Home Blog Page 115

३५ बर्ष सम्मपनि भएन सडक स्तरोन्नति,सडक अलपत्र पारेर ठेकेदार वेपत्ता  

नवलपुर- पूर्वी नवलपरासीको पहाडी गाउँपालिका जोडने दलदले- द्यौबादी सडक निर्माण सुरु भएको ३५ बर्ष पुराहुँदा पनि अहिलेसम्म सडकको स्तरोन्न्ती भएको छैन ।

सडक स्तरोन्नति नहुँदा यो सडक भएर यात्रा गर्नेहरुले बर्षेनी सास्ति खेप्दै आएका छन । स्तरोन्नतिका लागि केही काम सुरु भएपनि सडक अलपत्र पारेर ठेकेदार वेपत्ता भएपछि सडक स्तरोन्नतिको काम रोकिएको हो ।

नवलपुरको पहाडी दुई गाउँपालिका हुँदै तनहुँ र ,पोखरा र पाल्पा जोडने यो सडकको  स्तरोन्नतीका  सबै काम  रोकिएको बौंदीकाली गाउँपालिकाका पूर्ब अध्यक्ष दुर्गा रानामगरले बताउनु हुन्छ ।

यो सडकले दुई गाउँपालिका ५० हजार जनतालाई प्रत्यक्ष मधेश सँग जोडने गर्दछ । २०४५ साल देखि सुरु भएको पहिलो चरण अन्तरगत बुलिङ्गटार- द्यौबादी- दलदले ४३ किलोमिटर सडकको ट्रयाक खोल्न मात्रै झण्डै २० बर्ष लाग्यो ।

ट्रयाक खुले पनि सो बाटो बर्षा लाग्ना साथ भत्कने ,पहिरो गएर बिग्रने जस्ता धेरै कारणले पनि राम्रो सँग सडक संचालन हुन नसकेको स्थानीयको बताउछन् ।

यो सडक निर्माणमा अष्टेलियन नागरिक बारबाराको एक अर्ब बढि खर्च भएको छ भने नेपाल सरकारले समेत एक अर्ब बढि लगानी गरेको छ ।

ट्रयाक खाेलेको ३० बर्ष पछि सरकारले ४० किलोमिटर सडक स्तरोन्नती गर्न करीब ६५ करोडको लागतमा ठेक्का लगाएको थियो ।

https://ujyaalonepalnews.com/archives/33207

बागमती प्रदेश राजधानीमा छठको रौनक

मकवानपुर – बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौंडामा छठको रौनक सुरु भएको छ । छठ पर्व मनाउनका लागि हेटौंडा– १ राप्तीतट सिगार्ने काम भैरहेको छ । छठ पूजाको तयारीका लागि पाण्डाल निर्माण गर्ने, सरसफाई, साजसजावट, झिलिमिली बत्ती राख्ने, पूजा स्थल सम्याउने, गेट निर्माण गर्ने लगायत कार्य गरिएको छ ।

छठ पर्व मकवानपुरमा पछिल्लो समय सबैको साझा पर्वको रुपमा विकास हुँदै गएको छ । राप्तीतटमा छठ पूजाको लागि तयारी अन्तिम चरणमा पुगेको छठ पुजा सचिवालय संयोजक नन्दलाल दासले जानकारी दिनुभयो ।

यस वर्ष ६० हजार भक्तजन छठ अवलोकनका लागि आउने आयोजक संयुक्त मधेशी सेवा समाजको अनुमान छ । सामूहिक पूजाका लागि २० फिट चौडा र ६५० फिट लम्बाइका ३५ वटा पाण्डाल तयार पारिएको छ ।

