https://ujyaalonepalnews.com/archives/33179

https://ujyaalonepalnews.com/archives/33179

तनहुँ – प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले जनप्रतिनिधिमा आएको अधिकार खोस्ने गरी संविधान विरुद्ध षड्यन्त्र भइरहेको बताउनुभएको छ । नेकपा (माओवादी) केन्द्र तनहुँले शुक्रबार आँबुखैरेनीमा आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले विभिन्नरूपमा हुने षड्यन्त्रविरुद्ध सबै दल एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो, “संविधानविरुद्ध षड्यन्त्र भइरहेको छ । एकथरी तत्व कुनै न कुनैरूपले देशमा अराजकता सिर्जना गर्ने अभियानमा लागिरहेका छन् । प्रतिगमनका निम्ति मलजल गरिरहेका छन् ।”
परिवर्तनको रक्षाका निम्ति र देशको सुरक्षाका निम्ति सरकार दृढ रहेको बताउँदै प्रधानमन्त्री दाहालले गठबन्धनमाथि खतरा नरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायले पाएका हकअधिकार खोस्ने र जनताका प्रतिनिधिको हातमा आएको सत्ता खोस्ने षड्यन्त्रलाई चिर्दै अगाडि बढ्छौँ ।” सामन्तको हातमा सत्ता लैजाने दुस्साहस गरिएको उहाँको भनाइ थियो ।
पार्टीले जनताका घरघरमा पुग्ने कार्यक्रमसहित रुपान्तरण अभियान अगाडि बढाएको भन्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “गण्डकी प्रदेशमा यो अभियान ठिक ढङ्गले अगाडि बढेको छ । अभियानलाई एक महिना विस्तार गरिएको छ ।”
प्रधानमन्त्री दाहालले पार्टी पुनःनिर्माणको विशेष अभियानमा रहेको बताउँदै देशैभरि जनतासँग माओवादी अभियानले जनतामाझ माओवादी र देशका लागि औपचारिक अभियानमात्र नरहेको र रणनीतिक अभियानको हिस्सा रहेको बताउनुभयो ।
https://ujyaalonepalnews.com/archives/33178

महोत्तरी- मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका बासिन्दा जुटेका छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् ।
कात्तिक शुक्ल तृतीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ विधि बिहीबार नै गरेका हुन् । निरामिष (सात्विक) भोजन सुरु गरेर तृतीयाकै दिन व्रतको तयारी थाल्ने परम्परा छ ।
मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जदैछन् । छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिङ्गारिएका छन् । पर्वमा महिला÷पुरुष जसले व्रत गरे पनि हुने विधान (शास्त्रीय मत) भए पनि धेरैजसो घरको मुख्य महिलाले नै व्रत सङ्कल्प गर्ने गरेको पाइन्छ ।
आज कात्तिक शुक्ल चौथीका दिन बर्तालुले पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनीतो खानेछन् । यो विधिलाई ‘नहाय–खाय’ भनिन्छ । यस पर्वले घर–घरमा व्यस्तता बढाएको छ । पूजा सामग्रीको जोरजाम र व्यवस्थापनमा सबै खटिएका छन् ।
श्रद्धा, निष्ठा र आत्मिक शुद्धीलाई अत्यन्त महत्व दिइने छठमा पूजा प्रसाद सामग्री ठकुवा (गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घ्यूमा बनाइने खास परिकार), भुसुवा (कसार) र अन्य मिष्ठान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिधिंएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ । यी परिकार पकाउन चुल्हो पनि नयाँ प्रयोग गरिन्छ ।
पर्वमा सूर्यलाई अघ्र्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को (पातगुवो) सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्वविशेषमा यी कृषि उपजले राम्रो बजार पाउने गरेका छन् ।
बिहीबार कात्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अरबाइन’ र आज (चौथी तिथि) ‘नहाय–खाय’ विधि गर्ने बर्तालुले शनिबार निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरुप खानेछन् । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ ।
बर्तालुले षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा चोबलिएर अस्ताउँदा सूर्यलाई अघ्र्य दिएर प्रसाद राखिएको डाली हातमा उठाइ सूर्यलाई देखाइन्छ । यो व्रत आइतबार सम्पन्न गरिने छ । यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ ।
यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदा सूर्यलाई अघ्र्य दिएर देखाइएपछि छठ सम्पन्न हुने परम्परा छ । यसपालि छठको समापन सोमबार बिहान सूर्योदयसँगै गरिने छ ।
मिथिलामा ‘सझुका अरख’ सम्पन्न गरेर घाटमै बस्ने र सप्तमीका दिन बिहान सूर्योदय हुन एक घडीअघिदेखि पानीमा चोबलिएर बर्तालुले गीतको भाखामा सूर्यदेवलाई चाँडै देखिन पुकारा गर्छन् । सबैजसो घाटमा रातभरि जाग्राम बस्न गीत, सङ्गीत, नाटक र मनोरञ्जनका विभिन्न साधनको व्यवस्था गरिन्छ । पछिल्लो समय छठ सबै नेपालीको साझा पर्व बन्दै गएको छ ।
https://ujyaalonepalnews.com/archives/33177

