Home Blog Page 113

भूकम्पप्रभावित जिल्लामा टेलिकमको नमुना सेवा

जाजरकोट– नेपाल टेलिकमले भूकम्प प्रभावित जाजरकोट र रुकुम–पश्चिमसहित १९ जिल्लालाई नमुना दूरसञ्चारयुक्त जिल्ला कायम गर्ने घोषणा गरेसँगै टेलिकमको उच्च नेतृत्व आज जाजरकोट पुगेको छ ।

प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालको नेतृत्वमा आएको टेलिकमको टोलीले जिल्लाका सरोकारवाला निकायसँग भेटवार्ता गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निर्देशनमा नेपाल टेलिकमले चालु आर्थिक वर्षको कार्यक्रममा नमुना जिल्ला कार्यक्रम तय गरेको थियो ।

टेलिकमले नमुना सेवा दिने जिल्लाको सूची सार्वजनिक गरेको छोटो समयमै निर्देशक पहाडी जाजरकोट पुग्नुभएको हो । भूकम्प प्रभावित जाजरकोट र रुकुम–पश्चिमसहित खोटाङ, मोरङ, उदयपुर, धनुषा, रौतहट, मकवानपुर, सिन्धुली, कास्की, गोरखा, दाङ, गुल्मी, सुर्खेत, जुम्ला, कैलाली, बाजुरा, बर्दिया र रोल्पा रहेका निर्देशक पहाडीले जानकारी दिनुभयो । अत्याधुनिक प्रविधिको प्रयोगसँगै गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले नमुना जिल्ला कायम गर्न थालिएको उहाँको भनाइ थियो ।

जिल्लाका सबै बस्ती, राजमार्ग, पर्यटकीय तथा धार्मिकस्थलमा गुणस्तरीय दूरसञ्चार सेवा प्राविधिक रुपमा सम्भव भएसम्म उपलब्ध गराइने पहाडीले बताउनुभयो । नमुना जिल्लामा निरन्तर गुणस्तरीय सेवा उपलब्धताका लागि प्राविधिक तथा भौगोलिक दृष्टिकोणले सम्भव भएसम्म नवीन प्रविधि र नेटवर्क पूर्वाधार तय गरिने उहाँले बताउनुभयो । जिल्लामा औसत ९० प्रतिशतभन्दा बढी मानव बस्तीमा गुणस्तरीय मोबाइलका साथै एनटी फाइवर सेवा उपलब्ध गराइने उहाँको भनाइ थियो ।

सबैतिर तोकिएकै गुणस्तर र गतिमा सेवा उपलब्ध गराउने गरी अतिरिक्त योजना बनाएर आवश्यक दक्ष जनशक्तिको व्यवस्था गरिने निर्देशक पहाडीलेजानकारी दिनुभयो । भूकम्पबाट धेरै क्षति भएको जाजरकोटबाट नमुना सेवा प्रवाह गर्नेयोजना रहेको उहाँले बताउनुभयो ।

आज भेरी, नलगाड र आठबीसकोट नगरपालिकाका साथै बारेकोट गाउँपालिकामा रहेका टावरको अवलोकनका गर्नुका साथै साथै पालिका प्रमुखसँग भेटघाटको कार्यक्रम रहेको पहाडीले जानकारी दिनुभयो । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत पनि सहभागी हुनुभएको छ

https://ujyaalonepalnews.com/archives/33230

भ्रस्टाचार अन्त्यका लागि सरकार योजनाबद्ध अभियानमा छ : प्रधानमन्त्री

रुकुम – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताको हितमा निरन्तर अभियान सुरु गरिएको बताउनुभएको छ । ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ विशेष रुपान्तरण अभियानअन्तर्गत रुकुम पूर्वको पुथा उत्तरगङ्गामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले भ्रस्टाचारको अन्त्यका लागि सरकारले सार्थक र योजनाबद्ध अभियान चलाएको बताउनुभयो ।

प्रधानमन्त्रीले भूमाफियाकोविरुद्ध अभियान सुरु गरेर हजारौँ जनतालाई राहत प्रदान गरिएको उल्लेख गर्दै त्यसका लागि आम जनताको सार्थक सहयोग जरुरी रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले नियमित रुपमा भइरहेको सुन तस्करी नियन्त्रणका लागि सरकारले अभियान चलाएको र सो मुद्दा हाल अदालतमा विचाराधीन रहेको उल्लेख पार्नुभयो ।