https://ujyaalonepalnews.com/archives/33206

बजेट कार्यान्वयनको चार महिना: पूँजी निर्माणमा भन्दा सार्वजनिक ऋण तिर्न बढी खर्च

काठमाडौँ- संघीय सरकारको पहिलो चार महिनाको बजेट कार्यान्वयनको अवस्था हेर्दा पुँजी निर्माण भन्दा पनि सार्वजनिक ऋणको सावा- ब्याज भुक्तानीमा बढी बजेट खर्च भएको पाइएको छ ।
सुरुवाती चार महिनाको खर्चको अवस्था हेर्दा पूँजीगतभन्दा वित्तीय व्यवस्था शीर्षकमा झन्डै दोब्बर बराबर खर्च भएको देखिएको छ । अर्थात् नेपालले पूँजी निर्माणमा गर्ने खर्चभन्दा सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा गरिरहेको खर्चको अंश बढी छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा सरकारले वार्षिक लक्ष्यको २० प्रतिशत बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा सरकारको बजेट खर्च रु तीन खर्ब ५५ अर्ब ६३ करोड ४० लाख बराबर छ ।
सरकारले चालु आर्थिक वर्षका लागि रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको वार्षिक बजेट विनियोजन गरेको थियो । कात्तिक मसान्तसम्मको खर्चको अवस्था हेर्दा चालुतर्फ २३ दशमलव ७५, पुँजीगततर्फ नौ दशमलव ९३ र वित्तीय व्यवस्थातर्फ १७ दशमलव ७२ प्रतिशत छ ।
चालु आर्थिक वर्षका लागि सरकारले चालु शीर्षकमा रु ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर विनियोजन गरेको थियो । जसमध्ये हालसम्म रु दुई खर्ब ७१ अर्ब १७ करोड ४७ लाख बराबर खर्च भएको छ । पूँजीगत शीर्षकमा रु तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख बराबरको बजेट विनियोजन भएकामा कात्तिक मसान्तसम्ममा रु २९ अर्ब ९८ करोड ९४ लाख बराबर मात्रै खर्च भएको छ । त्यस्तै, वित्तीय व्यवस्था शीर्षकमा रु तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाख बराबरको बजेट विनियोजन भएकामा हालसम्म रु ५४ अर्ब ४६ करोड ९९ लाख बराबर खर्च भएको छ ।
पहिलो चौमासिक अवधिमा सरकारको राजस्व सङ्कलन वार्षिक लक्ष्यको २० दशमलव ०८ प्रतशित बराबर छ । चालु आर्थिक वर्षका लागि कूल १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख बराबर राजस्व उठाउने लक्ष्य राखेको सरकारले कात्तिक मसान्तसम्ममा रु दुई खर्ब ७६ अर्ब ६४ करोड बराबर राजस्व उठाएको छ । जसमा कर राजस्व रु दुई खर्ब ५४ अर्ब ३० करोड २२ लाख र गैरकर राजस्व रु २२ अर्ब ३३ करोड ७८ लाख बराबर छ ।
त्यस्तै, चालु आर्थिक वर्षका लागि रु ४९ अर्ब ९४ करोड ३० लाख वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले कात्तिक मसान्तसम्ममा रु दुई अर्ब ७५ करोड ८० लाख अर्थात् वार्षिक लक्ष्यको पाँच दशमलव ५२ प्रतिशत अनुदान लिएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कबाट देखिन्छ ।