काठमाडौं- आइसीसी एकदिवसीय विश्वकपको फाइनलमा पाँच पटकको विजेता अस्ट्रेलिया र आयोजक भारतबीचको भिडन्त पक्का भएको छ । अस्ट्रेलियाले दक्षिण अफ्रिकामाथि संघर्षपूर्ण तीन विकेटको जित निकाल्दै विश्वकप क्रिकेटको फाइनल यात्रा तय गरेको हो ।
भारतले पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । उपाधि भिडन्त पर्सि आइतबार हुने छ । अस्ट्रेलिया विश्वकप क्रिकेटको फाइनल पुगेको यो आठौं पल्ट हो । दक्षिण अफ्रिका भने फेरि एकपल्ट सेमिफाइनलमै रोकिएको छ ।
जितका लागि २ सय १३ रनको लक्ष्य पाएको अस्ट्रेलियाले ४७.२ ओभरमा सात विकेट गुमाएर २ सय १५ रन बनाएको हो । त्यस अगाडि डेविड मिलरको शतकको मदतले दक्षिण अफ्रिकाले ४९. ४ ओभरमा सबै विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो ।
https://ujyaalonepalnews.com/archives/33176

काठमाडौं- विश्वकप फुटबलको एसियाली छनोटमा नेपाल यूएईसँग ४-० ले पराजित भएको छ । यूएईको घरेलु मैदानमा भएको खेलमा नेपाल घरेलु टोलीसँग ४-० ले पराजित बनेको हो ।
विश्वकप छनोटको दोस्रो चरणको पहिलो खेलमा यूएईविरुद्ध खेलेको नेपालले चारै गोल पहिलो हाफमा ब्यहोरेको थियो । एसियाली फुटबलको बलियो राष्ट्र यूएईविरुद्ध नेपालले दोस्रो हाफमा भने सुधारिएको प्रर्दशन गर्यो ।
डिफेन्डर रोहित चन्द र गोलरक्षक किरणले विपक्षीका केहि आक्रमणलाई विफल पारेका थिए । नेपालले खेलको ८१औं मिनेटमा राम्रो अवसर पाएको थियो । मनिष डाँगीले पेनाल्टी बक्स नजिकैबाट गरेको कडा प्रहार यूएईका गोलरक्षकले मुस्किलले बचाएका थिए ।
यो खेलपछि नेपालले अब यूएईसँग घरेलु मैदानमा दोस्रो लेग खेल्नेछ । नेपालको समूहमा यूएईसँगै यमन र बहराइन पनि रहेका छन् । नेपाली टोलीले घरेलु मैदानमा आफ्नो पहिलो खेल भने यमनसँग खेल्नेछ ।
यमनविरुद्धको पहिलो लेग मङ्सिर ५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ । विश्वकप छनोटको प्रारम्भिक चरणमा लाओसलाई हराएपछि नेपालले दोस्रो चरणको खेल खेल्ने अवसर पाएको हो ।
https://ujyaalonepalnews.com/archives/33175

काठमाडौँ- युरोपेली सङ्घ (इयू)ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहायोगार्थ रु २८ करोड ८० लाख प्रदान गर्ने भएको छ । इयूले मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।
आवास, शुद्धपेय जल, सरसफाइमा पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्यसम्बन्धी सेवाका निम्ति जाजरकोट भूकम्पपीडितलाई मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने निर्णय भएको यहाँस्थित यु्रोपेली सङ्घको प्रतिनिधिमण्डलले जनाएको छ ।
अन्तरराष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासङ्ले नेपाल रेडक्रस सोसाइटीमार्फत मानवीय सहायता परिचालन गर्नेछ । युरोपेली मानवीय सहायता कोषबाट केही रकम नेपालका भूकम्पपीडितलाई उपलब्ध गराइएको हो ।
https://ujyaalonepalnews.com/archives/33174