भ्रष्टाचार र तस्करी नियन्त्रणजस्ता देश विरोधी गतिविधिलाई माओवादी नेतृत्वको सरकारले मात्र नियन्त्रण गर्न सक्छ भन्ने तथ्य स्थापित भएकोसमेत प्रधानमन्त्रीको भनाइ छ । तराई–मधेसमा लामो समयसम्म सामन्तवादको अवशेषका रुपमा रहेको मिटरब्याजी विरुद्धमा कानुन बनाएर कारबाही गरी पीडित नागरिकलाई न्याय दिलाएकोसमेत उहाँले उल्लेख गर्नुभयो । वर्तमान सरकारले विकास निर्माणको कामलाई पनि सार्थक रुपमा अगाडि बढाएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले लामो समयदेखि चर्चामा सीमित भएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कामसमेत अगाडि बढेको बताउनुभयो ।

नेपाल र भारतबीचमा रहेको सीमा समस्या समाधान गर्न भारतका प्रधानमन्त्रीसँग कुराकानी भएको समेत प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो । विद्युत् व्यापारमा नयाँ पहल भएको तथा नेपाल र चीनबीच विभिन्न नाका खोल्ने सहमति भएको उहाँको भनाइ छ ।

चीनले हिमाली नाकासँगसम्बन्धी रहेर थुप्रै परियोजना सञ्चालनका लागि सहमति भएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले सोही परियोजना अन्तर्गतको एउटा आयोजना रुकुम पूर्वमा पनि ल्याइने स्पष्ट पार्नुभयो । सो परियोजनाले यस जिल्लाका नागरिकको जीवनस्तरमा सुधार आउने उहाँको भनाइ छ ।

पटकपटक पार्टी विभाजन हुँदा कार्यकर्ता र सहिद तथा घाइते परिवारमा निराश छाएको तथ्य पेस गर्दै नेकपा(माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका उहाँले माओवादी फुटेपछि जनयुद्धमार्फत प्राप्त भएको उपलब्धि हराउँदो रहेछ भन्ने परेकले एकताको विकल्प नभएको बताउनुभयो ।

विगतको जस्तो विभाजित भएर नभइ एकताका साथ अगाडि बढ्ने विषयमा छलफल भएको अध्यक्ष दाहालले जानकारी दिनुभयो । नेकपा महासचिव नेत्रविक्रम चन्दसँग आज बिहान मात्रै छलफल भएको जानकारी दिनुहुँदै उहाँले डा बाबुराम भट्ट्राईसँग पनि निरन्तर संवाद भइरहेको उल्लेख गर्नुभयो ।

माओवादीकै पहलमा सुरु भएको सहिदमार्ग निर्माणका लागि आफूले थप पहल गर्ने प्रधानमन्त्रीको भनाइ छ । यस जिल्लामा रहेको प्राकृतिक स्रोतको अधिकतम उपयोग गरेर समृद्ध बनाउनका लागि आफ्नो ध्यान गएको उहाँले उल्लेख गर्नुभयो ।

https://ujyaalonepalnews.com/archives/33229

छठपर्वको तयारी पूरा, आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइदै

काठमाडौं – छठपर्वको महत्वपूर्ण दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइने छ । वीरगञ्जसहित तराई–मधेशमा अधिकांश पोखरी, ताल तलाउ, खोला र नदी सरसफाइ गरी पूजास्थानलाई दुलही झैंँ सिगारिएको छ । वीरगञ्ज महानगरपालिकाका पोखरीका घाटलाई दुलही झैँ सिगारिएर पूजाको तयारी पूरा गरिएको हो । मिथिलाञ्चलको पौराणिक महत्व बोकेको वीरगञ्जस्थित घडिअडर्वा पोखरी, नगवापोखरी, छपकैया पोखरी, श्रीपुर, रानीघाटसहितको पोखरीलाई छठपूजाका लागि यहाँका स्थानीय युवा क्लबहरुले त्रिपाल र पण्डाल लगाएका छन् ।

यस्तै ग्रामीण क्षेत्रका जलाशयमासमेत पूजाघाट बनाउने र सजाउने काम तीव्र बनेको छ । पूजास्थलको रुपमा प्रयोग गरिने जलाशय र आसपासको क्षेत्र सरसफाइमा स्थानीय युवाका साथै सेना र प्रहरीले पनि साथ दिएका छन् ।

