनसिंह गुरुङ लगायतले पनि धारणा राख्नुहुँदै पोखरामा व्यवस्थित अर्घौ स्थल आवश्यक रहेकोमा गुम्बा निर्माणसँगै उक्त आवश्यकता पुरा हुने विश्वास व्यक्त गर्नुभयो ।

बौद्ध अर्घौ सदन परिषद्मा निर्माण भएको तीन तले उक्त गुम्बाको लागत रु. १७ करोड ९६ लाख छ । नवनिर्मित गुम्बाको भुईतलामा पाँच सय जना क्षमताको बहुउद्देश्यीय सभाकक्ष निर्माण गरिएको छ ।

पहिलो तलालाई पूजा हलका रुपमा विकास गरिएकोमा त्यहाँ भगवान् बुद्धको विशाल मुर्तिका अलवा चेन्रोसिग तथा गुरु पध्मसम्भवको शालिक राखिएको छ ।

पूजा हलकै भित्तामा हजार संख्यामा बुद्धका स–साना मुर्ति जडान गरिएको छ भने बुद्धको जीवन लीलामा आधारित विभिन्न आकृतिका चित्र पनि कोरिएको छ ।

गुम्बाको दोस्रो तलालाई मिनी आर्ट ग्यालरी (संग्राहालय), पुस्तकालय, अतिथिगृह वा कक्ष तथा अन्तिममा मुख्य गुरुसँग भेटघाट कक्ष निर्माण भएको छ ।

कार्यक्रमका बीच निर्माणमा रु.२४ लाख ३९ हजार दान गर्नुहुने क्या.यमबहादुर गुरुङको परिवार, विभिन्न क्षत्रीय तमु समाज सहित ५ लाख बढी दान गर्नुहुने करिव एक सय ५० व्यक्ति एवम् संघसंस्थालाई सम्मान गरिएको छ ।

https://ujyaalonepalnews.com/archives/33268

शान्ति सम्झौतामा हस्ताक्षर भएको आज १७ वर्ष पूरा, द्वन्द्वपीडित अझै न्यायको पर्खाइमा

काठमाडौं- नेपालमा चलेको दशवर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष पूरा भएको छ । तर द्वन्द्वमा प्रत्यक्ष प्रभावित भएका पीडितले अहिलेसम्म न्याय पाउन सकेका छैनन् ।

नेपाल सरकारका तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विसं २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।

यो सम्झौतासँगै दसवर्षे सशस्त्र सङ्घर्ष अन्त्यको घोषणा भएको थियो । शान्ति सम्झौतापछि देशमा राजनीतिक परिवर्तन भयो । हतियार व्यवस्थापन तथा तत्कालीन माओवादी लडाकु व्यवस्थापनजस्ता महत्वपूर्ण काम पूरा भए । तर यतिका वर्षसम्म पनि द्वन्द्वपीडितले न्याय र पीडकले सजाय पाएका छैनन् ।

नेपालको संविधानअनुसार दुई वर्षभित्र पूरा गर्ने भनिएको सङ्क्रमणकालीन न्याय यतिका वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन ।

सशस्त्र द्वन्द्वका क्रममा मानवअधिकार उल्लङ्घन तथा मानवताविरुद्धका अपराधमा संलग्नका बारेमा सत्य तथ्य अन्वेषण गर्न र समाजमा मेलमिलापको वातावरण निर्माण गर्न उच्चस्तरीय सत्य निरूपण तथा मेलमिलाप आयोग त गठन भए तर दुवै आयोग पदाधिकारीबिहीन छन् ।

सत्यनिरुपण तथा मेलमिलाप आयोगमा हालसम्म ६३ हजार बढी उजुरी दर्ता भएका छन् । आयोगले द्वन्द्वपीडित परिचयपत्र उपलब्ध गराउने र पीडितलाई परिपूरणको फाराम भराउने र परिपूरणको सिफारिस गर्ने काम प्रारम्भ गरे पनि पदाधिकारी नहुँदा काम अघि बढ्न सकेको छैन ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा तीन हजार बढी उजुरीमध्ये परेका छन् । सङ्क्रमणकालीन न्यायका लागि बनेका दुबै आयोगको ऐन संशोधनका क्रममा प्रतिनिधिसभाको कानुन तथा मानव अधिकार समितिमा रहेको छ ।