काठमाडौँ- अष्ट्रेलिया सरकारले पश्चिम नेपालमा हालै भएको भूकम्पमा परेका पीडितहरुका लागि आकस्मिक आवश्यकता परिपूर्तिका लागि छ लाख अष्ट्रेलियाली डलर अर्थात् करिब रु पाँच करोड नौ लाख बराबरको मानवीय सहायता घोषणा गरेको छ ।
यहाँस्थित अष्ट्रेलियाली राजदूतावासका अनुसार उक्त सहयोग नेपालस्थित विश्व खाद्य कार्यक्रमले नगदका लागि काम कार्यक्रममार्फत प्रभावित समुदायलाई प्रदान गर्नेछ ।
नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले मानसिक स्वास्थ्य सेवा, प्रजनन स्वास्थ्य सेवा र लैङ्गिक हिंसापीडितका लागि प्राप्त सहायता परिचालन गर्नेछ ।
उक्त सहयोगमार्फत मानव विकास तथा सामुदायिक सेवा (एचडिसीएस) संस्थाले भूकम्प प्रभावित स्वास्थ्य संस्थालगायत सार्वजनिक संरचनाको पुनर्निमाणमा सहयोग गर्नेछ ।
नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्केले भन्नुभयो, “पश्चिम नेपालमा भएको भूकम्प र त्यसपछि पराकम्पले निम्त्याएको मानवीय र सम्पत्तिको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दुछु । अष्ट्रेलिया र नेपालबीच लामो समयदेखिको मित्रता छ । हाम्रा दुई देशले २०७२ को भूकम्प, कोभिड–१९ महामारीलगायत विपत्तिमा एकअर्कालाई सहयोग गरेको इतिहास छ ।”
https://ujyaalonepalnews.com/archives/33173

काठमाडौँ- चार देश सम्मिलित टि ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपाल हङकङसँग पराजित भएको छ ।
हङकङ क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपाल हङकङसँग ९ विकेटले पराजित भएको हो । नेपालले दिएको ५७ रनको लक्ष्य हङकङले नौ ओभरमै एक विकेट गुमाउँदै पूरा गर्यो । यस हारसँगै नेपालको फाइन खेल्ने सपना समाप्त भएको छ ।
नेपाललाई पराजित गरेसँगै लगातार दुई जित निकालेको हङकङ भने प्रतियोगिताको फाइनलमा पुग्न सफल भयो । त्यस्तै समान दुई जित निकालेको तान्जेनिया पनि फाइनलमा पुगेको छ ।
हङकङको जितमा नताशा मिलेसले सर्वाधिक ३० रनको योगदान दिइन् । उनले २३ बल खेल्दै चार चौकाको मद्दतमा ३० रनको योगदान दिएकी हुन । त्यस्तै शानजिन शहजादले २० रन बनाइन् । मारिको हिलले ५ रन जोडिन् ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपाल १८ ओभरमा सबै विकेट गुमाउँदै ५६ रनको योगफल बनाएको थियो । खराब ब्याटिङ गरेको नेपालको लागि रविना क्षेत्रीले सर्वाधिक २५ रन बनाइन् । उनले ३० बलमा ४ चौकाको मद्दतमा २५ रन बनाएकी हुन् । रविनाबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
त्यसैगरी सीता रानामगरले ९ रन जोडिन भने रोमा थापाले ७ रन बनाइन् । नेपालले पाँच रनको कूल स्कोर जोड्दा चार विकेट गुमाएको थियो । नेपालले पहिलो विकेटका रुपमा ओपनर पूजा महतोलाई गुमाएको थियो । पूजा आठ बलमा चार रन जोड्दै आउट भएकी हुन् । सम्झना खड्कालाई नेपालले दोस्रो विकेटको रूपमा गुमायो । उनी एक रन जोड्दै आउट भएकी हुन् ।
तेस्रो विकेटका रूपमा नेपालले काजल श्रेष्ठलाई गुमाएको थियो । उनी रनको खाता नै नखोली पेभिलियन फर्किइन् । चौथो नम्बरमा ब्याटिङ समाल्न आएकी नेपाली टोलीकी कप्तान इन्दू बर्मा पनि शून्य रनमै आउट भइन् ।
बलिङतर्फ हङकङकी लक्रा साहरले तीन विकेट लिइन् भने रुचिथा भेनकातेसले दुई विकेट झारिन । त्यस्तै बेटृी चान, मरिको हिल र करि चानले समान एक/एक विकेट लिए ।
पहिलो खेलमा नेपाल तान्जेनियासँग २७ रनले पराजित भएको थियो । चार देश सम्मिलित उक्त शृङ्खलामा आयोजक हङकङसँगै, नेपाल तान्जेनिया र जापान सहभागी छन् । प्रतियोगितामा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि खेल्नेछन् । अब नेपालले मङ्सिर २ गते जापानसँग खेल्नेछ ।
https://ujyaalonepalnews.com/archives/33172