बजारमा छठी मैयाको महिमा भएका भोजपुरी र हिन्दी भाषाका गीत र घरघरमा छठी मैयाका गीत भएका सिडी एल्बम गुञ्जिरहेका छन् । छठपर्वको पहिलो दिन ‘नहाय खाय’ विधि मनाइँन्छ । मिथिलाञ्चलवासीका लागि प्रमुख पर्वमध्ये छठपर्व पनि एक मानिन्छ । जसरी दिपावलीको तयारी १५ दिनअघिदेखि सुरु हुने गर्दछ त्यसरी नै छठपर्वको तयारी पनि एक हप्ता पहिलेदेखि नै सुरु हुने गर्दछ । कार्तिक शुक्ल चतुर्थीको दिनदेखि सुरु हुने यो पर्व कार्तिक शुक्ल सप्तमी तिथिका दिन सम्पन्न हुने पण्डित रामकुमार शास्त्रीले बताउनुभयो ।

यो पर्वमा खास गरी सूर्यदेवको उपासना गरिन्छ । हिन्दू धर्ममा सूर्य पूजाको परम्परा वैदिक कालदेखि नै रहँदै आएको मानिन्छ । त्यसले गर्दासमेत यस पर्वको परम्परालाई उक्त रुपले नै देखिन्छ । गरिब, धनी, दलित एवं उचनिचको ख्याल नगरी यो पर्व समाजमा रहेका सबै वर्ग एकसाथ मिलेर मनाउने गरेका छन् । सूर्य देवतालाई पहिलो दिनको अघ्र्र्य अर्पण गरिन्छ जसलाई मैथिली भाषामा ‘सझुँका अर्घ’ भनिन्छ । सूर्य देवतालाई खास गरी उक्त दिन अघ्र्र्य दिइने गरिन्छ जुन दिन उदयकालमा केही बेरका लागि भए पनि षष्ठी तिथि परेको होस् ठिक त्यसै अनुरुप उदयकालमा दिइने अघ्र्र्यका लागिसमेत त्यही विधि अपनाइन्छ र उक्त दिन पनि सप्तमी तिथि नै रहेको बेला ‘भोरका अघ्र्र्य’ दिइन्छ ।

छठपूजामा जुन सामग्री साँझको समयमा सूर्य देवतालाई प्रसादको रुपमा अघ्र्र्र्य अर्पण गरिन्छ उक्त प्रसाद नै पुनः बिहानको समयमा अर्थात् ‘भोरका अघ्र्र्र्य’ मा दिइने परम्परा रहेको छ । हुनत सूर्य देवतालाई अर्पण गरिएको प्रसाद साँझदेखि बिहानसम्म जलाशयमा बनाइएको घाटमा नै राखिन्छ तर केही स्थानमा नदीमा अचानक आउने बाढी, जनावर वा असुरक्षाका कारण घाटबाट प्रसाद घर लगिन्छ र बिहानपख सूर्य उदाउनुभन्दा अगावै पुनः त्यो प्रसाद घाटमा ल्याई छठपर्व मनाइन्छ । छठ व्रत गर्ने सबैजना चौठी तिथिका दिन नुहाइधुवाइ गरी चोखो भई ‘अर्वाअर्वाइन’ खाने गर्दछन् ।

यही तिथिका दिनदेखि छठपर्व औपचारिक रुपमा प्रारम्भ हुने गर्दछ । यसदिन व्रत गर्ने महिला र पुरुष नुहाइधुवाइ गरी शुद्ध वस्त्र लगाई शाकाहारी भोजन खाने गर्दछन् । कार्तिक शुक्ल पञ्चमी तिथिका दिनभरी पर्व गर्ने व्रतालु उपवास गर्ने गर्दछन् । उक्त दिन साँझमा माटोले बनाइएको नयाँ चुलोमा नयाँ माटोको भाडाँमा अरबा चामलको खिर बनाउने गरिन्छ ।