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउन राजनीतिक दल र सरकारले ठोस कदम चाल्न जरुरी भएको सरोकारवालाहरुको भनाइ छ ।

https://ujyaalonepalnews.com/archives/33267

आन्तरिक पर्यटकको केन्द्र बन्दै भक्तपुरको ‘बोजीनी ड्याम’

भक्तपुर- भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ८ स्थित बोजीनी जलाशययुक्त ड्याम अहिले आन्तरिक पर्यटकका लागि केन्द्र बन्दै गएको छ ।

उपत्यकाको उत्तरपूर्वी चुचुरो, घना जंगलको बीचमा रहेको यो ड्याम अहिले पिकनिक जानेहरुका लागि प्रमुख रोजाइको केन्द्र बनेको छ । पर्यटकको चहलपह बढेसँगै स्थानीयको आयआर्जनमा समेत टेवा पुगेको छ ।

चिसो मौसम सुरुभएसँगै यो पर्यटकीय स्थलमा घुम्न जानेहरुको चहलपहल बढेको हो । स्वच्छ हावा, सफा पानी र रमणीय वातावरण भएकाले यहाँ पैदल, हाइकिङ्ग र बस रिजर्व गरेर आउन थालेका छन् ।

होटलमा बस्नका लागि मात्रै पर्यटक नआउने भएकाले हाइकिङ्ग, सहासिक यात्रालगायत मनोरञ्जनका लागि पनि पर्यटक यहाँ आउने गरेको हास्य कलाकार मनोज गजुरेल बताउनु हुन्छ ।

बोजीनी जलाशयका रुपमा रहेको यो ड्याममा परिवारका अन्य सदस्यसहित गजुरेल परिवार यहाँ पुगेका हुन् । पीकनिक जानका लागि आजभोलि युवा युवाती मात्रै होइन, सबै उमेर समूहको लोकप्रिय गन्तव्य बन्दै गएको छ ।

बिदाको दिनमा ड्याम क्षेत्रमा थामीनसक्नु पर्यटकको घुइँचो लाग्ने स्थानीय बताउँछन् । उपत्यका नजिकैको रमणीय स्थल र उचाइमा रहेको ड्याम हेर्नकै लागि यहाँ पुगेको आन्तरिक पर्यटकको बताउँछन् ।

एशियाकै दोस्रो लामो जीपलाइन पनि यसै क्षेत्रमा संचालित छ । २ हजार २ सय ५० मिटर लामो जिपलाइन व्यवसायिक रुपमा संचालनमा आएपछि दैनिक सयौंको संख्यामा यहाँ पर्यटक आउन थालेका छन् । पर्यटक आउन थालेपछि स्थानीयको व्यापार व्यवसाय पनि फस्टाएको छ ।

लामो समय खाडीमुलुकमा बसेर आफ्नै देशमा केही गरौं भन्ने उदेश्यले जीपलाइनबाट रोजगारी सिर्जना गरेको जीपलाइन सञ्चालक प्रेम बस्नेतले बताउनुभयो । राजधानी नजिकैको पर्यटकीय गन्तव्यमा पर्यटकहरुको आवागमन बढ्दा स्थानीय पर्यटन व्यवसायीहरु भने अर्थतन्त्रमा सुधार आउने आशामा छन् ।

https://ujyaalonepalnews.com/archives/33261

‘टिकटक चलेको भए खबर गरौँ’

काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक प्रयोग/पहुँच भइरहेको पाइएमा सोको खबर गर्न आग्रह गरेको छ । नेपाल सरकारले सामाजिक सद्भावमा असर परेको भन्दै प्रतिबन्ध लगाएपछि दूरसञ्चारले उक्त निर्णय कार्यान्वयन गराएको हो ।

नेपालमा अझै पनि टिकटक प्रयोग भइरहेको हुनसक्ने भन्दै प्राधिकरणले त्यस्तो भेटिए खबर गर्न एक सार्वजनिक सूचना जारी गरेको हो ।

सरकारको निर्णय कार्यान्वयनका लागि सबै इन्टरनेट सेवा प्रदायक र मोवाइल सेवा प्रदायकलाई पत्र पठाएर टिकटक बन्द गर्न निर्देशन दिएको थियो ।