https://ujyaalonepalnews.com/archives/33205

कोप–२८ मा सहयोगको याचना गर्ने होइन,अधिकारका कुरा राख्ने हो : प्रधानमन्त्री दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) मा जलवायु परिवर्तनबाट नेपालमा परेको असरका बारेमा स्पष्टसँग कुरा राख्ने बताउनुभएको छ ।
नेपाल पर्वातरोहण सङ्घले आज सोलुखुम्बुको सगरमाथा आधार शिविर, कालापथ्थरमा आयोजना गरेको शान्ति दीप हस्तान्तरण तथा झण्डोत्तलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त सम्मेलनमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोगभन्दा पनि अधिकारका विषयलाई प्राथमिकताका साथ उठाइने बताउनुभयो ।
“हामीले गर्दै नगरेको कामको मूल्य चुकाउन सक्दैनौँ, जसले कार्बन उत्सर्जनमा कमजोरी गरेको छ, उसले हाम्रो अधिकारका रुपमा जलवायु कोषमार्फत क्षतिपूर्ति दिनुपर्छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “कोप–२८ मा नेपालले सहयोगको याचना मात्रै गर्ने होइन, हामीलाई हाम्रो अधिकार चाहियो भन्ने हो ।” उहाँले यसलाई मागका रुपमा नभई अधिकारकैरुपमा राख्ने तयारी गरिएको जानकारी दिनुभयो ।
यही मङ्सिर १४ देखि २६ गतेसम्म संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा कोप–२८ सम्मेलन आयोजना हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा हुने सम्मेलनमा राष्ट्रिय अनुकूलन योजनाको विस्तृत रुप, राष्ट्रिय निर्धारित योगदानमा आधारित कार्यान्वयन योजना र कोप–२८ को एजेण्डाका बारेमा छलफल हुनेछ ।
नेपालले कोप–२८ मा उठाउने विषय र प्राथमिकताका सम्बन्धमा उच्चस्तरीय सत्रलाई यही मङ्सिर १६ गते प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहालले कोप–२८ सम्मेलनमा नेपालका तर्फबाट उठाउनुपर्ने विषयको तयारीका लागि जलवायु वित्त, अनुकूलन, पर्वतीय प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धि, हानि र नोक्सानी, लैङ्गिक, युवा, बालबालिका, जलवायु सशक्तीकरण, जलवायु परिवर्तनका असर कम गर्न छ बुँदामा केन्द्रित रहेर विज्ञ समूह गठन गरी सुझाव गरिएको जानकारी दिनुभयो ।
यस सम्मेलनमा नेपालले जलवायु वित्त, अनुकूलन, जलवायुजन्य हानि र नोक्सानीका लागि कोषको व्यवस्थापन, हिमाल र पर्वतीय मुद्दा, उत्सर्जन कटौती र समावेशीतालगायत मुद्दालाई प्राथमिकतामा राखेको छ ।
कार्यक्रममा प्रधानमन्त्री दाहालले खुम्बु क्षेत्रको विकास तथा विस्तार, व्यवस्थित पर्यटकीय गतिविधि सञ्चालन, सगरमाथाको सुरक्षा र सफाइलाई प्रभावकारी रुपमा लैजान सरोकारवालाको सहभागितामा आवश्यक कार्यविधि बनाइने विश्वास दिलाउनुभयो । कालापथ्थर क्षेत्रमा दीप प्रज्वलन हस्तान्तरण र झण्डोत्तलन गर्नु आफैँमा पनि महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले खुम्बु क्षेत्रमा गर्नुभएको भ्रमणले विश्वको ध्यानाकर्षण भएको बताउनुभयो ।
“महासचिव गुटेरेसले खुम्बु क्षेत्रमा पुगेर जलवायु परिवर्तनको असर प्रत्यक्ष हेरेको, यहाँका जनता र प्रतिनिधिसँग अन्तक्र्रिया गरेर जलवायु परिवर्तनका कारण यस क्षेत्रमा परेको समस्यालाई विश्वव्यापीकरणका लागि महत्वपूर्ण योगदान मिलेको छ”, उहाँले भन्नुभयो ।
आफूले संयुक्त राष्ट्र सङ्घको ७६औँ महासभालाई अमेरिकाको न्यूयोर्कमा सम्बोधन गर्दा नेपालमा जलवायु परिवर्तनको चर्को असरका बारेमा प्रष्टसँग राखेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले जलवायुसम्बन्धी अन्य मञ्चमा पनि नेपालले प्रष्टसँग कुरा राख्ने विश्वास दिलाउनुभयो । “महासभामा मैले हामीले गर्दै नगरेको कामका निम्ति मूल्य चुकाउनुपर्ने विडम्बनाका बारेमा स्पष्टसँग राखेको छु, यसलाई प्रत्यक्षरुपमा अनुभूत गर्न र उक्त मुद्दालाई विश्वव्यापीकरण गर्न राष्ट्र सङ्घका महासचिव गुटरेससँग अपिल गरेँ”, उहाँले भन्नुभयो, “मेरे पहिलो निमन्त्रणामै राष्ट्रसङ्घका महासचिव तुरुन्तै नेपाल आउनुभयो, खुम्बु क्षेत्रको अवलोकन र स्थानीयसँग अन्तक्र्रिया गर्नुभयो, यो निकै महत्वपूर्ण छ ।”
प्रधानमन्त्री दाहालले खुम्बु क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माणमा सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले विश्वमाझ नेपालाई चिनाउने सगरमाथा र लुम्बिनीको संरक्षण र प्रवद्र्धन गर्न सरकारले भरमग्दुर प्रयार गर्ने बताउनुभयो ।
“खुम्बु क्षेत्रमा सडक पूर्वाधार निर्माणलाई मैले गम्भीर रुपमा लिएको छु, केही सयम अगाडि अर्थमन्त्रालयबाट चतरादेखि लुक्लासम्म सडक निर्माण गर्ने गरी बजेट विनियोजन भएको छ, सडक निर्माणलाई तीव्र बनाउन सरकारले विशेष ध्यान दिनेछ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । स्थानीय तहले पनि विभिन्न ढङ्गबाट सो क्षेत्रमा ट्रयाक खोल्ने काम भएकामा आभार प्रकट गर्दै उहाँले उक्त सडकलाई स्तरोन्नति गर्न सरकारले सहयोग गर्ने बताउनुभयो ।
विश्व समुदायमाझ नेपालको प्रतिष्ठा अभिवृद्धिका लागि खुम्बु क्षेत्रले भूमिका अतुलनीय रहेको उहाँको भनाइ छ । नेपालको पर्यटन विकासमा पनि कहिल्यै नटुङ्गिने अनन्त स्रोतका रुपमा सगरमाथा र लुम्बिनी रहेको बताउँदै प्रधानमन्त्री दाहालले सगरमाथा र लुम्बिनी नेपालका राष्ट्रिय गौरव र ऐतिहासिक धरोहर हुन् भन्नुभयो । “तिनको संरक्षण गरी व्यवस्थित पर्यटनको विकास गर्नु, आर्थिक गतिविधिलाई अझ बढी चलायमान र गतिशील बनाउने प्रयास गर्नु सबैको जिम्मेवारी हो”, उहाँले भन्नुभयो ।