सख्खर हालेर बनाइएको खिरदेवी देवतालाई प्रसादको रुपमा चढाइन्छ र उक्त प्रसादस्वरुप खिर व्रतीका साथै घरका अन्य सदस्यले ग्रहण गर्ने गरेको पण्डित शास्त्रीको भनाइ छ । कार्तिक शुक्ल षष्ठी तिथिका दिन व्रत गर्ने महिला अस्ताउँदो सूर्यलाई अघ्र्र्य दिन्छन् भने पुरुषले सूर्य देवतालाई अघ्र्र्र्य अर्पण गर्ने समयसम्म पोखरी, तालतलैयामा हातमा नरिवल वा अन्य फलफूल लिई उभिरहेका हुन्छन् । साँझको समयमा घण्टाँैसम्म जलमा रही नाङ्लो, कनसुप्ती, ढकना, सरबालगायतमा राखिएका ठकुआ, भुसवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, सिङ्गारा, फलफूल, पान, सुपारी, धूप, दीप लगायतले अस्ताउँदो सूर्यलाई अघ्र्र्य दिने चलन रहेको छ ।

उक्त दिन छठ व्रत गर्नेको घरका सबै सदस्य प्रायः रातिभर पोखरीको घाटमा जाग्राम बस्ने गर्दछन् । पुराणका अनुसार प्रकृति देवीको एक प्रधान अंशलाई देवसेना भनिन्छ जुन की सबैभन्दा श्रेष्ठ मातृका मानिन्छ । माता श्रृष्टी सम्पूर्ण जीवको रक्षिकादेवी हुनुहुन्छ । प्रकृतिको छैठौँ अंश भएका कारण उहाँको नामसमेत षष्ठी रहेको छ । षष्ठीदेवीको पूजनको प्रचारप्रसार ब्रह्मवैवर्त पुराणका अनुसार राजा प्रियव्रतक कालदेखि आरम्भ भएको मानिन्छ । यस कारण छठि माता भन्ने मिथिलाञ्चलमा परम्परा रहेको छ ।

हुनत केहीले सूर्यको माता भनेर समेत षष्ठी देवीको पूजा गर्छन् । छठको पौराणिक महत्व लङ्का विजयपछि रामराज्यको स्थापनाका दिन कार्तिक शुक्ल षष्ठी तिथिका दिन भगवान राम र माता सीता उपवास गरेर सूर्यदेवको आराधना गरेको मान्यता छ । सप्तमी तिथिका दिन सूर्योदयको समय अनुष्ठान गरी सूर्यदेवबाट आशिर्वाद प्राप्त गरेकोले छठ पर्वको आरम्भ यसैदिनदेखि भएको मानिन्छ ।

ऊर्जाको सबैभन्दा ठूलो स्रोत सूर्यलाई मानिन्छ । यसै कारणले गर्दा हिन्दू शास्त्रमा सूर्यलाई प्रत्यक्ष देवताको रुपमा मानिएको छ । अर्को मान्यताका अनुसार छठपर्व महाभारत कालदेखि सुरु भएको मानिन्छ । छठ पूजाको सुरुवात सूर्य पुत्र कर्णले गरेको मानिन्छ । कर्ण भगवान् सूर्यको परम भक्त थिए ।

उनी हरेक दिन जलमा उभी सूर्यलाई अघ्र्र्य दिने गर्दथे । सूर्यको कृपाले उहाँ महान्योद्धा बन्न सफल भएको विश्वासमा पनि आधारित छ । महाभारतमा सूर्य पूजाको अर्को वर्णनसमेत पाइन्छ । पाण्डव पत्नी द्रौपदीले आफ्नो परिजनको उत्तम स्वास्थ्यको कामना र दिर्घायुका लागि नियमित सूर्य पूजा गर्ने गरेको महाभारत पुराणमा उल्लेख छ ।

यसैबीच तराईमा धुमधामका साथ मनाइने महान पर्व छठमा उपयोग गरिने वस्तुको मूल्य आकासिएपछि उपभोक्ता मारमा परेका छन् । छठपर्वमा प्रसादको रुपमा प्रयोग हुने केरा, नरिवल, उखु, मुला, कागती, स्याउ, सुन्तला, सख्खरका साथै बाँसको बत्तीबाट बनेको नाङ्लो, कोनियाँ र माटाको भाँडा कुडा लगायतको समानको मूल्य दोब्बर भन्दा बढी बढेको वीरगञ्जका स्थानीयवासी मनोज साह कानुले बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/33226