खलङ्गा- दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना भएको छ । नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड–३ बगडस्थित जामिरमा आज दिउँसो दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइते दुबै जनालाई उपचारका लागि धनगढी लगिएको छ । उक्त जिप नौगाड गाउँपालिकाले भाडामा लिएको जनाइएको छ ।
https://ujyaalonepalnews.com/archives/33171

कञ्चनपुर- दुई दशकदेखिको जग्गा अंश सम्बन्धिको विवाद दुई दिनमै मिलापत्र भएपछि शुक्लाफाँटा नगरपालिका– १२ देखतभूली अग्लीपट्टीका इतवरीया राना निकै खुसी हुनुभएको छ । नगरपालिकाको न्यायिक समितिले उहाँको उजुरी आएको दुई दिनममै अंश पाउने गरी विवादको टुङ्गो लगाइदिएको थियो ।
झण्डै तीस वर्षअघि राना परिवार बस्दै आएको दुई बिघा दर्ता भएको जग्गा र तीन बिघा ऐलानी जग्गा दोदा नदीले कटान गरी बगाएको थियो । “जग्गा कटान भएको दुई दशकपछि नदीले बहाव परिवर्तन गर्दै जग्गा भएर बग्न छाडेपछि चारजना बुवाको अंश लाग्ने जग्गामा तीन जना बुवाका छोराहरुले खेती गर्न थालेका थिए” रानाले भन्नुभयो, “मैले अंश माग्न खोज्दा गालीगलौज र कुटपिट गर्न आउन थाले, त्यसपछि अंशकै लागि नगरपालिकाको न्यायिक समितिलाई गुहारेँ ।” दुवै पक्षलाईसँगै राखेर न्यायिक समितिको इजलासमा छलफल बहस भयो । विगतका कटुतालाई विर्षदै चार वटै बुवाका छोरा बन्धा, सन्धा, सुकराम बसेर अंश दिने सहमति गरेको इतवरीयाले बताउनुभयो ।
“वर्षौँदेखि आफ्ना दाजुभाइसँग जग्गाकै लागि बोलिचाली बन्द गरेका थियौँ” उहाँले भन्नुभयो, “न्यायपालिकाको पहलमा भाइहरुसँगको सम्बन्ध स्थापित भएको छ, अंशबाट वञ्चित थिए, त्यो पनि पाएँ ।”भोगचलन गर्दै आएको ऐलानी जग्गाबाट छ कठ्ठामा भोगचलन गर्न दिने गरी सहमति गरिएको नगरपालिकाको न्यायिक शाखाका कर्मचारी सुरेन्द्रप्रसाद भट्टले बताउनुभयो ।
“राना बन्धुको वर्षौंदेखिको जग्गा विवाद रहेको थियो” उहाँले भन्नुभयो, “पक्ष विपक्षलाईसँगै राखेर उजुरी आएको दुई दिनमै छलफल गरी सौर्हाद रुपमा विवाद टुङग्याएका छौँ ।”वडाध्यक्ष, न्यायिक समितिका संयोजक, जग्गा नापजाँच गर्ने अमिनको रोहवरमा फिल्डमा गएर जग्गा बाँडफाँड गरिने भएको उहाँको भनाइ छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ अनुसार न्यायिक समितिको अधिकार क्षेत्रभित्र पर्ने भएकाले आइन्दा दुवै पक्षले मिलेर बस्ने, एक अर्कालाई गाली बेज्जती नगर्ने सम्बन्धमा दुवै पक्षलाई न्यायिक समितिमा उपस्थित गराइ छलफल गराइ मिलापत्रसमेत गरिएको उहाँले उल्लेख गर्नुभयो ।
नगरपालिकाका न्यायिक समितिको संयोजक तथा उपप्रमुख कल्पना पन्तका अनुसार रानाका जस्तै न्यायिक समितिमा ज्याला मजदुरी, रकम लेनदेन, जग्गासम्बन्धी, अंश, बाटो, कुलो, खानेपानी सम्बन्धिका २४ विवादमा चालु आवमा मिलापत्र गरिएको छ ।
दुई विवादका उजुरी विचाराधीन अवस्थामा रहेका छन् । न्यायपालिकामा छ वटा नयाँ विवाद दर्ता भएका छन् । दुई विवाद गत वर्षबाट सरि आएको उहाँको भनाइ छ । न्यायपालिकामा आएका सबै विवादको पक्ष विपक्षलाईसँगै राखेर जितजितको भावना राखेर मिलापत्र गराइदै आएको नगर उपप्रमुख पन्तको भनाइ छ ।
https://ujyaalonepalnews.com/archives/33170