https://ujyaalonepalnews.com/archives/33204

महिला टी-२० सिरिज : नेपालसँग जापान पराजित

काठमाडौँ- चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई पराजित गरेको छ । नेपालले जापानलाई ६७ रनले हराएको हो ।

हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला ब्याटिङ गर्दै नेपालले चार विकेट गुमाएर एक सय १३ रन बनाएको थियो ।

नेपालका लागि रुविना क्षेत्रीले ३२ बलमा पाँच चौकाको मद्दतमा ३८ रन बनाइन् । यस्तै कप्तान इन्दू बर्माले ३१ बलमा दुई चौका प्रहार गर्दै २७ रनको योगदान दिइन् । काजल श्रेष्ठले अविजित रहँदै सात बलमा तीन चौकाको मद्दतमा १५ तथा पूजा महतोले २९ बल खेल्दै एक चौकाका साथमा १३ रन बनाइन् ।

बलिङतर्फ जापानकी एलिना कुशुदा नाइरनले दुई तथा मेग ओगावा र आयुमी फुजिकावाले एक एक विकेट लिइन् ।

एक सय १४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा जापानका लागि मेग ओगावाले २९ बलमा दुई चौकाको मद्दतमा १७ रन बनाइन् । यस्तै सेइका सुमीले १६ बल खेल्दै एक चौका प्रहार गरी १३ रनको योगदान दिइन् । हिनासे गोटोले तीन रन बनाइन् ।

बलिङतर्फ नेपालकी सङ्गिता राईले पाँच तथा अश्मिना कर्माचार्य र पूजा महतो दुई दुई विकेट लिइन् ।

नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन् । नेपाल यसअघि पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो । तान्जानियाले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको थियो ।

नेपालले सवै विकेट गुमाउँदै मात्र ८८ रन बनाउन सक्यो । यस्तै बिहीबार भएको दोस्रो खेलमा नेपाल हङकङसित नौ विकेटले पराजित भएको थियो । नेपालले निर्धारित २० ओभरको खेलमा १८ ओभरमा सवै विकेट गुमाएर मात्र ५६ रन बनाएको थियो । हङकङले ५७ रनको विजयी लक्ष्य नौ ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो ।

महिला टि–२० सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् । आइसिसी बरियतामा तान्जानिया १९औँ, नेपाल २१औँ, हङ्कङ २२औँ तथा जापान ५१औँ स्थानमा छन् । तान्जानिया र हङकङले उपाधि जित्नका लागि खेल्ने छन् । नेपालले अब तेस्रो स्थानका लागि आइतबार जापानसित नै खेल्ने छ ।

https://ujyaalonepalnews.com/archives/33203

धनगढी बजारमा भिषण आगलागी, अस्पतालसहित आठवटा पसलमा क्षति (तस्वीरसहित)

कैलाली- धनगढी बजारमा भिषण आगलागी भएको छ । धनगढीको मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पतालसहितका पसलमा राति करिब एक बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।

विद्युत सर्ट भएर आगलागी हुँदा सारथी अस्पताल, भण्डारी सुज सेन्टर लगायतका पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुलदीप चन्दले जानकारी दिनुभयो ।

स्थानीय दलबहादुर भण्डारीले सञ्चालन गरेको सुज सेन्टरमा एक्कासी विद्युत सर्ट भएर आगलागी भएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देबेन्द्र पालले बताउनुभयो ।

एसपी पालका अनुसार धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताउनुभयो ।

आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलाली सहित नेपाली सेनाको तेघरी ब्यारेक र सशस्त्र प्रहरीको ३४ नम्बर गण कैलालीको टोली समेत परिचालन गरिएको थियो ।

आगलागीबाट सारथी अस्पताल र भण्डारी सुज सेन्टरसँग जोडिएका अन्य ८ वटा पसलमा समेत क्षति भएको छ । क्षतिको यकिन विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/33196

जाडो छल्न नेपाल आइपुगे चरा

मोरङ- जाडो छल्न चरा विगतमा झैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । मङ्सिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरू भएको हो । सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको बासस्थान बनेको छ ।