समाजमा विद्यमान  विकृति र विसङ्गतिलाई अन्त्य गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजमा विद्यमान सबै प्रकारका विकृति र विसङ्गतिलाई अन्त्य गर्दै समतामूलक एवं सुसंस्कृत समाजको निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
छठ पर्वका अवसरमा  आज यहाँ शुभकामना व्यक्त  गर्दै  उहाँले विभिन्न जनजातिका समुदायले परम्परागतरुपमा मनाउँदै आएको पर्व संस्कृतिको जगेर्नाबाट समाजलाई एकापसमा एकताबद्ध गर्नका साथै सुसंस्कृत तथा सभ्य समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै पूर्व प्रधानमन्त्री नेपालले सम्पूर्ण पृथ्वीलाई समानरुपमा ताप र प्रकाश दिने सूर्यको आराधना तथा पूजा गरी मनाइने छठ काठमाडौँ उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लामासमेत मनाइने गरेको उल्लेख गर्नुभयो ।
हिमाल, पहाड तराईका जनताको एउटा साझा पर्वका रुपमा विकास भएको छठलगायत पर्वले सामाजिक एकता अभिवृद्धि गरी राष्ट्रिय एकतालाई थप बलिया बनाउने विश्वास व्यक्त गर्दै उहाँले  बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा विभिन्न समुदायले आफ्ना मौलिक चाडपर्व सस्ंकृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।  यस्ता चाडपर्वले परम्परागत मौलिक संस्कृतिको जगेर्नाले एकआपसमा पारस्पारिक सम्मान, सहिष्णुता, सद्भाव र एकतालाई अझ बलियो हुनेगरी स्थापित गर्ने अध्यक्ष नेपालले उल्लेख गर्नुभएको छ ।

https://ujyaalonepalnews.com/archives/33225

जनताको कामलाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका कामलाई प्राथमिकता दिएर सेवा गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । रुकुम पूर्व पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले सो जिल्लाका कार्यालय प्रमुखहरुसँगको भेटमा जनताको कामलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।
कार्यालय प्रमुखहरुसँगको भेटमा प्रधानमन्त्रीले जनताको काममा कुनै ढिलाइ नगर्न तथा सुशासनलाई विशेष ध्यान दिन निर्देशन दिनुभयो । प्रधानमन्त्रीले सरकारले देशमा सुशासन, सामाजिक न्याय र सम्वृद्धिका लागि अघि बढेको जनाउँदै त्यसमा साथ दिन आग्रह गर्नुभयो । रुकुम पूर्वका विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज त्यहाँ पुग्नुभएको हो ।
यस्तै, प्रधानमन्त्री रुकुम पूर्वको विकट गाउँका रुपमा परिचित पुथा उत्तरगङ्गाको मैकोट पुग्नुभएको छ । प्रधानमन्त्रीलाई मैकोटवासीले भव्य स्वागत गरेका छन् ।

https://ujyaalonepalnews.com/archives/33224

महिला टि-२० सिरिजः जापानलाई हराउँदै नेपाल तेस्रो स्थानमा

काठमाडौं- हङकङमा जारी चार देश सम्मिलित महिला टि–२० सिरिजमा नेपाल तेस्रो भएको छ । तेस्रो स्थानका लागि भएको खेलमा जापानलाइ ४५ रनले पराजित गर्दै नेपालले तेस्रो स्थान प्राप्त गरेको हो ।

टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ११५ रन बनाएको थियो । यसअघि समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ६७ रनले पराजित गरेको थियो ।

समूह चरणको पहिलो खेलमा नेपाल तान्जानियासित २७ रनले तथा दोस्रो खेलमा बिहीबार हङकङसित नौ विकेटले पराजित भएको थियो । महिला टि–२० सिरिजको उपाधिका लागी आयोजक हङ्कङ र तान्जानिया विच अवको केहि बेरमा पौने १२ बजे खेल सुरु हुदैछ ।

https://ujyaalonepalnews.com/archives/33223

छठले राष्ट्रिय एकता सुदृढ गर्ने प्रधानमन्त्री दाहालको विश्वास

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छठ पर्वले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