टिकटकमा पहुँच पुगेको भए टिकटक चलिरहेको वा प्रयोग भइरहेको भए प्राधिकरणको इमेल ठेगाना content@nta.gov.np मा इमेल गरी त्यस्तो कम्पनीका बारेमा जानकारी गराउन हुन इन्टरनेट सेवाग्राहीहरुलाई उक्त सूचनामार्फत अनुरोध गरिएको छ ।

https://ujyaalonepalnews.com/archives/33260

दाङमा दाजुभाइ मृत फेला

दाङ- दाङमा एकै घरका दाजुभाइ मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र भाइ ३० वर्षीय टेकबहादुर बस्नेत मृत फेला परेका हुन् ।

उनीहरु बस्ने घरमा घरबेटी बस्दैनथे । मृतक पूर्णबहादुर परिवारका साइला र टेकबहादुर कान्छा सन्तान रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ठाकुरप्रशाद पोखरेलले बताउनुभयो ।

मृतक टेकबहादुरकी श्रीमती रुकुम पश्चिमस्थित माइतीमा गएकाले उनी फर्केपछि मात्रै शव निकाल्ने प्रहरीको भनाइ छ । मङ्गलबार मात्रै शव निकालेर शव परीक्षण गरेपछि घटनाका बारेमा विस्तृत विवरण आउने प्रहरी नायब उपरीक्षक पोखरेलको भनाइ छ ।

https://ujyaalonepalnews.com/archives/33259

अर्थतन्त्र थप चलायमान बनाउन सरकारले निजी क्षेत्रसँग सुझाव लिने

काठमाडौँ- मुलुकको समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनका थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले निजी क्षेत्रसँग सुझाव, सल्लाह लिने भएको छ ।

अर्थतन्त्रको अहिलेको अवस्था र अबको दिशाबारे जानकारी लिन सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थसहित विभिन्न मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायत निकायसँग छलफल गर्नुभएको थियो ।

यही विषयमा आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा निजी क्षेत्रसँग पनि छलफल गरिने अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो । देशको वर्तमान अर्थतन्त्रबारे छलफल गर्न सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

“आन्तरिक संरचनामा के उपलब्धि भयो, वर्तमान समस्या र चुनौती तथा आगामी कार्यदिशा के लिएर अगाडि बढ्दैछौँ भन्ने विषयमा निजी क्षेत्रको पनि सुझाव लिन लागिएका हौँ”, अर्थमन्त्री डा महतले भन्नुभयो ।

आजको बैठकमा देशको अर्थतन्त्रबारे आफूले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको र त्यसपछि राष्ट्र बैंकका गर्भनर र राष्ट्रिय योजना आयोगका प्रतिनिधिले पनि आफ्ना कुरा राखेको महतले बताउनुभयो । अर्थतन्त्र क्रमशः सुधारोन्मुख रहेको उहाँको भनाइ छ ।

“समग्रमा हाम्रो अर्थतन्त्रले लय पक्रँदै गरेको छ, विप्रेषण, पर्यटक आगामन र शोधान्तरको स्थितिले हामी राम्रो अवस्थामा छौँ”, उहाँले भन्नुभयो, “कारोबार कम भइरहेको, उत्पादन कम, लगानी वृद्धि नभइरहेको अवस्था छ, यस विषयमा पनि समीक्षा भयो । जग्गा कारोबार, बैंकबाट कर्जा प्रवाह बढेको र गत वर्षको तुलनामा पूँजीगत खर्च पनि बढेको र साधारण खर्चमा मितव्ययी भएको छ । लक्ष्यअनुसार हामीले उपलब्धि हासिल गरिरहेका छौँ ।”

रोजगारीका अवसर वृद्धि गर्ने विषयमा पनि छलफल भएको अर्थमन्त्री डा महतले बताउनुभयो । त्यस्तै सहकारी र लघु वित्तको नियमन अभावले समस्या आएको विषयमा पनि छलफल भएको थियो ।

बैंक तथा वित्तीय संस्थाको ऋण उठाउने प्रक्रिया विषय कसरी सहज बनाउन सकिन्छ र कति समय थप्न सकिन्छ भन्ने विषयमा राष्ट्र बैंकले के गर्न सक्छ भन्ने विषयमा छलफल भएको मन्त्री डा महतले बताउनुभयो ।

बजेट कार्यान्वयनको चुनौतीलाई सरकारका सबै संयन्त्रले एक लयमा छिटो छरितोसँग परिणाम देखाउने गरी काम गर्ने विषय र जनताका सरोकारका विषयलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको जनाएको छ ।

बैठकमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक र विकाससँग सरोकार राख्ने मन्त्रालयका मन्त्री र सचिव तथा अन्य सम्बन्धित पदाधिकारीको उपस्थिति थियो ।

https://ujyaalonepalnews.com/archives/33258

जोखिममा परेका नागरिकको संरक्षणका लागि अब छुटैं कानुन बन्छ : प्रधानमन्त्री 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेवारिसे, असहाय, अनाथ, अशक्त, जोखिममा परेका सहयोगापेक्षी सडक आश्रित मानवको समुचित व्यवस्थापन गर्न कानुन तर्जुमा गर्ने बताउनुभएको छ । उहाँले सङ्घीय संसद्को आगामी अधिवेशनमा सरकारले सो सम्बन्धी विधेयक तयार गरी पेस गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मानव सेवा आश्रमले आज यहाँ आयोजना गरेको ‘मेची महाकाली राष्ट्रिय उद्धार यात्रा २०८०’को समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अनाथ, अशक्त, जोखिममा परेका नागरिकको संरक्षणका लागि कानुन नै बनाएर कार्यान्वयन गरिने बताउनुभयो ।

यस्तै, सङ्घ, प्रदेश र स्थानीय सरकारले सहयोगापेक्षी सडक मानव व्यवस्थापन गर्न आ–आफ्नो तहबाट कार्यक्रम तथा बजेट विनियोजन गर्न आवश्यक पहल तथा समन्वय गर्ने प्रधानमन्त्री दाहालले विश्वास दिलाउनुभयो ।

मानव सेवा आश्रमलाई सरकारी तथा सार्वजनिक जग्गा, भवनको प्रयोग तथा संरचना निर्माण, उद्धार वाहनलगायत अत्यावश्यक सेवामा आवश्यक सहयोग गर्न नेपाल सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्न तथा सरकारले घोषणा गरेको नीतिको प्रभावकारी कार्यान्वयन गर्न एक महिनाभित्र नेपाल सरकारको मन्त्रिपरिषद्बाट निश्चित कार्ययोजना स्वीकृत गरी अघि बढ्ने गरी पहल लिने विश्वास दिलाउँछु ।”

मानव सेवाको भावनाद्वारा ओतप्रोत भई आश्रमले निर्वाह गरेको भूमिकाको उच्च सम्मान गर्दै प्रधानमन्त्री दाहालले  यस महाअभियानको सफलताको कामना गर्नुभयो ।

सातवटै प्रदेशमा आफ्नो शाखा तथा सेवा केन्द्रहरु सञ्चालन गरी खुला आकाशमुनि रहेका सात हजारभन्दा बढी सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार, पालनपोषण तथा परिवार भेटिएका वा भेटिन सम्भव नभएकाको परिवारको खोजी गरी परिवारमा पुनर्मिलन गराएको प्रधानमन्त्रीको भनाइ छ ।

यस्तै, आश्रममा उद्धार, उपचार, गाँसबासको प्रबन्ध गर्दै देशलाई नै सडक मानवमुक्त नेपाल घोषणा गर्ने आश्रमको आकाङ्क्षा, सङ्कल्प र पहललाई प्रधानमन्त्रीले सम्मान व्यक्त गर्नुभयो । “मुठ्ठीदान, जन्मदिन, विवाह वर्षगाँठ, उत्सव, वार्षिकोत्सव, पदोन्नति, विभिन्न पर्व र मानव सेवाको भावनाद्वारा ओतप्रोत जनसमुदायको सहयोगबाट देशैभरि यति धेरै संरचना, सहयोगापेक्षी नागरिकको उद्धार, उपचार र जीविकोपार्जन र अभियन्ता परिचालन गर्नुभएको जानकारी पाउँदा म निकै हर्षित भएको छु,” प्रधानमन्त्रीले भन्नुभयो ।

राज्यले नै गर्नुपर्ने यस प्रकारको महत्त्वपूर्ण अभियान र जिम्मेवारी बहनका लागि यस अभियानमा संलग्नलाई आभार व्यक्त गर्दै प्रधानमन्त्रीले यो अभियानमा सरकार साथमा रहेको विश्वास दिलाउनुभयो ।

“यति कष्टसाध्य काम पनि खुला हृदयका साथ, निरन्तर र अविचलित रुपमा सञ्चालन गर्नुभएको कुरा हामी सबैका निम्ति थप प्रेरणादायी छ । यस सन्दर्भमा महाअभियानमा अविचलित रुपमा क्रियाशील हुनका लागिसमेत सबै अभियन्ताहरुमा विशेष अपिल गर्दछु,” प्रधानमन्त्रीले भन्नुभयो ।

कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल, गायिका आनी छोइङ डोल्मा, हास्यकलाकार मनोज गजुरेल लगायतको उपस्थिति थियो ।

गत असोज २६ गतेदेखि यही ३ गतेसम्म भएको मेची महाकाली राष्ट्रिय उद्धार यात्रा देशका प्रमुख सहरहरूमा सञ्चालन गरिएको कार्यक्रममा जानकारी दिइएको थियो । अभियानका क्रममा तीन सय सहयोगापेक्षी सडक आश्रित मानको उद्धार गरी उनीहरुको मानवोचित व्यवस्थापन गरिएको थियो ।

https://ujyaalonepalnews.com/archives/33257

पाल्पामा च्याउ खेतीतर्फ युवाहरुको आकर्षण बढ्दो

पाल्पा – च्याउ खेतीबाट मनज्ञ आम्दानी गर्न सकिने भएपछि पाल्पामा युवाहरुको च्याउ खेतीमा आकर्षण बढ्दै गएको छ ।

१०,१२ वर्ष अघिसम्म पाल्पामा च्याउ खेती नहुँदा भारतबाट आयातित च्याउ खानपर्ने बाध्यता थियो । हिजो आज प्रसस्त च्याउ उत्पादन भएपछि पाल्पाबाट च्याउ निर्यात हुने गरेको छ ।

पाल्पामा च्याउ खेतीको सुरुवात केशव कार्कीले गरेका हुन् । च्याउ खेतीबाट उनले प्रसस्त आम्दानी गरेपछि गाउँका युवाहरुलाई समेत उनले तालिम दिदै आएका छन् ।  अहिले कार्कीले १० वटा स्थानिय तहमा ५ सय युवाहरुलाई च्याउ खेती उद्यमी बनाउने लक्ष्य राख्दै गाउँ गाउँका युवालाई च्याउ उत्पादन गराउने अभियानमा लागेका छन् ।

कार्कीले च्याउ खेती बाट वर्षमा ८, १० लाख सजिलै आम्दानी गरेकाले विदेशीएका युवालाई समेत यो खेती बाट आकर्षण गर्ने अभियानमा लागेका हुन् । १५ वर्षसम्म वैदेशीक रोजगारमा काम गरेर फर्केका पाल्पाका राजु विष्टले पनि कार्कीकै प्रेरणाबाट वर्षको ७ लाख रुपैया कमाउन थालेको बताउछन् ।

कटुस, उत्तीस, र जामनको काठको मुढामा प्वाल पारेर उत्पादन गरिने सिताके च्याउ सबै भन्दा महंगो मानिन्छ । यसको मुल्य ठाउँ अनुसार प्रतिकिलो १ हजार रुपैया सम्ममा बिक्ने गर्दछ । पाल्पामा अहिले किसानहरु सिताकेका साथै कन्ये र गुवाली च्याउ खेती गर्ने गर्दछन् । पाल्पामा उत्पादित च्याउ बुटवल, पोखरा, काठमाडौं, लगाएत भारतको दिल्ली सम्म पुग्ने गरेको केशव कार्की बताउनुहुन्छ ।

च्याउ स्वास्थ्यको लागि राम्रो मानिएकाले मासुको विकल्पको रुपमा पनि प्रयोग गर्न थालिएको छ ।

https://ujyaalonepalnews.com/archives/33256

बुटवलमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

बुटवल रुपन्देहीमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यू भएको छ । दुर्घटनामा परि रुपन्देही शंखनगर निवासी माधव देवकोटा र एकजना महिलाको मृत्यु भएको हो । तिलोत्तमा नगरपालिकाको ड्राईभरटोलमा ट्रकले मोटरसाइलाई ठक्कर दिदा दुवै जनाको घटना स्थलमा ज्यान गएको हो ।

ना ६ ख ८१६१ ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको र मृतक महिलाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

लु ४९ प २२३० नम्वरको मोटरसाईकलमा तिलोत्तमा उद्योग बाणिज्य संघलले मणिग्राममा आयोजना गरेको मेलातर्फ जादै गरेका स्थानीयले बताएका छन् ।

तिलोत्तमामा रहेको तिलोत्तमा सहकारीका अध्यक्ष रहेका देवकोटा सहकारी संघका केन्द्रिय सदस्य एवं राष्टिय सहकारी बैकका सन्चालक हुन्।

https://ujyaalonepalnews.com/archives/33255