कोशीटप्पुमा बर्सेनि नयाँनयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि विगत वर्षमा झैँ झुण्डझुण्डमा आउने चराको सङ्ख्यामा भने कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताउनुभयो ।

गौतमका अनुसार ‘गत वर्ष कोशीमा मात्र ५३ प्रजातिका सात हजार पाँच सयभन्दा बढी चरा नेपाल आएको तथ्याङ्क रहेको उहाँले बताउनुभयो । विशेष गरी जाडो छल्न र बच्चा कोरल्न पाहुना चराको आकर्षक गन्तव्य नेपाल बन्ने गरेको छ । तर हजारौँको सङ्ख्यामा आउने बार हेडेड गुस (खोया हाँस) को सङ्ख्या घट्दो क्रममा रहेको प्रमुख गौतम बताउनुहुन्छ ।

“नेपालमा पाइने सबै प्रजातिका चरा पनि वर्षभरिनै नेपालमै रहन्छन् भन्ने हुँदैन”, बर्ड वाचिङ क्याम्प कोशीटप्पुका सञ्चालक कुरमान मन्सुरीले भन्नुभयो, “नेपालमा हिउँदमा आउने हिउँदे आगन्तुक र वसन्त ऋतुको आगमनसँगै आउने आगन्तुक पाहुना चराको बसाइँसराइँ वर्षभरि नै निरन्तर चलिरहन्छ ।” उहाँका अनुसार कोशीटप्पुकै आसपासमा रहेको बर्जु ताल र मोरङको बेतना सिमसारमा पाहुना चरा झुण्डमै आउने गरेको पाइएको छ ।

वातावरण पत्रकार एवं उपप्राध्यापक रामचन्द्र अधिकारीका अनुसार नेपालको विभिन्न भागबाट तथा दक्षिण भारत र साइबेरियासम्मका चरा बेतनामा हेर्न पाइन्छ । बेतना सिमसारमा ४९ प्रजातिका चरा रहेको तथ्याङ्क छ ।

यसमा ७० प्रतिशत स्थानीय, १८ प्रतिशत हिउँदमा आउने पर्यटक चरा र १२ प्रतिशत गर्मीमा आउने पर्यटक चरा रहेको अधिकारीले जानकारी दिनुभयो । “कोशीटप्पुमा आउने प्रायःजसो पाहुना चरा यहाँ पनि आइपुग्छन्, मङ्सिरदेखि फागुनसम्म नेपाल बाहिरबाट आउने चरा यहाँ बस्ने गरेको पाइएको छ”, उहाँ बताउनुहुन्छ ।

उत्तरी धुर्वमा हिमपातको सुरूआतसँगै हिउँदयामको बढ्दो जाडो छल्न नेपालका तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा ताल, तलैया र नदी आसपासमा हजारौँ चरा बसाइँसरी आउने गर्छन् ।

बर्सेनि करिब एक सय ५० प्रजातिका चरा रुस, किर्गिस्तान, तुर्किमिनिस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलियाका साथै युरोप, तिब्बती क्षेत्रबाट नेपालमा आउने गरेको तथ्याङ्क छ । करिब ५० प्रजातिका बटुवा चरा नेपालको बाटो हुँदै दक्षिणी मुलुक भारत, पाकिस्तान र श्रीलङ्कातिर जाने गर्छन् ।

जाडो छल्न आउने हिउँदे आगन्तुक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी ताल, जगदिशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा नै प्रायः रहने गर्दछन् ।

जाडो याममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन् । अन्य प्रजातिमा सिकारी तथा माँसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राइ आदि पर्दछन् ।

आगन्तुक चरा बच्चा कोरल्न नेपाल आउने गर्दछन् । यी चरा असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै वासस्थानमा फर्कन्छन् । यसरी आउने करिब ६० प्रजातिका चराको अधिकांश हिस्सा कोइली प्रजातिको हुन्छ ।

नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले त आफ्नो गुँड नै बनाउँदैनन् र आफ्नो अण्डा अरु चराको गुँडमा पार्दिन्छन् । उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछ । नेपाल आउने अन्य चरामा मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउके आदि छन् । ग्रीष्मकालीन आगन्तुक चराको मुख्य वासस्थान भने वन र यस आसपासका घाँसेमैदान तथा कृषि भूमि भएको कोशी संरक्षण केन्द्रका प्रमुख गौतम बताउनुहुन्छ ।

https://ujyaalonepalnews.com/archives/33195

छठ पर्वको दोस्रो दिन आज खरना

काठमाडौं- छठ पर्वको दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा आज खरना गरिँदै छ । यस दिन पनि बिहानै घर आँगनको सफाइ गरी व्रत गरी बेलुकी सखरमा पकाएको खीर खाइन्छ ।