छठका अवसरमा आज शुभकामना दिँदै उहाँले देशमा विद्यमान चुनौतीमाथि विजय हासिल गर्दै सुशासन, समृद्धि र सामाजिक न्यायसहितको समुन्नतिको मार्गमा अग्रसर हुन छठले प्रेरित गर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री दाहालले शुभकामना सन्देशमा भन्नुभएको छ, “यस पर्वले चुनौतीलाई अवसरमा बदल्न, व्यक्तिगत एवं सामाजिक जीवनमा आशाको रक्तसञ्चार भर्न, राष्ट्रलाई एकतावद्ध तुल्याउँदै समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न हामी सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु ।”

भूगोल र क्षेत्रफलको हिसाबले सानो भए पनि भाषा, कला, संस्कृति, चाडपर्व, वेशभूसा र सभ्यताका दृष्टिले नेपाल विश्वमै विशाल र वैभवशाली रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यस यथार्थलाई हाम्रा संस्कार, संस्कृति र ऐतिहासिक तथ्यले राम्रोसँग प्रमाणित गरेको बताउनुभयो ।

उहाँले शुभकामना सन्देशमा नेपालको संविधानले नेपाली समाजको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र क्षेत्रीय विशेषतालाई आत्मसात गर्दै विविधतासहितको एकतालाई राष्ट्रिय गौरवका रूपमा आत्मसात गरेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले मानवजीवन कृषि युगमा प्रवेश गरेपछि उत्पादित कृषिजन्य उपज र परिकारको खुसीयाली एवं कृषि युगको निरन्तरताको प्रतीकका रूपमा सूर्यको आरधना गरी छठ पर्वको परम्परा सुरूवात भएको बताउनुभयो ।

छठ प्रकृति र मानव जीवनबीच जीवन्त व्यावहारिक सम्बन्ध स्थापित गर्ने पर्वका रूपमा स्थापित रहेको उल्लेख गर्दै उहाँले यसले प्रकृति र मानवबीचको सम्बन्ध जीवन्त तुल्याउनका साथै जीवन उपयोगी प्राकृतिक वस्तुको सम्मान एवं संरक्षण, उत्पादन एवं श्रम संस्कृतिको विकासका निम्ति महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले तराई–मधेसमा सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठका अवसरमा तराईवासी जनसमुदायका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।

https://ujyaalonepalnews.com/archives/33222

चाड-पर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्रताका धरोहर: सभापति देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै चाड–पर्वहरु हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहर भएको बताउनुभएको छ ।

छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले चाड–पर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएको उल्लेख गर्नुभयो ।

छठ नेपालको तराई क्षेत्रमा बसोबास गर्ने नेपालीले अति श्रद्धाका साथ सूर्य भगवान्को आराधना गरेर मनाउने महत्वपूर्ण र पवित्र पर्व हो । सभापति देउवाले यस पर्वका अवसरमा सम्पूर्णमा सुख, शान्ति, समृद्धि र सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले नेपाल विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रितिरिवाज भएको मुलुक भएको उल्लेख गर्दै यी प्रत्येक धार्मिक र सांस्कृतिक रितिरिवाजलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको बताउनुभयो ।

सभापति देउवाले छठ पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सृजना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभ–कामना व्यक्त गर्नुभएको छ ।

https://ujyaalonepalnews.com/archives/33221

भारतको उत्तराखण्डमा सुरुङमा फसेका ४१ जनाको उद्धारमा ढिलाइ

काठमाडौं- भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा सडक सुरुङमा फसेका ४१ जनाको उद्धार प्रयास लम्बिएको छ । निर्माणाधीन सुरुङको केही भाग भत्किएपछि गत आइतबारदेखि एक्स्काभेटरले सुरुङको भग्नावशेष हटाइरहेका छन् ।

एक हप्ता लामो उद्धार कार्यका क्रममा जमिन भासिएर निरन्तर पहिरो आएपछि र हेभी ड्रिलिङ मेशिनहरू बारम्बार बिग्रिएका कारण उद्धार प्रभावकारी हुन नसकेको हो । उद्धार प्रयासस्वरुप मानिसहरु रहेको ठीक माथिबाट प्वाल बनाउने तयारी भएको छ ।

करिव १ सय मिटरमाथिबाट प्वाल बनाई उनीहरुको उद्धार गर्न लागिएको उद्धार टोली प्रमुख नमन नारुलाले जानकारी दिनुभयो । सुरुङमा ४१ जना फसेको स्थानीय सरकारी अधिकारी अभिषेक रुहेलाले पुष्टि गर्नुभएको छ ।

