Home Blog Page 114

बन्दीपुर र मानुङकोटमा पर्यटकको आकर्षण

तनहुँ- चिसो मौसम सुरु भएसँगै तनहुँका पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ । बन्दीपुर, व्यास नगरपालिकाको मानुङकोट, तनहुँसुरलगायतका स्थानमा यतिबेला पर्यटकको चहलपहल बढेको हो ।

बन्दीपुरमा अहिले स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढेको व्यवसायी किसान प्रधानले बताउनुभयो । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्षसमेत रहनुभएका प्रधानले यो बन्दीपुरको पर्यटनका लागि उपयुक्त समय भएको बताउनुभयो । प्रधानले भन्नुभयो, “यो पर्यटकको घुम्ने समय हो । बन्दीपुरमा विदेशी र स्वदेशी पर्यटकको आगमन बढ्दैछ ।”

बन्दीपुरमा दसैँ सुरु भएदेखि नै पर्यटकको चहलपहल बढेको र उक्त सङ्ख्या यतिबेला अझ बढेको उहाँको भनाइ छ । बन्दीपुरमा विशेष गरी चिनियाँ पर्यटकको सङ्ख्या बढी भएको उहाँले जानकारी दिनुभयो ।

प्रधानका अनुसार बन्दीपुरमा अहिले दैनिक दुई हजार पर्यटकको आगमन भइरहेको छ । “विगतका वर्षमा चिसो मौसममा पनि यही हाराहारीमा पर्यटक आउँथे”, उहाँले भन्नुभयो, “पर्यटकमा घुम्ने संस्कृतिको विकास भइरहेको छ ।”

पर्यटन विकासको समितिको तथ्याङ्कअनुसार बन्दीपुरमा २६ देशका पर्यटक आएकोमा सबैभन्दा बढी चिनियाँ छन् । समितिका अनुसार जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाबाट पर्यटक आएका छन् ।

बन्दीपुर घुम्न आउने पर्यटकलाई पर्यटकीय गन्तव्यसम्म सहज पहुँच स्थापना गर्न बन्दीपुर गाउँपालिकाले १७ वटा पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेपछि पर्यटकलाई थप सहज भएको छ । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाका अनुसार गन्तव्यबारे नेपाली, अङ्ग्रेजी, चिनियाँ, जापानिज, कोरियन, फ्रेन्चलगायतका भाषामा सामग्री तयार पारिएको छ ।

विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रितिरिवाज र परम्परागत शैलीको घर देखेर मख्ख पर्ने गरेको व्यवसायी वसन्त पौडेलको भनाइ छ । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमश्रृङ्खला, पहाड र टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायतका हिमश्रृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।

तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा सूर्योदयसँगै देखिने कुहिरो हेर्ने पर्यटकको सङ्ख्या पनि बढेको छ । मानुङकोटमा दैनिक एक हजारभन्दा बढी आन्तरिक पर्यटक दृश्यावलोकनका लागि पुग्ने गरेका छन् । कोभिड सङ्क्रमणका बेला मानुङकोटमा एकै दिन १० हजारभन्दा बढीसम्म पर्यटक पुगेका थिए ।

व्यास नगरपालिका-३ निवासी भिमकुमारी थापाले यहाँबाट देखिने दृश्यले सबैको मन लोभ्याउने बताउनुभयो । गर्मी मौसममा कुहिरो नलाग्ने भएकाले चिसो मौसममा मानुङकोटमा पर्यटकको भीड लाग्ने गरेको व्यवसायी चुडामणि दाहालले बताउनुभयो ।

तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले मानुङकोट आन्तरिक पर्यटकको गन्तव्यका रुपमा विकास भइरहेको बताउनुभयो । जाडो महिनामा मानुङकोटमा पर्यटककको राम्रो चहलपहल हुने व्यास-५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “मानुङकोटको विशेषता भनेको जाडोयामको हो, जाडोयाममा कुहिराले ढपक्क ढोकेको दृश्य र सूर्योदयको मनोरम दृश्य हेर्न विभिन्न ठाउँबाट पर्यटक आउँछन् ।”

मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । जाडो मौसम भएको र मानुङकोटमा बिहानै घाम लाग्ने भएकाले पनि आन्तरिक पर्यटक बिहानै यहाँ पुग्ने गरेका छन् ।

https://ujyaalonepalnews.com/archives/33218

भूकम्पपीडितलाई चिनियाँ रेडक्रसको एक करोड ३२ लाख

काठमाडौँ- जाजरकोट भूकम्पपीडितको सहयोगका लागि चिनियाँ रेडक्रस सोसाइटीले रु एक करोड ३२ लाख मानवीय सहायतास्वरुप प्रदान गरेको छ ।

नेपालका लागि चीनका राजदूत छन् सङले शनिबार नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्ष सुरेन्द्रसिंह ऐरलाई उक्त नगद हस्तान्तरण गर्नुभएको हो ।

चिनियाँ रेडक्रसबाट प्राप्त नगद भूकम्पपीडितका लागि आवश्यक पर्ने राहत सामग्री खरिदमा पारदर्शी ढङ्गले उपयोग गरिने कार्यवाहक अध्यक्ष ऐरले बताउनुभएको छ ।

https://ujyaalonepalnews.com/archives/33217

राष्ट्रिय झण्डा च्यात्न खोज्ने एघार पक्राउ

पर्सा- प्रहरीले राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ । पर्सागढी नगरपालिका–९ स्थित सिङ्गे पुलमा राखिएको राष्ट्रिय झण्डा चोरेर च्यात्ने प्रयास गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराज केसरीका अनुसार गत बिहीबार राति मादक पदार्थ सेवन गरी सिङ्गे पुलमा राखिएको राष्ट्रिय झण्डा च्यात्ने प्रयास गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

करिब एक साताअघि सिङ्गे पुलमा सजाइएको राष्ट्रिय झण्डामध्ये केही झण्डा चोरी भएको स्थानीयले गुनासो गरेपछि सो क्षेत्रमा प्रहरीले निगरानी बढाएको थियो ।

गैरकानुनी गतिविधि गरेको अभियोगमा पक्राउ परेकामा पर्सागढी नगरपालिका–१ मनवा टोल निवासी अङ्कित पटेल, सुलभ श्रेष्ठ, विश्वास चौधरी, निर्मल चौधरी, कृष्णप्रसाद पोखरेल, विराज ठाकुर, दीपु ओझैया, सागर चौधरी र सखुवा प्रसौनी गाउँपालिका–१ सखुवनिय टोका गौतम महतो, नन्दन दास थारू र लक्की चौधरी रहेको प्रहरी निरीक्षक केसरीले जानकारी दिनुभयो । पक्राउ परेकामाथि अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/33216

सूर्यको पूजा आराधना गरी छठ मनाइदै

काठमाडौँ- देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइदै छ । आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।

छठका लागि तराईका नदी, खोला, पोखरी सिँगारिएका छन् । काठमाडौको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।

https://ujyaalonepalnews.com/archives/33215

छठपर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना सन्देश

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले छठपर्वका अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका कामना गर्नुभएको छ ।

छठका अवसरमा आज दिनुभएको शुभकमना सन्देशमा राष्ट्रपतिले नेपाली समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवं विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रकृतिको पूजा गरिने छठपर्वले हाम्रो समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न सहयोग पुग्ने विश्वास सन्देशमा राष्ट्रपतिले व्यक्त गर्नुभएको छ ।

यसै अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्दै जारी गरिएको सन्देशमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले छठपर्वबाट सामूहिकता र एकतालाई बढावा दिनुका साथै व्यक्तिको मन, वचन र कर्ममा पवित्रता एवं शुद्धताको सञ्चार हुने बताउनुभएको छ ।

यसै उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिनुभएको शुभकामना सन्देशमा छठपर्वले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