यस दिन ठेकुवा, भुसुवाजस्ता परिकार पनि बनाइन्छ । छठमा बाँसका सामग्री, उखु, केरा, सुन्तला, स्याउआदिको बढी प्रयोग गरिन्छ ।

छठ पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीमा भोलि नीराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ । कार्तिक शुक्ल सप्तमीका दिन बिहान सोमबार उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि चार दिन लामो सूर्य आराधनाको पर्व छठ समापन हुन्छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्य एवं छठी माताको पूजा आराधनासहित अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्यदान गरेमा मनले चिताएको पूरा हुने कुरा सूर्यपुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ ।

सूर्यका दुई श्रीमती छाया र संज्ञा कार्तिक शुक्ल षष्ठी र सप्तमीका दिनमा अस्ताउँदो र उदाउँदो सूर्यसँगै आउने भएकाले छठी माताका रुपमा पूजा आराधना गर्ने परम्परा बसेको धार्मिक विश्वाससमेत छ ।।

https://ujyaalonepalnews.com/archives/33194

‘जलवायु परिवर्तनका मानवताका लागि गम्भीर चुनौती’: प्रधानमन्त्री दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका दुष्प्रभाव मानवताका लागि गम्भीर जोखिम बनेको बताउनुभएको छ ।

नेपालजस्ता जलवायु परिवर्तनको जोखिममा रहेका मुलुकले जलवायु परिवर्तनको भार वहन गरिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो “विशेष गरी हिमालय क्षेत्रमा परेको प्रभावले यस क्षेत्रमा बसोबास गर्ने लाखौँको जीवन र जीविकोपार्जनमा गम्भीर खतरा उत्पन्न गरेको छ । निर्धारित लक्ष्यलाई समयसीमामा पूरा गर्न हामी सबै प्रतिबद्ध हुनुपर्छ ।”

दोस्रो भ्वाइस अफ ग्लोबल साउथ समिटलाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्रीले पेरिस सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि पूर्ण प्रतिबद्धताका साथ नेपालले प्राकृतिक स्रोतको संरक्षण र दिगो व्यवस्थापन, प्रभावकारी अनुकूलन र न्यूनीकरणका उपाय अवलम्बन गरेको तथा हरियालीलाई प्रवद्र्धन गर्दै सन् २०४५ सम्ममा नेट जिरो शून्य उत्सर्जनमा पुग्ने लक्ष्य लिएको बताउनुभयो ।

प्रधानमन्त्रीले विश्व समुदाय कोभिड– १९ महामारी, जलवायु परिवर्तन र गहिरो भूराजनीतिक जटिलताबाट उत्पन्न अभूतपूर्व सङ्कटको सामना गरिरहेको अहिले अवथाबारे स्पष्ट पार्दै त्यसबाट खाद्य, पोषण, स्वास्थ्य शिक्षा, अर्थव्यवस्था, वातावरण, शान्तिसुरक्षामा प्रभाव पारेको बताउनुभयो ।

उहाँले विकासोन्मुख देश त्यसमा पनि विशेषगरी अल्पविकसित देशहरु त्यसखालको सङ्कटबाट सबैभन्दा बढी प्रभावित भएको यथार्थ सुनाउनुभयो । खाद्यान्न र ऊर्जाको बढ्दो मूल्य, कठोर आर्थिक अवस्था र कमजोरीको निरन्तर चक्रले थप चिन्तित बनाएको प्रधानमन्त्रीले बताउनुभयो ।

ग्लोबल साउथका धेरै देश ऋणको बोझमा परेका कारण स्वास्थ्य, शिक्षा, सामाजिक न्याय र अन्य महत्वपूर्ण राष्ट्रिय प्राथमिकतामा लगानीका लागि दबाबमा परेका प्रधानमन्त्रीले बताउनुभयो ।

विश्वले सामना गरिरहेका चुनौतीलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायले शान्ति र समृद्धिको साझा लक्ष्यमा केन्द्रित हुनुपर्छ भन्ने आफूहरुको विश्वास रहेको प्रधानमन्त्रीको भनाइ थियो । आपसी विश्वास, साझेदारी, सहकार्य प्रवद्र्धन र एकताका साथ काम गर्नु अत्यावश्यक भएकामा उहाँले जोड दिनुभयो । ग्लोबल साउथले गरिबी उन्मूलन गर्न र आफ्ना मानिसलाई सुसंस्कृत जीवनका लागि पनि उचित हिस्साको जरुरी रहेको प्रधानमन्त्रीको कथन थियो ।