शुक्रबार अबेर एक्कासि आएको आवाजले सुरुङमा त्रासको स्थिति सिर्जना गरेको र थप जमिन भासिने खतरा देखिएकोले उद्धार कार्य अवरूद्ध भएको हो । उद्धारकर्ताहरूले रेडियोको प्रयोग गरेर फसेका व्यक्तिहरूसँग कुराकानी भैरहेको जनाएका छन् ।

सुरुङमा फसेकाको जीवन रक्षाका लागि खाना, पानी, अक्सिजन र औषधि ६ इन्च चौडा पाइपमार्फत पठाइएको छ । उद्धारमा ढिलाइ भएपछि सुरुङभित्र फसेकाहरू निराश भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

https://ujyaalonepalnews.com/archives/33220

विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अष्ट्रेलियाबीच भिडन्त हुँदै

काठमाडौं- भारतमा जारी आइसिसी एकदिवसिय विश्वकप क्रिकेटको उपाधिका लागि आज फाइनल खेल हुँदैछ । उपाधि भिडन्तमा आयोजक तथा यो वर्षको उपाधि दावेदार भारत र विश्वकपको सर्वाधिक सफल राष्ट्र अष्ट्रेलिया भिड्दैछन् ।

यो खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा दिउँसो सवा २ बजे सुरु हुनेछ । दुइ दशक पछि भारत र अस्ट्रेलिया पहिलोपटक उपाधिका लागि तयार छन् ।

फाइनलको यात्रा तय गर्न भारतले सेमिफाइनलमा न्यूजिल्याण्डलाई ७० रनले हराएको थियो । यसैगरि अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई तीन विकेटले हराएको हो । लिग चरणमा दक्षिण अफ्रिकासँग पराजय व्यहोरेर समिफाइनलमा दक्षिण अफ्रिकालाई नै रोक्दै फाइनल पुगेको अष्ट्रेलिया भारत विरुद्ध पनि फाइनल जित्ने लक्ष्यमा छ ।

उता लिग चरणका सबै ९ खेलमै जित हासिल गरेको भारतले अष्ट्रेलियालाई पनि ६ विकेटले हराएको थियो । यहि मनोबलमा भारत आज मैदानमा उत्रदैछ ।

विगतमा हेर्दा विश्वकपमा १३ खेलमा अस्ट्रेलिया ८–५ ले अगाडी छ । तर पछिल्लो ७ मध्ये भारतले चार खेलमा जित हात पारेको छ । जारी विश्वकपको फाइनल सम्म आइपुग्दा भारत अपराजित टोली हो ।

उत्कृष्ट प्रदर्शन गरिरहेको भारतिय खेलाडीहरु बलिङ र ब्याटीङमा अब्बल देखिएका छन् । जारी विश्वकपमा सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा भारतिय विराट कोहली नै छन् । उनले अहिलेसम्म ७११ रन बनाएका छन् । त्यस्तै बलिङमा भारतका मोहम्मद सामीले ६ खेलमा २३ विकेट लिएका छन् ।

त्यसैले अपराजित रहँदै फाइनलको यात्रा तय गरेको भारत घरेलु मैदानमा उपाधि जित्दै इतिहास बनाउने लक्ष्यमा छ । पाँच पटक उपाधि जितिसकेको अस्ट्रेलिया आठौंपटक विश्वकपको फाइनलमा खेल्दैछ भने दुई पटक उपाधि जितेको भारतले चौथो पटक विश्वकपको फाइनल खेल्दैछ ।

समग्रमा विश्वकपको इतिहास र वर्तमानको प्रदर्शन हेर्दा फाइनल खेल रोचक र प्रतिक्षारत हुने निश्चित छ । सन् १९७५ बाट खेलाउन थालिएको एक दिवसीय विश्वकप क्रिकेटको हालसम्म भएका १२ वटा शृङ्खलामा अष्ट्रेलियाले पाँच पटक उपाधि जित्दा भारत र वेष्ट इन्डिजले समान २-२ पटक उपाधि जितेका छन् । यसैगरी इङ्ल्याण्ड, श्रीलंका र पाकिस्तानले समान एक-एक पटक उपाधि जितेकाछन् ।

https://ujyaalonepalnews.com/archives/33219