छठका अवसरमा तराईवासी जनसमुदायका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दै भूगोल र क्षेत्रफलको हिसाबले नेपाल सानो भए तापनि भाषा, कला, संस्कृति, चाडपर्व, वेशभूषा र सभ्यताका दृष्टिले विश्वमै विशाल र वैभवशाली भएको बताउनुभएको छ । “यो यथार्थ हाम्रा संस्कार, संस्कृति र ऐतिहासिक तथ्यहरूले प्रमाणित गर्छन्, नेपालको संविधानले नेपाली समाजको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र क्षेत्रीय विशेषतालाई आत्मसात् गर्दै विविधतासहितको एकतालाई राष्ट्रिय गौरवका रूपमा आत्मसात गरेको छ”, सन्देशमा भनिएको छ ।

यस पर्वले प्रकृति र मानवबीचको सम्बन्ध जीवन्त तुल्याउनका साथै जीवनउपयोगी प्राकृतिक वस्तुहरूको सम्मान एवं संरक्षण, उत्पादन एवं श्रम संस्कृतिको विकासका निम्तिसमेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेको प्रधानमन्त्रीले सन्देशमा उल्लेख गर्नुभएको छ ।

यसैगरी छठ पर्वको अवसरमा सभामुख देवराज घिमिरे र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि शुभकामना व्यक्त गर्नुभएको छ ।।

https://ujyaalonepalnews.com/archives/33214

लुम्बिनी प्रदेशका चार जिल्लामा सोमबार पनि सार्वजनिक विदा

काठमाडौं लुम्बिनी प्रदेश सरकारले मंसिर ४ गते सोमबार प्रदेशका चार जिल्लामा सार्वजनिक विदा दिएको छ ।

प्रदेश गृहमन्त्रालयले विदा सम्वन्धि सूचना निकालेर छठ पर्वको समापनको अवसरमा प्रदेशका चार जिल्लाहरुमा सार्वजनिक विदा दिने जानकारी गराएको हो ।

मंसिर ४ गते सोमबार छठ पर्वको समापनको अवसरमा लुम्बिनी प्रदेशको नवलपरासी,रुपन्देही कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक विदा दिने निर्णय भएको प्रदेशको गृहमन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

छठको पर्वको अवसरमा भोलि देशैभर सार्वजनिक विदा दिइएको छ ।

 

 

https://ujyaalonepalnews.com/archives/33212

गैँडा मारेको घटना छानविन गर्न समिति गठन

चितवन – वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो ।

मन्त्रालयले सचिवस्तरीय निर्णय गरी १० दिनभित्र प्रतिवेदन बुझाउने गरी शुक्रबार समिति बनाएको हो । समितिमा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका प्रमुख सेनानी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक, राष्ट्रिय निकुञ्ज विभागका कानुन अधिकृत र अनुसन्धान अधिकृत हुनुहुन्छ ।

उपमहानिर्देशक ढकालले आइतबार चितवन आएर स्थलगतरूपमा काम सुरु गर्ने बताउनुभयो । घटनास्थलको अध्ययन र सरोकारवालासँग छलफल गरी घटनाबारे वस्तुस्थिति हेरिने उहाँले बताउनुभयो । आवश्यक प्रमाण सङ्कलन गरी भएका कमी–कमजोरी र सुधार गर्नुपर्ने विषयसमेत समावेश गरी प्रतिवेदन तयार गरिने छ ।

राष्ट्रिय निकुञ्जमा दुईवटा एकसिङ्गे गैँडा तस्करले धरापमा पारेर मारेपछि छानविन गर्न समिति गठन गरिएको हो । गत बिहीबार गैँडा मृतावस्थामा भेटिएका थिए । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली क्षेत्रको वडेला खोला नजिकै छ र १८ वर्ष उमेरका पोथी गैँडा मारिएको अवस्थामा फेला पारिएका थिए । छ वर्षे गैँडा तीन दिन  र १८ वर्षे गैँडा मारिएको १० दिन पछाडि फेला पारिएको अनुमान गरिएको छ ।