संयुक्त राष्ट्रसङ्घलाई केन्द्रमा राखेर बहुपक्षीयताप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले भन्नुभयो– “हामी विश्वास गर्छौ कि विद्यमान विश्वव्यापी शासन संरचनामा सान्दर्भिक र आजको वास्तविकतालाई प्रतिबिम्बित गर्न समयसापेक्ष सुधार आवश्यक छ ।”

उहाँले कमजोर र अल्पविकसितलगायत विशेष परिस्थितिमा रहेका देशको आवाजलाई पूर्ण रूपमा ध्यान दिएर अन्तर्राष्ट्रिय वित्तीय संरचनाको सुधारलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्रीले सन् २०२६ सम्ममा नेपाल अल्पविकसित देशको सूचीबाट स्तरोन्नती हुने चरणमा पुग्ने र यो प्रक्रियालाई थप सहज, दिगो र अपरिवर्तनीय बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि राष्ट्रिय नीति र योजनामा एकीकृत गर्दै अगाडि बढ्ने ध्येयका साथ विकासका दृष्टिकोण र प्राथमिकतालाई केन्द्रमा राखिएको जानकारी दिँदै प्रधानमन्त्रीले हालसम्म हासिल भएको प्रगति पनि विश्वव्यापी सङ्कटका कारण एक प्रकारको चुनौती थपिएको बताउनुभयो ।

प्रधानमन्त्रीले हाम्रा साझेदारबाट विकास सहायता, प्रत्यक्ष वैदेशिक लगानी, व्यापार सहजीकरण, प्रविधि हस्तान्तरण र प्राविधिक सहयोगजस्ता अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरिरहेको बताउनुभयो ।

विकासोन्मुख देशहरूको साझा लक्ष्य प्राप्तिका लागि अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने प्रतिबद्धता पनि प्रधानमन्त्रीले व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले भारतलाई सफल रुपमा जी २० को अध्यक्षता गरेकामा हार्दिक बधाई ज्ञापन गर्नुभयो । उहाँले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘भ्वाइस अफ ग्लोबल साउथ’को यो महत्वपूर्ण दोस्रो शिखर सम्मेलनमा सहभागी हुन आमन्त्रित गर्नुभएकोमा कृतज्ञता ज्ञापन गर्नुभयो ।

https://ujyaalonepalnews.com/archives/33193

सजाइँदै राजधानीका छठ घाट, गौरीघाट–गुह्येश्वरी क्षेत्रमा झिलीमिली

काठमाडौँ- पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिरबाट–गौरीघाट चोकसम्म दीपावलीअघिदेखि नै झिलीमिली बत्तीले उज्यालो बनाइएको छ । तिहारको उज्यालो छँदैथियो यसवर्षदेखि छठलक्ष्यित दीपावली पनि यस क्षेत्रमा थपिएको छ ।

वाग्मती नदी किनारका दायाँबायाँ फूलमालालगायत सामग्रीले आकर्षक रुपमा सजावट गर्ने गरी तयारी गरिएको छठ पूजा समिति, गुह्येश्वरीले जनाएको छ ।

छठ पर्वका अवसरमा आइतबार अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिन राजधानीका अन्य स्थानका साथै यहाँको छठ घाट पनि सजाउने तयारी गरिएको हो । प्रत्येक वर्ष छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाटलगायत राजधानीका अन्य स्थानमा पनि सजाउने गरिन्छ । यहाँको साजसज्जा हेर्न पनि भक्तजनको भीड लाग्ने गर्छ ।

यस वर्ष राजधानीमा गुह्येश्वरीबाट गौरीघाटसम्मको वाग्मती नदी किनारको दायाँबायाँ, कमलपोखरी, थापाथली, विभिन्न स्थानका नख्खु खोला, विष्णुमती र वाग्मती नदी किनारमा छठ घाट निर्माण गरी सजाउन थालिएको छ । यी स्थानमा छठ घाटसँगै छठी माताको माटाको मूर्ति पनि निर्माण गर्न लागिएको छ । जहाँ आइतबार बेलुकी अस्ताउँदो सूर्यसँगै छठी माताको पनि पूजा आराधना गरिन्छ ।

गुह्येश्वरीमा यस वर्ष विगतमाभन्दा बढी छठ घाटको निर्माण गर्न लागिएको समितिका अध्यक्ष अनिल सिंहले राससलाई जानकारी दिनुभयो । विगतमा करिब ५०० छठ घाट निर्माण गरिएकामा यस वर्ष ५५० भन्दा बढी बनाउने तयारी गरिएको छ । एउटा छठ घाट रु एक हजार ५०० शुल्क लिएर भक्तजनलाई दिएको छठ पूजा समितिका सदस्य नवलकिशोर यादवले बताउनुभयो ।

यहाँ करिब ५५० वर्तालु, तिनका परिवार एवं अन्य दर्शन गर्ने र हेर्ने गरी करिब तीन लाख भक्तजन आउने अनुमान समितिले गरेको छ । २० वर्षअघिसम्म राजधानीमा हुने छठ पूजामा तराई क्षेत्रका सीमित मानिसको मात्र सहभागिता हुने गरेको थियो । अहिले तराई क्षेत्रबाट राजधानी आई बस्ने अधिकांश मानिसका साथै पहाडी समुदाय पनि छठ पर्व मनाउने गरेका छन् ।

जनकपुरकी रञ्जु श्रेष्ठ विगत २५ वर्षअघिदेखि नै छठ मनाउने गरेको बताउनुहुन्छ । सुरुमा जनकपुरबाट छठ मनाउन सुरु गर्नुभएकी श्रेष्ठले हाल गुह्येश्वरीमै सूर्यको पूजा आराधना गरी पर्व मनाउने गर्नुभएको छ ।

आफू पहाडबाट जनकपुर झरे पनि आफूले अपनाई आएको संस्कारसँग मिल्ने भएकाले छठ मनाउन थालेको उहाँले सुनाउनुभयो । यस वर्षका लागि पनि उहाँ छठ घाटको रसिद काट्न समितिको कार्यालय पुग्नुभएको छ ।

नदीको बीचमा छठी माताको माटाको मूर्ति स्थापना गर्न लागिएको छ । माटाको मूर्तिमा आइतबार र सोमबार पूजा आराधना गरी सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै वाग्मती नदीमै सेलाइने समितिका सचिव राजकुमार पोदारले बताउनुभयो ।

छठ पूजा स्थलमा उखुको लाँक्रा, केराको घरी र केराको बोट बोकेर हिँडेका भक्तजनको भीड लाग्ने गर्छ । छठ पूजा स्थल वरपर व्यापार व्यवसाय गर्नेको भीड पनि देखिन थालेपछि काठमाडौँ महानगरपालिकाले पसल नराख्न यस क्षेत्रमा गत वर्षदेखि नै माइकिङ गर्न सुरु गरेको छ ।

कमलपोखरीमा तयारी तीव्र

कमलपोखरीमा पनि सजावट गरी छठ घाट निर्माणलाई तीव्रता दिइएको छ । कमलपोखरीमा १७५ जना वर्तालुले छठ पूजा गर्न घाट निर्माण गर्ने तयारी भएको छठ पूजा समितिका अध्यक्ष राजेन्द्र सिंहले जानकारी दिनुभयो । यहाँ छठ पूजा सम्पन्न गर्न सहयोग गर्नेलाई सम्मान गरिने भएको छ ।

चार दिने छठ पर्वको मुख्य दिन आइतबार अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अघ्र्य दिइन्छ । यसका लागि नीराहार व्रत बसेका वर्तालुले आइतबार रातभर छठ पूजा स्थलमा जाग्राम बसेर उदाउँदो सूर्यको प्रतीक्षा गर्ने गरेको सिराहाबाट पर्व मनाउन आउनुभएका रणेन्द्र यादव बताउनुहुन्छ । सोमबार बिहान उदाउँदो सूर्यको पूजा आराधनासहित अघ्र्य दिएपछि चार दिन लामो छठ पर्व समापन हुन्छ ।

छठ पूजा समितिलाई सहयोग

छठ पूजा समितिलाई पशुपति क्षेत्र विकास कोषले रु तीन लाख सहयोग गरेको छ । यसैगरी काठमाडौँ महानगरपालिका वडा नं. ८ ले रु दुई लाख ५० हजार पर्वको तयारी गर्न दिएको अध्यक्ष आशामान सँगतले जानकारी दिनुभयो । फूलकुमारी ट्रष्टले रु ५० हजार दिएको छ ।

समितिले विसं २०६० देखि गौरीघाटबाट गुह्येश्वरीसम्मको वाग्मती नदी किनारका दायाँबायाँ छठ घाट निर्माण गरेर पर्व मनाउँदै आएको छ । २०४८ सालदेखि पशुपतिको आर्यघाटपारि हाल आरती गर्नेस्थलमा छठ मनाउने गरिएको थियो ।

https://ujyaalonepalnews.com/archives/33192