उक्त घटना सार्वजनिक भएसँगै सत्यतथ्य छानविनको माग गरिएको थियो । नेपाली कांग्रेस चितवनले विज्ञप्ति जारी गरी घटनाको छानविन गर्न माग गरेको थियो । संरक्षण क्षेत्रमा लागेका व्यक्तिले पनि चिन्ता व्यक्त गर्दै छानविनको माग गरेका थिए । चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ गैँडा र नेपालभर सात सय ५२ गैँडा छन् ।

https://ujyaalonepalnews.com/archives/33211

प्रधानमन्त्रीलाई खुम्बु पासाङल्हामु गाउँपालिकाको ज्ञापनपत्र

काठमाडौँ – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष विभिन्न तीनबुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ ।

आज सोही गाउँपालिका पुग्नुभएका प्रधानमन्त्री प्रचण्डलाई अध्यक्ष मिङमा छिरी शेर्पाले स्थानीय समस्या समाधानका लागि ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाउनुभएको हो ।विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा प्रधानमन्त्रीलाई स्वागत गर्न पाउँदा आफूहरु असाध्यै हर्षित भएको उल्लेख गरिएको छ ।

विश्वको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा परिचित सो गाउँपालिकाले सङ्घ, प्रदेश र विभिन्न दातृ निकायसँग सहकार्य समन्वय गर्दै गाउँपालिकालाई समृद्ध बनाउन प्रयासरत रहेको ब्यहोरासमेत सो अवसरमा अवगत गराएको थियो ।

हवाई यातायातको भर पर्नु परेकाले यस क्षेत्रमा यातायातको सहज पहुँचका लागि पालिकाले प्रदेश सरकारसँग सहकार्य गरी पालिका केन्द्रसम्मको सडक ट्र्याक खोल्ने कार्यलाई द्रुत गतिमा भइरहेको जानकारी गराएको छ । सगरमाथा क्षेत्र जोड्ने उक्त सडकको स्तरोन्नतिको योजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी बजेट विनियोजन गरिदिन गाउँपालिकाले प्रधानमन्त्रीलाई अनुरोध गरेको हो ।

प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आउनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अक्टोबर ३० मा खुम्बु क्षेत्रको भ्रमणमा तापक्रम बढ्ने, हिमताल पग्लने र त्यसले जनतालाई पु¥याउने हानिनोक्सानीको कुरालाई गम्भीरतापूर्वक लिनुभएको थियो ।

जलवायु परिवर्तनको जोखिमबाट हिमाली क्षेत्रमा बसोबास गर्ने जनताको जीवनस्तरमा परेको समस्या र चुनौतीलाई समाधान गर्न क्षतिपूर्ति हुनुपर्छ भन्ने विषय केही समयपछि हुन लागेको कोप–२८ सम्मेलनमा विश्वको ध्यानाकर्षण गराउन गाउँपालिकाले प्रधानमन्त्रीलाई अनुरोध गरेको छ ।

उच्च हिमाली भूभाग र महँगो ढुवानीको कारण खाना पकाउने इन्धनको महँगीको मार खुम्बुवासीले वर्षौंदेखि ब्यहोर्दै आएकाले सो पालिकामा विद्युत्को राष्ट्रिय प्रसारण लाइन जोडी जनजीवनलाई थप सहज बनाउन पहल गरिदिन प्रधानमन्त्रीसमक्ष आग्रह गर्दै गाउँपालिकाले समस्याको दिगो समाधान हुने अपेक्षा गरेको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

गाउँपालिकाले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले माग सम्बोधन गर्न अधिकतम प्रयास गर्ने विश्वास दिलाउनुभयो । उहाँले गाउँपालिकाका तर्फबाट पेस भएका मागलाई आफूले गम्भीरतापूर्वक लिएको र सम्बन्धित मन्त्रालयलाई आवश्यक निर्देशन दिने उल्लेख गर्नुभएको थियो ।

 

https://ujyaalonepalnews.com/archives/33210

छोरो खोजबिनको माग गर्दै विपिनका बुबाआमाले भेटे परराष्ट्रमन्त्री

महेन्द्रनगर – त्रिचालिस दिनदेखि विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबाआमाले छोराको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदसित आग्रह गर्नुभएको छ । मन्त्री साउदलाई आज महेन्द्रनगरमा भेटेर विपिनका बुबा महानन्द जोशी तथा आमा पद्मा जोशीले सो आग्रह गर्नुभएको हो ।

“चाँडोभन्दा चाँडो छोराको रिहाइका लागि नेपाल सरकारले पहल गरिदिनु पर्‍यो”, मन्त्री साउदलाई विपिनका बुबाआमाले भन्नुभयो, “छोराको चिन्ताले हामीलाई दिनरात सताइरहेको छ, जसरी पनि सरकारले सकुशल ल्याइदिनु पर्‍यो ।” भीमदत्त नगरपालिका–३ घर भएका विपिनका बुबाआमाले यसअघि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीमार्फत मन्त्री साउदलाई ज्ञापनपत्र पठाउनुभएको थियो ।

भेटघाटका क्रममा मन्त्री साउदले विपिनको सकुशल रिहाइका लागि नेपाल सरकारले सक्दो पहल गरिरहेको जानकारी दिनुभयो । “कूटनीतिक माध्यमबाट विपिनको सकुशल रिहाइका लागि पहल जारी राखेका छौँ, हामी पनि यो घटनाबाट चिन्तित छौँ”, उहाँले भन्नुभयो ।

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा अध्ययनरत जोशी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल जानुभएको थियो । सुदूरपश्चिम विश्वविद्यालयबाट उहाँसहित ४९ विद्यार्थी त्यहाँ जानुभएको थियो । गत असोज २० गते हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । विपिनलाई भने हमासले कब्जामा लिएको थियो । कब्जामा लिएयता उहाँको कुनै खबर प्राप्त हुन सकेको छैन ।

https://ujyaalonepalnews.com/archives/33209

ब्यवस्थाविरुद्ध जानेसँग एमालेले प्रतिकार गर्छ : ओली

काठमाडौं – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संवैधानिक ब्यवस्थाविरुद्ध जाने जो कोहीसँग पनि एमालेले प्रतिकार गर्ने बताउनु भएको छ ।

मंसिर ७ मा दुर्गा प्रसाइ समुहले राजधानीमा गर्ने भनिएको विरोध कार्यक्रमप्रति लक्षित गर्दै प्रमुख प्रतिपक्षी दलका नेता समेत रहनु भएका एमाले अध्यक्ष ओलीले यस्तो धारणा सार्वजनिक गर्नु भएको हो ।

शनिवार केन्द्रीय कार्यालयमा आयोजित जनसंगठन पदाधिकारीहरूको विशेष भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतन्त्र र गणतन्त्रलाई नचलाउन र यो ब्यवस्थामाथि औला उठाउने काम नगर्न चेतावनी दिनुभयो ।

अध्यक्ष ओलीले मंसिर ७ गते पार्टीको युवा–विद्यार्थीले गर्ने  प्रदर्शनमा संयमता अपनाउन र निषेधित क्षेत्र नतोड्न समेत निर्देशन दिनु भएको छ ।

‘एउटा कुरा म साथीहरुलाई भन्न चाहन्छु, हामी निषेधित क्षेत्र तोड्दैनौं । निषेधाज्ञा तोड्दैनौं, कुनै समय त्यस्तो आयो भने त्यो बेग्लै कुरा हो । अहिले अवज्ञा गरेर जानपर्ने खालको स्थिति छैन सकेसम्म राता टोपी लगाएर र हरेकले झण्डा बोक्नु राम्रो हुन्छ’’, ओलीले भन्नुभयो ।

प्रदर्शनस्थल अहिले माइतीघर तोकिए पनि पछि परिवर्तन हुन सक्ने अध्यक्ष ओलीको भनाइ थियो ।

‘११ बजे माइतीघर मण्डलामा आउने भनिएको छ, त्यो स्थान फरक पनि पर्न सक्छ भोलि गएर, सरकारले विभिन्न कारण त्यसलाई निषेधित क्षेत्र भन्यो भने अरुतिर जानुपर्ने हुन सक्छ। त्यसो भयो भने सूचना आइहाल्छ’, ओलीले भन्नुभयो ।

https://ujyaalonepalnews.com/archives/33208